Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

जनकपुरधाम-अयोध्या रेल सेवा सुरु हुँदै, मिथिलाञ्चलमा उत्साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधाम-अयोध्या रेल सेवा सुरु हुँदै, मिथिलाञ्चलमा उत्साह
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम। भगवान् रामको जन्मस्थल भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधाम रेलमार्गबाट जोडिने भएपछि मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ। नेपाल र भारतका दुई धार्मिक नगरीबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार र स्थानीय अर्थतन्त्रको विकासमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा यही मङ्सिर ७ गते दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयले जारी गरेको निमन्त्रणामा उल्लेख छ। भारतको प्रेस इन्फर्मेसन ब्युरो (पिआईबी), दिल्लीले जारी गरेको सूचनाअनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। उनका अनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले बिहार र उत्तर प्रदेशका प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ। रेल सातामा एकपटक सञ्चालन हुनेछ। निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ। रेलका व्यावसायिक बिसौनी जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रहनेछन्। ती स्थानबाट यात्रु चढ्न र ओर्लन सक्ने व्यवस्था गरिएको छ। उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयको निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिनेछ। कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह भिडियो कन्फरेन्समार्फत सहभागी हुने कार्यक्रम रहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए। होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापना हुनु नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण कदम भएको बताए। रामनगरीका रूपमा परिचित अयोध्यालाई माता सीतासँग सम्बन्धित जनकपुरधामसँग जोड्दा रामायण सर्किटको प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ। यो रेल सेवाबाट दुवै देशका तीर्थयात्री, पर्यटक र व्यवसायी लाभान्वित हुने तथा धार्मिक पर्यटनसँगै व्यावसायिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको गौतमले बताए। जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवा सञ्चालनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार जनकपुरधामका होटल, रेस्टुराँ, यातायात, हस्तकला र धार्मिक सामग्रीको व्यापार विस्तार हुनुका साथै रोजगारीका अवसर सिर्जना हुनेछन्। अयोध्यामा राममन्दिर निर्माणपछि धार्मिक पर्यटकको आकर्षण बढिरहेको अवस्थामा जनकपुरधामलाई रेलमार्गबाट जोड्न सके भारतीय तीर्थयात्रीका लागि नेपाल भ्रमणको महत्वपूर्ण गन्तव्य बन्न सक्ने भण्डारीको भनाइ छ। “जनकपुरधाम आउने नेपाली तथा भारतीय भक्तजनले अयोध्यासम्मको धार्मिक यात्रा सहज रूपमा गर्न पाउनेछन्। यसबाट जनकपुरधाममा पर्यटकको बसाइ अवधि लम्ब्याउन र आर्थिक गतिविधि थप चलायमान बनाउन सकिन्छ”, उनले भने। त्यसका लागि जानकी मन्दिरबाहेक रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा सांस्कृतिक स्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा जोड दिनुपर्ने भण्डारीले बताए। स्तरीय होटल, यातायात सेवा र पर्यटकमैत्री पूर्वाधार विकास गर्न सके रेल सेवाबाट प्राप्त हुने अवसरलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने उनको भनाइ छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका युवा व्यवसायी जीवछ महाशेठले रेल सेवा सञ्चालनपछि अयोध्यास्थित राममन्दिरलगायत धार्मिकस्थलको भ्रमण सहज हुने बताए। “यहाँका अधिकांश मानिसले अयोध्या भ्रमण गर्ने अवसर पाउनेछन्। अहिलेसम्म धेरैले अयोध्याको नाम सुने पनि त्यहाँ पुग्न सकेका छैनन्। सिधा रेल सेवा सुरु भएपछि आवतजावत सहज हुनेछ”, उनले भने। क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले अयोध्या जाने सिधा रेल सेवा सञ्चालन हुने जानकारीले आफूहरू उत्साहित भएको बताए। यसअघि अयोध्या पुग्न विभिन्न यातायातका साधन प्रयोग गर्नुपर्ने र लामो समय खर्चिनुपर्ने अवस्था रहेकामा रेल सेवा सुरु भएपछि यात्रा सहज हुने उनको भनाइ छ। होटल तथा पर्यटन व्यवसायी सङ्घ धनुषाका अध्यक्ष रूपेश सिंहले जनकपुरधाम र अयोध्याबीचको रेल सेवाले दुवै देशका पर्यटकको आवागमन सहज बनाउने विश्वास व्यक्त गरे। विशेषगरी भारतका विभिन्न प्रान्तबाट अयोध्या आउने पर्यटकलाई जनकपुरधाम भ्रमण गर्न सहज हुने उनले बताए। जनकपुरधाम र अयोध्याबीच प्राचीनकालदेखि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। त्रेतायुगमा भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई धार्मिक नगरी रेलमार्गबाट जोडिँदा धार्मिक आस्थासँगै सांस्कृतिक आदानप्रदान बढ्ने अपेक्षा गरिएको छ। रेल सेवाले मिथिलाको कला, संस्कृति, परम्परा, खानपान तथा स्थानीय उत्पादनको प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। धार्मिक यात्राका लागि आउने पर्यटकलाई जानकी मन्दिर र राममन्दिर दर्शनमा मात्र सीमित नराखी मिथिलाको सांस्कृतिक जीवन, ऐतिहासिक स्थल र स्थानीय उत्पादनसँग परिचित गराउन सके स्थानीय व्यवसायले थप लाभ लिन सक्ने पर्यटन व्यवसायीको धारणा छ। जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी, रामनवमी तथा जानकी नवमीलगायत धार्मिक उत्सवलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न पनि रेल सेवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले बताए। नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक सहकार्यसँग जोड्ने यो पहलले मधेस प्रदेशको पर्यटन विकास, स्थानीय रोजगारी सिर्जना र व्यापार व्यवसाय विस्तारमा योगदान पुर्‍याउने उनको विश्वास छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतसँग हवाई प्रवेशमार्गको सहमति खोजिँदै, चर्चामा महेन्द्रनगर रुट
Latest NewsJust now

