काठमाडौं।कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध २४ रनको जित निकालेको छ। यो जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने वञ्चित भएको छ। उसले यस पटक सात खेलमध्ये चारमा हार तथा तीन खेलमा मात्र जित निकाल्यो। कर्णालीविरुद्ध हारको सामना गरे पनि चितवनले प्लेअफमा स्थान बनाएको छ। आज कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो। उसका लागि कामिल मिसराले २५, उसमा मिरले अविजित २८, कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। बलिङतर्फ कर्णालीका लागि हुसेन तलातले ३, पवन सर्राफ र मार्क वाटले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनायो। उसका लागि हुसेन तलातले अविजित ५१, आरिफुल इस्लामले ३५,, गुलशनकुमार झाले १८ र पवन सर्राफले १५ रन बनाए। बलिङतर्फ चितवनका लागि सलाहुद्दीन खान, उसामा मिर र कमल सिंह ऐरीले समान २/२ तथा कप्तान सिकन्दर रजा र रिजन ढकालले १/१ विकेट लिए। आजै अर्को खेल काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच हुँदैछ।
चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित

Read Complete Original Article
Published originally on नेपालन्युज






