काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। १५औँ महाधिवेशनपछि आयोगले पार्टीको विवरण अद्यावधिक गरिसकेकाले सोही आधारमा दुरुपयोग रोक्न आग्रह गरिने भएको छ। बैठकपछि सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग नगर्न सम्बन्धित पक्षलाई सचेत गराउने निर्णय भएको जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ। सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको र संविधान तथा लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको निष्कर्ष कांग्रेसले निकालेको छ। त्यसैगरी, पासपोर्ट प्रकरण र सुनकोसी-मरिन डाइभर्सन आयोजनामा राज्य संयन्त्रको दुरुपयोग गरी आर्थिक चलखेल र स्वार्थपूर्तिको प्रयास भएको विषयमा पनि बैठकमा गम्भीर छलफल भएको छ। सुकुमबासीलाई होल्डिङ सेन्टरबाट लखेटिएको घटनाको समेत पार्टीले विरोध जनाएको छ। स्थानीय तहको निर्वाचनको तयारीका लागि देशभरका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ। बैठकका पूर्ण निर्णयहरू शनिबार सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।
चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्राचार गर्ने

Read Complete Original Article
Published originally on नेपालन्युज






