गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा हुनुपर्ने माग गरेको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय उठाएको भन्दै आयोगले यसबारे अध्ययन तथा छलफल गर्ने बताए । उनले भने, ‘तपाईंहरूले संविधान, कानुन, हाम्रो व्यवस्था, अभ्यास सबै हेरेर यहाँ विषयहरू उठान गर्नुभएको छ । हामी पनि हेर्छौं, बुझ्छौं, पढ्छौं । मुख्य कुरा विषय उठान भएपछि के गर्दा उपयुक्त हुन्छ भनी अगाडि जाने कुरा हुन्छ । हामीलाई बल्ल विषयको बारेमा जानकारी भएको छ । हामी आउने दिनमा छलफल गर्नेछौं । तपाईंसँग फेरि छलफल गर्नुपरे फेरि बोलाउँछौं ।’ गैरदलीय स्थानीय सरकार निर्माण अभियानका संयोजक दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गरे । उनले केही ऐन तथा कानुनी व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन दलीय आधारमा हुँदै आएको भन्दै त्यसमा संशोधन गरेर गैरदलीय निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए । उनले भने, ‘गैरदलीय स्थानीय सरकार नेपाली जनताको अधिकार एउटा मूल मर्म र मान्यता बोकेर हामीसँग थुप्रै अभियानका साथी पनि हुनुहुन्छ । देशमा छिट्टै स्थानीय निर्वाचन हुँदैछ । स्थानीय चुनाव गैरदलीय र स्वतन्त्र हुनुपर्छ भन्ने मान्यताका साथ अधिकांश नेपाली जनताको माग छ, स्थानीय तह स्वतन्त्र हुनुपर्दछ भन्ने छ । स्थानीय तह गैरदलीय स्वतन्त्र गर्नका लागि नेपालको संविधान स्पष्ट छ । संविधानले दलीय आधारमा स्थानीय तहको चुनावको परिकल्पना गरेको छैन । केही ऐन, कानुनको व्यवस्था गरी नेपालमा यो निर्वाचनको व्यवस्था गरियो । यसलाई संशोधन पनि गर्न मिल्छ । त्यसकारण संशोधन गरेर अब गैरदलीय स्थानीय तहको चुनाव हुनुपर्छ भन्ने मर्मका साथ हामीले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउन चाहन्छौं ।’
गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र

Read Complete Original Article
Published originally on पर्दाफास






