काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमले नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ३७.३५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद मुनाफा एक अर्ब ३२ करोड ५१ लाख रहेकोमा समीक्षा अवधिमा खुद मुनाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको हो । कम्पनीका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल सञ्चालन आय आठ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ हेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय आठ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो । त्यस्तै, कुल आय नौ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल आय नौ अर्ब ४७ करोड १० लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, कम्पनीको करअघिको मुनाफा दुई अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको करअघिको मुनाफा यस वर्ष ३.६५ प्रतिशतले बढेको हो । तर, कम्पनीको सञ्चालन नाफासँग सम्बन्धित सूचक भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा त्यस्तो सूचक चार अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा चार अर्ब ७५ करोड चार लाख रहेको उक्त सूचक ६.१३ प्रतिशतले घटेको हो । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी(इपिएस) ४० रुपैयाँ ४५ पैसा रहेको छ । समीक्षा अवधिमा विभिन्न प्राकृतिक विपत्का कारण सञ्चालन नाफा घटेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढी तथा पहिरोले दूरसञ्चार सेवा र व्यावसायिक गतिविधिमा असर पुर्याएको थियो । विपत्बाट प्रभावित सेवाग्राहीलाई कम्पनीले १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो । प्राकृतिक विपत्का कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुनुका साथै व्यावसायिक गतिविधि प्रभावित हुँदा सेवा बिक्रीबाट प्राप्त हुने राजस्वमा समेत नकारात्मक असर परेको छ । असोज २५ गतेको बूढीगण्डकी बाढीले पनि सेवा सञ्चालन तथा आम्दानीमा प्रभाव पारेको कम्पनीको भनाइ छ । तर, कम मूल्यका ठूला मोबाइल डेटा प्याकेजको बढ्दो प्रयोगले जिएसएम सेवासहितको सञ्चालन आम्दानीमा योगदान पुर्याएको छ । समीक्षा अवधिमा जिएसएम सेवातर्फ १० लाख १६ हजार रुपैयाँ र एफ्टिटिएच सेवातर्फ चार करोड ४० लाखले सञ्चालन राजस्व वृद्धि भएको बताइएको छ । त्यस्तै, चालु आर्थिक वर्षमा कर्मचारीको तलब स्केल वृद्धि हुँदा कर्मचारी खर्च बढेको तर ह्रास खर्चमा आएको कमी तथा मूल्य ह्रास क्षति फिर्ता समायोजनका कारण कम्पनीको खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।
टेलिकमको नाफा ३७.३५ प्रतिशतले बढ्यो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






