Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

जैन भवनमा गुञ्जियो रक सङ्गीत

Share:WhatsAppFacebookX (Twitter)Telegram
जैन भवनमा गुञ्जियो रक सङ्गीत
Photo / Coverage: नेपालन्युज

विराटनगर। २० कात्तिक, शुक्रबार साँझ विराटनगरको जैन भवनमा गितारका तार गुञ्जिन थालेसँगै युवाहरूको उत्साह पनि चुलिँदै थियो। मैदानमा उभिएका हजारौँ दर्शकको ध्यान एउटै स्टेजमा केन्द्रित थियो । कोही साथीहरूसँगै गीत गुनगुनाइरहेका थिए, कोही मोबाइलमा ती क्षण कैद गर्दै थिए। केही युवा संगीतको तालमा झुमिरहेका थिए। जैन भवनको मैदानमा त्यस साँझ संगीत सुन्ने मात्र होइन, त्यसैमा रमाउनेहरूको जमघट थियो। विराटनगर-४ का २१ वर्षीय पवन घिमिरेका लागि त्यो साँझ विशेष थियो। अल्बाट्रोस ब्यान्डको सांगीतिक प्रस्तुति प्रत्यक्ष हेर्ने उनको चाहना लामो समयदेखिको थियो। विराटनगरमा पहिलो पटक ब्यान्ड आउन लागेको थाहा पाएपछि उनले बुबाआमालाई मनाएर साथीहरूसँगै कार्यक्रम हेर्न जाने योजना बनाए । शुक्रबार सबेरै उनी साथीहरूसँग जैन भवन पुगेका थिए। अल्बाट्रोसको सङ्गीतमा नाच्दै युवायुवती। “अल्बाट्रोस नेपालको चर्चित ब्यान्ड हो । मलाई मन पर्ने ब्यान्ड भएकाले यसको प्रस्तुति प्रत्यक्ष हेर्न साथीहरूसँग आएको हुँ,” उनले भने। पवनको उत्साह मैदानमा उपस्थित हजारौँ युवाको साझा भावना जस्तै थियो। पाँचौँ संस्करणको विराटनगर म्युजिक फेस्टिभलमा सहभागी हुन विराटनगर र आसपासका क्षेत्रबाट आएका युवायुवतीको भीड साँझसँगै बाक्लिँदै गएको थियो। कुर्सीमा बसेर र उभिएर गरी हजारौँ दर्शक अट्ने जैन भवनको मैदान जेनजी पुस्ताका युवायुवतीले भरिएको थियो। साँझ ६ बजेदेखि दर्शकको उपस्थिति बढ्न थालेको थियो। सात बजे सुरु भएको सांगीतिक कार्यक्रम स्थानीय कलाकारको प्रस्तुतिबाट अघि बढ्यो । विराटनगरका गायक पिन्टु साह र स्मृति ब्यान्डले दर्शकलाई संगीतको माहोलमा ताने। त्यसपछि स्टेजमा उक्लिएको रकहेट्स ब्यान्डले रक संगीतको ऊर्जा थप्यो। रकहेट्सको प्रस्तुतिसँगै मैदानमा उफ्रिने, हात उठाउने र गीतसँगै स्वर मिलाउने युवाहरूको संख्या बढ्दै गयो। करिब एक घण्टासम्म ब्यान्डले दर्शकलाई संगीतमा झुमाइरह्यो। तर, मैदानमा उपस्थित धेरैका लागि प्रतीक्षाको मुख्य क्षण अझै आउन बाँकी थियो। राति ९ बजेर २१ मिनेटमा अल्बाट्रोस स्टेजमा उक्लियो। अल्बाट्रोस ब्यान्डका मुख्य गायक तथा रिदम गितारवादक शिरीष दली सांगीतिक प्रस्तुति दिँदै। ब्यान्डका सदस्यहरू स्टेजमा देखिनासाथ मैदानभरि चिच्याहट र हुटिङ गुञ्जियो। लामो समयदेखि आफ्ना मनपर्ने गीत सुन्दै आएका युवाहरूका लागि त्यो क्षण ती गीतलाई प्रत्यक्ष संगीतमा अनुभव गर्ने अवसर थियो। अल्बाट्रोसको आगमनसँगै दर्शकको उत्साह एकाएक बढेको देखिन्थ्यो। त्यसपछि सुरु भयो ब्यान्डको प्रस्तुति। गितारका धुन, ड्रमको ताल र मुख्य गायक शिरीष दलीको स्वरले मैदानलाई संगीतको फरक संसारमा पुर्‍यायो। दर्शक गीतसँगै गाउन थाले। स्टेजअगाडि उभिएका युवाहरूको उत्साह क्रमशः बढ्दै गयो। अल्बाट्रोसको सङ्गीतमा नाच्दै युवायुवती। अल्बाट्रोसले करिब डेढ घण्टा प्रस्तुति दियो। ब्यान्डको संगीतमा झुमिरहेका युवाहरू गर्मी बढ्दै गएपछि ज्याकेट र टीसर्ट फुकालेर नाचिरहेका देखिन्थे। कोही गीतको तालमा उफ्रिरहेका थिए भने कोही मोबाइलमा भिडियो खिच्दै थिए। स्टेज र दर्शकबीचको दूरी संगीतले मेटाएको अनुभूति हुन्थ्यो। मुख्य गायक शिरीष दलीको प्रस्तुति पनि दर्शकमाझ विशेष आकर्षण बन्यो। उनले एक घण्टाभन्दा बढी समय दर्शकदीर्घाबाटै गीत गाए र तस्बिर