Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त
Photo / Coverage: केन्द्रबिन्दु

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले टर्कीको अन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोप्रति गहिरो निराशा व्यक्त गरेका छन् । आइतबार जारी वक्तव्यमा महासचिव गुटेरेसले जलवायु सङ्कटको गम्भीरतालाई सम्बोधन गर्न आवश्यक सामूहिक प्रतिबद्धता र निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको उल्लेख गरेका छन् । उनले जलवायु सङ्कटले माग गरेको गम्भीरतालाई आत्मसात् गर्दै सरकारहरूले आवश्यक कदम चाल्ने अपेक्षा गरेका सबैको निराशाप्रति आफू सहमत रहेको बताएका छन् । सम्मेलनका अध्यक्ष मुरात कुरुमले आइतबार आयोजित समापन सत्रमा प्रस्तावित अन्ताल्या सम्झौतामा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको जानकारी गराएका थिए । यसअघि शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलन निर्धारित समयभन्दा करिब दुई दिन ढिलोसम्म सञ्चालन भए पनि सहमति जुट्न सकेको थिएन । आइतबार सम्झौताको तेस्रो मस्यौदासमेत सार्वजनिक गरिएको थियो । महासचिव गुटेरेसले सम्मेलनमा सहमति कायम हुन नसके पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यहरूमा कुनै अस्पष्टता नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार विश्वको तापक्रमले निरन्तर नयाँ कीर्तिमान कायम गरिरहेको, जलवायुजन्य चरम घटनाहरू तीव्र बन्दै गएको र हरितगृह ग्यासको उत्सर्जन अझै उच्च रहेको छ । जलवायु सङ्कट सम्बोधनमा हुने प्रत्येक ढिलाइले आगामी चुनौतीलाई थप जटिल र खर्चिलो बनाउने उनको भनाइ छ । विश्व तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्न कठिन हुँदै गएको उल्लेख गर्दै उनले तापक्रम वृद्धिको निर्धारित सीमा नाघ्ने अवस्था सम्भव भएसम्म छोटो र न्यून राख्ने अवसर तीव्र रूपमा साँघुरिँदै गएको चेतावनी दिएका छन् । महासचिव गुटेरेसले जलवायु सङ्कटको सामना गर्न विश्व समुदायले अझ प्रभावकारी र तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।उनले जलवायु सङ्कटको प्रमुख कारकका रूपमा रहेको जीवाश्म इन्धनमाथिको निर्भरता क्रमशः अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । कोइला, तेल र ग्यासको निरन्तर प्रयोगले जलवायु अस्थिरता बढाउनुका साथै अर्थतन्त्रलाई मूल्यवृद्धिको जोखिममा पारिरहेको र ऊर्जा सुरक्षामा समेत चुनौती थपिरहेको उनले उल्लेख गरेका छन् । जीवाश्म इन्धनसँग सम्बन्धित शक्तिशाली व्यावसायिक स्वार्थ समूहहरूले वैज्ञानिक तथ्यलाई प्रभावित पार्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने तथा जलवायु संरक्षणका प्रयासमा अवरोध सिर्जना गर्ने गरेको आरोपसमेत उनले लगाएका छन् । दुबईमा सम्पन्न २८औँ जलवायु सम्मेलनमा सबै देशले न्यायोचित, व्यवस्थित र समतामूलक ढङ्गले जीवाश्म इन्धनको प्रयोगबाट क्रमशः बाहिरिने सहमति गरेको स्मरण गराउँदै उनले उक्त प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । १।५ डिग्री सेल्सियसको तापक्रम सीमा नाघ्ने अवस्थाको अवधि र प्रभाव न्यूनीकरण गर्न यसै दशकभित्र हरितगृह ग्यास उत्सर्जनमा तीव्र तथा उल्लेखनीय कटौती गर्नुपर्ने उनको धारणा छ । यसका लागि प्रमुख उत्सर्जक राष्ट्रहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, विकसित देशहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने र सबै राष्ट्रले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उनले बताएका छन् । त्यसैगरी, विकसित मुलुकहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग तीन गुणा वृद्धि गर्ने प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् । जलवायु सङ्कट सिर्जना गर्न न्यून योगदान रहेका विकासशील तथा कमजोर राष्ट्रहरूले यसको गम्भीर परिणाम एक्लै भोग्नुपर्ने अवस्था आउन नहुने उल्लेख गर्दै उनले यसलाई जलवायु न्यायको महत्त्वपूर्ण विषयका रूपमा प्रस्तुत गरेका छन् । महासचिव गुटेरेसका अनुसार जलवायु संरक्षणका वास्तविक उपलब्धि सम्मेलनका छलफल र प्रतिबद्धतामा मात्र सीमित नभई तिनको व्यावहारिक कार्यान्वयनबाट मापन हुनुपर्छ । जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने, विद्युत् प्रसारण प्रणालीको विकास तथा आधुनिकीकरण गर्ने, मिथेन उत्सर्जन न्यूनीकरण गर्ने, वन क्षेत्रको पुनस्र्थापना गर्ने र विकासशील मुलुकसम्म जलवायु वित्तको पहुँच सुनिश्चित गर्ने कार्यलाई उहाँले महत्त्वपूर्ण उपलब्धिका रूपमा औँल्याएका छन् । उनले नागरिक समाज, युवा पुस्ता, आदिवासी समुदाय, वैज्ञानिक तथा जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका समुदायलाई जलवायु संरक्षणका प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् । जलवायु सङ्कटले सरकारहरूबीच सहमति कायम हुने प्रतीक्षा नगर्ने उल्लेख गर्दै महासचिव गुटेरेसले वैज्ञानिक तथ्यको प्रचारप्रसार, सरकार तथा निजी क्षेत्रको जवाफदेहिता र जलवायु न्यायका पक्षमा निरन्तर आवाज उठाउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन भारत भ्रमणबाट स्वदेश फिर्ता
Latest NewsJust now

प्रधानमन्त्री बालेन भारत भ्रमणबाट स्वदेश फिर्ता

काठमाण्डु – भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सोमबार साँझ स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरे । यसअघि प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्न भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, […] ...

काठमाण्डुपाटी
अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्दैछौं -मन्त्री सोविता गौतम
Latest NewsJust now

अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्दैछौं -मन्त्री सोविता गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्न लागिएको बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथिको छलफलका क्रममा मन्त्री गौतमले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, लागत अनावश्यक बढाउने, गलत प्रयोग हुन सक्ने र वर्तमान सन्दर्भमा असान्दर्भिक तथा अनावश्यक ...

केन्द्रबिन्दु
काठमाडौं आइपुगे प्रधानमन्त्री शाह
Latest NewsJust now

काठमाडौं आइपुगे प्रधानमन्त्री शाह

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई केहीबेर अघि नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भएका प्रधानमन्त्री शाहलाई आज नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय ...

कर्पोरट खबर
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अर्थपूर्ण बन्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे, आजै स्वदेश फर्किने जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरे, दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने विश्वास भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement