एरिक्सनको रणनीतिक फाइभजी प्रविधिलाई स्पेनको सैन्य अभ्यासका क्रममा परीक्षण गरिएको छ। ‘एटलस २६’ नाम दिइएको उक्त अभ्यास अक्टोबरमा स्पेनको ह्युएल्भास्थित मेडानो डेल लोरो सैन्य प्रशिक्षण क्षेत्रमा सञ्चालन गरिएको थियो। स्पेनको स्थल सेना, जल सेना र वायु सेनाको संयुक्त सहभागितामा भएको अभ्यासको उद्देश्य मानवरहित हवाई यान (यूएभी) बाट उत्पन्न नयाँ खालका जोखिमको सामना गर्नु थियो। रुस र युक्रेनबीचको युद्धमा यस्ता ड्रोन निकै विनाशकारी रूपमा प्रयोग हुँदै आएका छन्। यो अभ्यासमा एकीकृत सेन्सिङ तथा सञ्चार (आईएसएसी) प्रविधि प्रयोग नगरिएको स्पष्ट पार्न आवश्यक छ। उक्त प्रविधिले रेडियो एक्सेस नेटवर्क (आरएएन) लाई राडारजस्तै काम गर्न सक्षम बनाउँछ। बरु यस अभ्यासमा निश्चित तारयुक्त नेटवर्क संरचनाको सट्टा एरिक्सनको ५जी नेटवर्किङ समाधान प्रयोग गरिएको थियो। यसले सेन्सर, राडार, कमान्ड पोस्ट र प्रभावकारी प्रणाली (हतियार) लाई न्यून विलम्बतासहितको कनेक्टिभिटी उपलब्ध गराएको थियो। विशेषगरी, रक्षा प्रयोजनका लागि तयार गरिएको र छिटो तैनाथ गर्न सकिने ५जी कोर नेटवर्किङ समाधान ‘एरिक्सन अल्ट्रा कम्प्याक्ट कोर’ प्रयोग गरिएको थियो। अभ्यासमा एरिक्सनको ५जी कोर सफ्टवेयर, ‘एरिक्सन कन्टेनर एज अ सर्भिस’ प्लेटफर्म र त्यससँग सम्बन्धित हार्डवेयर पूर्वएकीकृत गरिएको समाधान पनि समावेश थियो। एरिक्सनका अनुसार यो नेटवर्क संयुक्त साइबरस्पेस कमान्डअन्तर्गतको ५जी स्पेनिस साइबर डिफेन्स सेन्टरले सञ्चालन गरेको थियो। यसमा सैन्य प्रयोजनका लागि छुट्याइएको फ्रिक्वेन्सी प्रयोग गरिएको थियो, जसले व्यावसायिक मोबाइल ट्राफिकबाट नेटवर्कलाई अलग राखेको थियो। यो अभ्यासले एरिक्सनको रणनीतिक ५जी उपकरण प्रभावकारी रहेको थप प्रमाण दिएको छ। यसअघि जुलाईमा बेलायतको रक्षा मन्त्रालयले पनि यसको परीक्षण गरी उपयुक्त ठहर गरेको थियो। एरिक्सन स्पेनका कन्ट्री म्यानेजर जुआन ओलिभेराले भने, “यस अभ्यासले रक्षा प्रयोजनका लागि थप मजबुत बनाइएको व्यावसायिक ५जी प्रविधिले सशस्त्र बललाई कसरी निर्णायक सञ्चालनगत फाइदा दिन सक्छ भन्ने देखाएको छ।” उनले थपे, “आफ्नै नियन्त्रणमा रहेको र आवश्यक स्थानमा तैनाथ गर्न सकिने ५जी नेटवर्कले निश्चित पूर्वाधारमा निर्भर नभई भरपर्दो र उच्च क्षमताको कनेक्टिभिटी उपलब्ध गराउँछ। सेन्सर र प्रभावकारी प्रणालीलाई वास्तविक समयमा जोडेर हामी रक्षा बललाई आफ्ना प्रणाली अझ प्रभावकारी रूपमा समन्वय गर्न र स्थलमा थप लचिलो ढंगले काम गर्न सहयोग गर्छौं।” टेलिकम्स डटकमका अनुसार हालको अनिश्चित परिस्थितिमा रक्षा प्रयोजनका लागि प्रयोग गर्न सकिने उपकरण विक्रेता र दूरसञ्चार सेवा प्रदायक दुवैका लागि बढ्दो व्यावसायिक क्षेत्र बनेको छ। विशेषगरी ड्रोनबाट उत्पन्न जोखिमको सामना गर्न सक्ने समाधानको माग उच्च देखिएको छ। यस पछिल्लो अभ्यासमा आईएसएसी प्रविधि प्रयोग गरिएको थिएन। तर, वास्तविक युद्धको नक्कल गरिएको अभ्यासमा यो प्रविधि प्रयोग हुन अब धेरै समय नलाग्ने देखिन्छ। एरिक्सनले मोबाइल सेवा प्रदायक प्लेसँगको सहकार्यमा पोल्यान्डको क्राकोस्थित आफ्नो अनुसन्धान तथा विकास केन्द्रमा आईएसएसीमा आधारित ड्रोन पहिचान प्रविधि प्रदर्शन गर्दा पोल्यान्डको रक्षा क्षेत्रका प्रतिनिधि र सैन्य अनुसन्धानकर्ताहरू पनि सहभागी थिए। सेप्टेम्बरमा फिनल्यान्डको सरकारी स्तरको महत्त्वपूर्ण सञ्चार तथा सूचना प्रविधि सेवा प्रदायक एरिलिसभर्कोटसँगको सहकार्यमा हेलसिन्कीमा पनि यो समाधान प्रदर्शन गरिएको थियो। त्यसक्रममा बन्दरगाह, सीमा र अन्य संवेदनशील स्थानमा ड्रोनबाट उत्पन्न हुने जोखिम कम गर्न सक्ने यसको क्षमता देखाइएको थियो। एरिक्सनले अर्को वर्ष केही छनोट गरिएका ग्राहकसँग आईएसएसीमा आधारित ड्रोन पहिचान सेवा व्यावसायिक रूपमा सञ्चालन गर्ने योजना बनाएको छ। त्यसपछि सन् २०२८ मा यसको व्यापक विस्तार गर्ने कम्पनीको तयारी छ। रुस र युक्रेनका छिमेकी देशहरू यो प्रविधि अपनाउने सुरुवाती देशमध्ये पर्ने सम्भावना छ। The post ड्रोनको जोखिम कम गर्न स्पेनको सेनाले प्रयोग गर्यो एरिक्सनको प्रविधि appeared first on Technology Khabar.
ड्रोनको जोखिम कम गर्न स्पेनको सेनाले प्रयोग गर्यो एरिक्सनको प्रविधि

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