खिचे। दर्शकसँग नजिकिएर प्रस्तुत हुने उनको शैलीले कार्यक्रमलाई थप आत्मीय बनाएको थियो। गायक र दर्शकबीचको सम्बन्ध औपचारिक प्रस्तुतिमा मात्र सीमित थिए । उनीहरू एउटै संगीतमा जोडिएका देखिन्थे। अल्बाट्रोसको सङ्गीतमा नाच्दै युवायुवती। तीन दशकको यात्रामा अल्बाट्रोस विराटनगरमा देखिएको यो उत्साह बुझ्न अल्बाट्रोसको सांगीतिक यात्रा पनि बुझ्नुपर्छ। सन् १९९८ मा काठमाडौंमा स्कुले साथीहरू मिलेर स्थापना भएको यो ब्यान्ड नेपाली वैकल्पिक रक संगीतको प्रभावशाली नाममध्ये एक हो। सुरुवाती दिनमा अन्डरग्राउन्ड मेटल संगीतबाट यात्रा थालेको ब्यान्डले पछि मेलोडिक र अल्टरनेटिभ रक शैलीलाई आफ्नो पहिचान बनायो। नेपाली रक संगीतमा अल्बाट्रोसको यात्रा गीत र एल्बमको सफलतामा मात्र सीमित छैन। एउटा पुस्ताको सांगीतिक रुचि निर्माणमा पनि यसले भूमिका खेलेको छ। विशेषगरी गितारमा आधारित संगीत, तीव्र लय र भावनात्मक शब्दले युवाहरूलाई आकर्षित गर्दै आएको छ। ब्यान्डको पहिलो एल्बम ‘हाइ’ सन् १९९९ मा सार्वजनिक भएको थियो। त्यसपछि सन् २००५ मा आएको ‘जो जससँग सम्बन्धित छ’ ले ब्यान्डलाई व्यापक रूपमा चिनायो। ‘अत्ति भयो’ (२०११), ‘म र मलाई’ (२०१४) हुँदै ‘रातको रानी’ (२०२३) सम्म आइपुग्दा ब्यान्डले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएको छ। अल्बाट्रोसको प्रस्तुति। ‘तिमी भने’, ‘निश्चल’, ‘खसेका तारा’, ‘बचाउ’, ‘फर्की फर्की’ र ‘आफ्नै संसारमा किन’ जस्ता गीत अल्बाट्रोसका परिचित सिर्जनामध्ये पर्छन्। यी गीतले ब्यान्डलाई पुरानो पुस्ताका श्रोता र नयाँ पुस्ताका संगीतप्रेमी दुवैसँग जोडेको छ। अल्बाट्रोसको वर्तमान टोलीमा मुख्य गायक तथा रिदम गितारवादक शिरीष दली, लिड गितारवादक सन्नी मानन्धर, बास गितारवादक अभय सिद्धि बज्राचार्य र ड्रमर किस्मत डी श्रेष्ठ छन्। समयसँगै सदस्य र सांगीतिक शैलीमा परिवर्तन आए पनि ब्यान्डको रक संगीतप्रतिको पहिचान कायम छ। काठमाडौंबाहिर संगीतको आकर्षण विराटनगरमा अल्बाट्रोसको प्रस्तुतिले नेपाली संगीतप्रतिको आकर्षण काठमाडौंमा मात्रै सीमित नरहेको देखाएको छ। काठमाडौंकेन्द्रित सांगीतिक गतिविधिबीच पूर्वी नेपालको यो सहर पनि ठूला संगीत कार्यक्रमको गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ। विराटनगरको जैन भवनमा भएको सांगीतिक कार्यक्रममा सहभागी दर्शकहरू। कार्यक्रम संयोजक सेन्ट्रो महतका अनुसार यस पटकको फेस्टिभल ऐतिहासिक बनेको छ। “हामीले पहिलो पटक अल्बाट्रोसजस्तो दिग्गज ब्यान्डलाई पूर्वको सहर विराटनगरमा ल्याएका थियौँ। हामीले सोचेभन्दा धेरै दर्शकको माया पायौँ। विराटनगर मात्र होइन, इटहरी, धरान, झापा र छिमेकी जिल्लाबाट समेत उल्लेख्य संख्यामा संगीतप्रेमी आएका थिए। नेपाली मौलिक रक संगीतलाई माया गर्ने यति ठूलो जमात पूर्वमा हुनु हाम्रा लागि ठूलो उत्साह हो,” उनले भने। स्थानीय कलाकारदेखि स्थापित राष्ट्रिय ब्यान्डसम्मको प्रस्तुतिले कार्यक्रमलाई विविधतापूर्ण बनाएको थियो। कार्यक्रम हेर्न आएका पर्यटन व्यवसायी पुण्यप्रसाद भट्टराईले यस्तो आयोजनाले स्थानीय संगीतकर्मीलाई दर्शकमाझ प्रस्तुत हुने अवसर दिनुका साथै विराटनगरको सांगीतिक गतिविधिलाई पनि ऊर्जा थप्ने बताए। जैन भवनको मैदानमा देखिएको दृश्य एउटा सांगीतिक कार्यक्रमको सफलतामा मात्र सीमित थिएन। त्यो नयाँ पुस्ताको सांगीतिक रुचि, सामूहिक उत्साह र आफ्ना मनपर्ने कलाकारसँग प्रत्यक्ष जोडिने चाहनाको अभिव्यक्ति पनि थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले
Latest NewsJust now

टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । जलवायु परिवर्तन र दिगो आर्थिक विकासका क्षेत्रमा गरेको काम... ...

रातोपाटी
दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा
Latest NewsJust now

दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा

• दाङको बेलझुण्डीस्थित गौशालामा गाई तिहारको अवसरमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा गरिएको छ। • योगी आदित्यनाथ फाउन्डेसनले प्रत्येक वर्ष गाई तिहारको दिन यसरी पूजा गर्ने परम्परा कायम राखेको छ। • गौशालामा गाईको खानपानमा समस्या रहेको र विभिन्न दाताहरूको सहयोगले गौशाला सञ्चालन भइरहेको अध्यक्ष भोलानाथ योगीले बताएका छन्। ...

नेपालबहस
तिहारमा रातभर पनि देउसी भैलो खेल्न पाइने
Latest NewsJust now

तिहारमा रातभर पनि देउसी भैलो खेल्न पाइने

तिहारको अवसरमा २४सै घण्टा देउसी भैलो खेल्न पाइने भएको छ।  सोमबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर २४सै घण्टा देउसी भैलो खेल्ने दिन निर्देशन दिएको छ। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत आनन्द वंश न्यौपानेले पठाएको निर्देशनमा सुरक्षित, मर्यादित एवं सुव्यवस्थित रुपमा २४सै घण्टा देउसी भैलो कार्यक्रम सञ्चालन ग... ...

नेपालखबर
अभिनेता रसेल ब्रान्डलाई साढे १० वर्ष जेल सजाय, जेल जानुअघि श्रीमतीलाई भने ‘आई लभ यू’
Latest NewsJust now

अभिनेता रसेल ब्रान्डलाई साढे १० वर्ष जेल सजाय, जेल जानुअघि श्रीमतीलाई भने ‘आई लभ यू’

काठमाडाैँ। बेलायती कमेडियन तथा अभिनेता रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा साढे १० वर्षको जेल सजाय सुनाइएको छ । सजायपछि सोमबार ५१ वर्षीय ब्रान्डलाई जेलतर्फ लैजान लाग्दा उनले दर्शकदीर्घामा रहेकी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play