काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकासँग जोडिएका मुद्दालाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सरकारले जनजीविकाका सवालमा गम्भीरता नदेखाएको र मूल्यवृद्धिसमेत नियन्त्रण गर्न नसकेको बताए। सरकार नागरिकका दैनिक समस्याप्रति संवेदनशील हुन नसकेको भन्दै पौडेलले कांग्रेसले जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए। निर्वाचन नजिकिँदै गएको अवस्थामा सुशासन, संघीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई पार्टीले मुख्य एजेन्डा बनाउनुपर्ने उनको भनाइ थियो। उनले नागरिकसँग आत्मीय सम्बन्ध कायम गर्दै उनीहरूका पीडामा साथ दिन र देश विकासका विषयमा स्पष्ट दृष्टिकोणसहित अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भ्रष्टाचार नियन्त्रण र पार्टीले विगतमा गरेका ऐतिहासिक तथा महत्त्वपूर्ण कामको दस्ताबेजीकरणमा ध्यान दिनुपर्ने बताए। सो अवसरमा कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई सम्मान गरिएको थियो।
जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएन : महामन्त्री पौडेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





