थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ। सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ। विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो। कार्यक्रमबाट रु १७ लाख २१ हजार जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताए। “डिजिटल विद्यालय निर्माण अभियानमा खेलिएको देउसीभैलोबाट रु १० लाख ८१ हजार नगद र छ लाख ४० हजारको स्मार्ट बोर्ड प्राप्त भएको छ”, उनले भने, “यो रकम र सामग्री हामी डिजिटल विद्यालय निर्माणमा खर्च गर्नेछौँ ।” अभियानलाई सहयोग गर्ने अभिभावक, पूर्वविद्यार्थी, शुभचिन्तक तथा दाताहरूप्रति उनले कृतज्ञता व्यक्त गरे। विद्यालयलाई प्रविधिमैत्री बनाउँदै ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै गाउँमा गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत देउसीभैलो आयोजना गरिएको प्रधानाध्यापक राजु तामाङले बताए। कार्यक्रममा पाँचपोखरी, हेलम्बु, मेलम्ची, इन्द्रावती, बाह्रबिसेलगायत क्षेत्रका व्यक्तित्वहरूका साथै जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, पूर्वविद्यालय अध्यक्ष तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र विद्यार्थीको उपस्थिति थियो। बागमती प्रदेशको नमूना विद्यालयका रूपमा रहेको यस विद्यालयमा हाल २४ कोठा रहेका छन्। सबै कक्षाकोठालाई स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्ने लक्ष्यसहित २४ ओटा स्मार्ट बोर्ड आवश्यक रहेको विद्यालयले जनाएको छ। अभियानको पहिलो चरणमा यस वर्ष १० ओटा स्मार्ट बोर्ड खरिद गर्ने लक्ष्य विद्यालयले राखेको छ।रासस The post डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो appeared first on Technology Khabar.
डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






