सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटकजस्ता सामाजिक सञ्जाल नेपाली कलाकार, उद्यमी, व्यवसायी तथा आमनागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनमा महत्त्वपूर्ण माध्यम बनेको बताए। उनले सामाजिक सञ्जालको लाभ आर्थिक रूपमा सबल वर्गमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिए। टिकटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, रोजगारी सृजना, पर्यटन प्रवर्द्धन र आर्थिक विकासको साधनका रूपमा उपयोग गर्नुपर्ने उनको धारणा थियो। मन्त्री डा तिमिल्सिनाले सामाजिक सञ्जालले विपद्का सूचना, जनचेतनामूलक सन्देश तथा सार्वजनिक सरोकारका विषय आमनागरिकसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको जिम्मेवार र सुरक्षित प्रयोगमा जोड दिए। उनले डिजिटल साक्षरता विस्तार, प्रयोगकर्ताको व्यक्तिगत गोपनीयता तथा अधिकारको संरक्षण र सुरक्षित डिजिटल वातावरण निर्माणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा टिकटकलगायतका सामाजिक सञ्जालसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरे। भेटमा टिकटकका वरिष्ठ निर्देशक एमिर गेलेनले नेपालमा डिजिटल साक्षरता अभिवृद्धि तथा सामुदायिक विकासमा योगदान पुर्याउन टिकटक प्रतिबद्ध रहेको बताए। उनले नेपाली व्यापार, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियानमा नेपाल सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे।-रासस The post डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल appeared first on Technology Khabar.
डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






