काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकार नियुक्त भएका छन्। यूएई क्रिकेट बोर्डले आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि मल्ललाई उक्त जिम्मेवारीमा नियुक्त गरेको हो। यूएईले सार्वजनिक गरेको १५ सदस्यीय खेलाडी र प्रशिक्षकको टोलीमा मल्ल ब्याटिङ सल्लाहकारका रूपमा समावेश छन्। टोलीको मुख्य प्रशिक्षकमा अहमद रजा रहेका छन् भने स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा रहेका छन्। नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ आगामी डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुनेछ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ। यूएईले प्रतियोगिताको सुरुआत डिसेम्बर ५ मा जर्सीविरुद्धको खेलबाट गर्नेछ। त्यसपछि टोलीले डिसेम्बर ७ मा क्यानडा, डिसेम्बर १० मा नेपाल, डिसेम्बर १३ मा इटाली, डिसेम्बर १५ मा कुवेत, डिसेम्बर १८ मा युगान्डा र डिसेम्बर २० मा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मल्ल हाल नेपाली क्रिकेटमा प्रशिक्षकका रूपमा सक्रिय छन्। उनी नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सका प्रशिक्षकसमेत हुन्। यूएईले छनोट प्लेअफमा शीर्ष चार स्थान हासिल गर्दै आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने लक्ष्य राखेको छ।
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त

Read Complete Original Article
Published originally on नेपालन्युज


![कांग्रेसलाई नयाँ पुस्ताले गर्व गर्न लायक बनाउँछौँ : गगन थापा [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagn-08-13-.jpg)



