जलवायु नीतिको कार्यान्वयनमा केन्द्रित हुनेछ कोप–३१ः टर्कीकी उपविदेशमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा केन्द्रित हुने टर्कीकी उपविदेशमन्त्री बेरिस एकिन्चीले बताएकी छन्। संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताको ठोस कार्यान्वयनलाई सम्मेलनले प्राथमिकता दिने बताइन्। पेरिस सम्झौताको दोस्रो दशकमा नयाँ निर्णयका लागि वार्ता गर्नुभन्दा पनि यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने अपेक्षा बढिरहेको उल्लेख गर्दै उनले कोप–३१ लाई ‘कार्यान्वयन सम्मेलन’ का रूपमा अघि बढाइने जानकारी दिइन्। एकिन्चीले राष्ट्रिय जलवायु प्राथमिकतालाई वित्तीय स्रोतसँग जोड्नु आवश्यक रहेको बताउँदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा विकसित ‘क्लाइमेट इम्प्लिमेन्टेसन ब्रिज’ पहलको महत्त्व औँल्याइन्। उक्त पहलले जलवायुसम्बन्धी लक्ष्यलाई लगानीयोग्य परियोजनामा रूपान्तरण गर्न सहयोग गर्ने उनको भनाइ छ। उनका अनुसार सम्मेलनमा औपचारिक वार्तासँगै सहर, व्यवसाय, लगानीकर्ता, अनुसन्धानकर्ता, नागरिक समाज र युवाको सहभागितामा जलवायु कार्ययोजना पनि अघि बढाइनेछ। उक्त कार्ययोजनामा सन् २०३५ सम्म हासिल गर्ने छवटा विश्वव्यापी लक्ष्य समावेश छन्। टर्कीका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक बाबातुन्डे अहोन्सीले जलवायु परिवर्तनको सामना गर्न सरकारसँगै व्यवसाय, स्थानीय तह, महिला र युवासहित समाजका सबै पक्षको सहभागिता आवश्यक रहेको बताए। ‘समावेशी बहुपक्षीयता’ को अवधारणामा जोड दिँदै उनले कोप–३१ को तयारीका क्रममा व्यवसायी, नगरपालिका, युवा समूह र महिला संगठनसँग संवाद गरिएको जानकारी दिए। यसैबीच, टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले आगामी महिना भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा हुने सम्मेलनमा ८५ जना विश्वनेता सहभागी हुने अपेक्षा गरिएको बताएका छन्। सम्मेलनस्थलको निरीक्षणका क्रममा बिहीबार उनले करिब ३०० मन्त्रीले टर्कीको भ्रमण गर्ने अपेक्षा गरिएको जानकारी दिए। उनका अनुसार सम्मेलनका लागि १५९ वटा प्रदर्शनी तथा प्रतिनिधिमण्डलका पभिलियन र ९० वटा प्रतिनिधिमण्डल कार्यालयका आवेदन स्वीकृत भएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि यो अहिलेसम्मकै ठूलो संख्या भएको उनले बताए। सम्मेलन अवधिमा १० लाखभन्दा बढी आगन्तुक सहभागी हुने अनुमान गरिएको छ। सम्मेलनस्थलमा बैठक कक्ष, प्रदर्शनी क्षेत्र र चार हजार पत्रकारलाई सेवा दिन सक्ने क्षमताको सञ्चार केन्द्र निर्माण गरिएको मन्त्री कुरुमले जानकारी दिए। टर्कीका गृहमन्त्री मुस्तफा चिफ्चीले सम्मेलनको सुरक्षाका लागि प्रहरी, जन्डार्मरी र तटरक्षक बलका गरी २६ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए। उनका अनुसार सम्मेलनका क्रममा स्थल, हवाई तथा समुद्री क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइनेछ। कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

नेपालभर बुधबारदेखि वर्षा हुने, दुई सय मिलिमिटरसम्म पानी पर्न सक्ने
चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । ...

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै ...

तिर्पामा विद्यालयको लाइब्रेरी स्थापनाका लागि सांगीतिक कार्यक्रम
दसैंको अवसरमा जुटेको समुदायले पुस्तक, कम्प्युटर र सहयोग संकलन गर्दै विद्यालयमा लाइब्रेरी स्थापना अभियानलाई थप बल दिएको छ। ...
कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्याउन ३० जना मनोनीत गर्नुपर्ने
तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ । ...