भारतसँग हवाई प्रवेशमार्गको सहमति खोजिँदै, चर्चामा महेन्द्रनगर रुट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा हवाई कनेक्टिभिटी विस्तारको विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पुनः चर्चामा आएको छ । भारतसँग यस विषयमा सहमति जुटे पश्चिम नेपालको... ...

रातोपाटी
दिल्लीमा बालेन : अयोध्या-जनकपुर रेल उद्घाटन निश्चित, नयाँ हवाई मार्ग अझै अनिश्चित
Latest NewsJust now

दिल्लीमा बालेन : अयोध्या-जनकपुर रेल उद्घाटन निश्चित, नयाँ हवाई मार्ग अझै अनिश्चित

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले आज साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे। नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो दिल्ली प्रस्थान गरेका शाह त्यहाँस्थित ताजमहल होटलमा बस्नेछन्। […] ...

काठमाण्डुपाटी
कार्यवाहक प्रधानमन्त्री पाएकै दिन पाटन घुमघाममा विराजभक्त
Latest NewsJust now

कार्यवाहक प्रधानमन्त्री पाएकै दिन पाटन घुमघाममा विराजभक्त

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएकै दिन उर्जामन्त्री विराजभक्त श्रेष्ठ ललितपुरको पाटन क्षेत्र घुमघाममा जाने भएका छन् । प्रधानमन्त्री बालेन्द्र (बालेन) आज आइतबार २ दिने भारत भ्रमणका लागि प्रस्थान गरेपछि... ...

रातोपाटी
काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही
Latest NewsJust now

काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही

काठमाडौँ। मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको पाइएको छ। लामो दूरीसम्म दानापानी नदिई, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गर्ने गरिएको हो। नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा फोटो र श्रव्यदृश्य सङ्कलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्ड उल्लङ्घन हुने गरेको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement