लण्डन । युरोपेली फुटबलमा इस्तानबुलको नाम लिँदा लिभरपुलको ऐतिहासिक पुनरागमन अर्थात् सन् २००५ को ‘मिराकल अफ इस्तानबुल’ सम्झनामा आउँछ । तर यसपटक भने इस्तानबुलमै लिभरपुलले त्यस्तै चमत्कारको उल्टो अनुभव गर्नुपरेको छ । च्याम्पियन्स लिगअन्तर्गत फेनरबाचेसँगको खेलमा दुई पटक अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा लिभरपुल ३-२ गोलले पराजित भयो । उता म्यानचेस्टर सिटी, बोरुसिया डर्टमन्ड र पोर्टोले भने महत्वपूर्ण जित दर्ता गरे । इस्तानबुलस्थित सुक्रु साराचोग्लु रंगशालामा भएको खेलमा एन्डोनी इराओलाको टोली लिभरपुल जितको नजिक पुगेर पनि निराश बन्न पुग्यो । खेलको सुरुवातमै युवा खेलाडी ट्रे न्योनीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभएको थियो । तर त्यसको चार मिनेटपछि नै पूर्वम्यानचेस्टर युनाइटेडका फरवार्ड मेसन ग्रिनवुडको फ्रिकिक लिभरपुलका जेरेमी ज्याक्वेटलाई लागेर गोलमा परिणत भएपछि फेनरबाचेले खेल बराबरीमा ल्यायो । दोस्रो हाफमा दुवै टोलीबीच प्रतिस्पर्धा थप रोमाञ्चक बन्यो । खेलको ६९औँ मिनेटमा एलेक्जान्डर इसाकले हेडमार्फत गोल गरेपछि लिभरपुलले २-१ को अग्रता बनाएको थियो । त्यससँगै लगातार चौथो जिततर्फ अघि बढिरहेको लिभरपुलले खेल आफ्नो नियन्त्रणमा राख्ने अपेक्षा गरिएको थियो । तर घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्यो । ब्राउनले सहजै गोल गर्दै ७३औँ मिनेटतिर खेल २-२ को बराबरीमा ल्याउनुभयो । त्यसको ६ मिनेटपछि ब्राउनको लामो बल नियन्त्रण गर्न लिभरपुलका डिफेन्डरहरू असफल भएपछि वेदात मुरिकीले हेडमार्फत निर्णायक गोल गर्नुभयो । यता म्यानचेस्टर सिटीले जर्मनीमा आरबी लाइपजिगलाई पराजित गर्दै च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ । पछिल्ला दुई प्रिमियर लिग खेलमा लगातार पराजित भएको तथा काराबाओ कपमा ब्राइटनविरुद्ध पेनाल्टीबाट अघि बढेको सिटीले यसपटक ३-२ को रोमाञ्चक जित निकाल्यो । घरेलु टोलीले सुरुवातमा राम्रो अवसर सिर्जना गरे पनि कास्टेलो लुकेबाको आत्मघाती गोलबाट सिटीले अग्रता पाएको थियो । दोस्रो हाफको सुरुवातमै गोलरक्षक जियानलुइजी डोनारुम्माको कमजोरीको फाइदा उठाउँदै रिडल बाकुले लाइपजिगलाई बराबरीमा ल्याउनुभयो । तर ५७औँ मिनेटमा एन्जो फर्नान्डेजले हेडमार्फत गोल गर्नुभयो । त्यसको तीन मिनेटपछि एन्टोनियो नुसाले उत्कृष्ट गोल गर्दै खेल फेरि बराबरीमा पुर्याउनुभयो । अन्ततः ७८औँ मिनेटमा कप्तान एर्लिङ हालान्डले इलियट एन्डरसनको पासमा निर्णायक गोल गर्नुभयो । त्यसैगरी बोरुसिया डर्टमन्डले स्पेनिस क्लब रियल बेटिसलाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगमा घरेलु जित हासिल गर्यो । प्रतियोगिताका सुरुवाती तीन खेल जितेको बेटिसले यसपटक भने लगातार जितको यात्रा कायम राख्न सकेन । दोस्रो हाफ सुरु भएको चार मिनेटमै जोब बेलिङ्घमको प्रहार गोलरक्षक अल्भारो भालेसले रोके पनि रिबाउन्डमा फाबियो सिल्भाले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाउनुभयो । ६७औँ मिनेटमा वैकल्पिक खेलाडी आइटोर रुइबालले गोल गर्दै बेटिसलाई बराबरीमा ल्याउनुभयो । तर ७२औँ मिनेटमा १८ वर्षीय कोन्स्टान्टिनोस कारेत्सासले च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल गर्दै डर्टमन्डलाई जित दिलाउनुभयो । डर्टमन्डले नोभेम्बर २४ मा आर्सनलसँग खेल्नेछ भने बेटिसले स्लोभान ब्राटिस्लाभाको सामना गर्नेछ । एजेन्सी
च्याम्पियन्स लिग : इस्तानबुलमा लिभरपुललाई ठूलो झट्का, सिटी र डर्टमन्डको रोमाञ्चक जित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






