काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ बरादीस्थित पृथ्वीराजमार्गमा आइतबार साँझ हाइस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस सडक डाइभर्सनका लागि राखिएको सिमेन्टको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार दुर्घटना साँझ करिब सवा ७ बजे भएको थियो। दुर्घटनालगत्तै उद्धार गरिएका सबै घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ। सवारी साधन घटनास्थलमै रहे पनि राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका-१ का ३७ वर्षीय चालक भद्रबहादुर शाह, पोखरा महानगरपालिका-७ का ६३ वर्षीया राधादेवी बराल र ७३ वर्षीय लीलाधर बराल रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको छ। त्यस्तै, पोखरा-१३ की ७३ वर्षीया चुनकुमारी गुरुङ र ४९ वर्षीया राधा गुरुङ, तनहुँ बन्दीपुर-१ की ३५ वर्षीया सपना चौधरी तथा महोत्तरी बलवा नगरपालिका-७ का ३६ वर्षीय रुपेश मिश्र पनि मध्यम घाइते भएका छन्। यसैगरी, पोखरा-३२ का ३७ वर्षीय राजकुमार श्रेष्ठ, बाग्लुङ बडिगाड गाउँपालिका-७ की २५ वर्षीया विपना वि.क., तनहुँ व्यास-१ का २३ वर्षीय विकास ठकुरी र बन्दीपुर-२ की २८ वर्षीया सिर्जना अछामी सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।
तनहुँको आँबुखैरेनीमा हाइस दुर्घटना, चालकसहित ११ जना घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






