खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो । असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने सम्झौता गरेको छ । काठमाडौँ महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ । मर्मत सम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चभित्रका सम्पूर्ण भागहरूमा भूमि सम्याएर उच्च गुणस्तरको दुबो घाँस रोप्ने र प्राविधिक रेखदेखसहित त्यसको उचित स्याहार गरिनेछ। यस कार्यका लागि लाग्ने सम्पूर्ण आर्थिक भार तथा लागत नेपाली कांग्रेस स्वयंले बेहोर्ने सहमति भएको दुवालले जानकारी दिए । पुनःस्थापनाका लागि ४५ दिनको समयसीमा निर्धारण गरिएकोमा शुरूआती १५ दिनभित्र दुबो रोप्ने कार्य सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र पूर्ण रूपमा हराभरा बनाइने छ । दुबो रोप्ने एवं स्याहार संरक्षण गर्ने कार्यमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिलाई कांग्रेस केन्द्रीय कार्यालयले स्वयंसेवकको जिम्मेवारी सुम्पिएको छ । यसको संयोजन काठमाडौँ महानगरका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन् । काम पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार महानगरलाई बुझाउन योग्य अवस्थामा खुलामञ्च परिसर हस्तान्तरण गरिने वैद्यले बताए । कूल सम्झौता रकममध्ये ८० प्रतिशत पेश्की उपलब्ध गराइने र बाँकी २० प्रतिशत रकम कार्य सम्पन्न भएपछि प्रदान गरिने वित्तीय सम्झौतापत्रमा उल्लेख छ । सार्वजनिक कार्यक्रम आयोजना गरिसकेपछि सो स्थललाई अझ सुन्दर र व्यवस्थित बनाएर फर्काउने कांग्रेसको यो कदमले नागरिकस्तर तथा वातावरणीय वृत्तमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एल निनो ‘कोरल रिफ’का लागि ‘भयानक’ खतराः विशेषज्ञ
पेरिस । रेकर्ड समुद्री तापक्रम बढाउने ‘सुपर एल निनो’ विश्वका कमजोर ‘कोरल रिफ’ का लागि भयानक खतरा बनेको संयुक्त राष्ट्रसङ्घको प्रकृति विशेषज्ञहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका प्यानलका अध्यक्षले ‘सुपर एल निनो’ विश्वका कमजोर ‘कोरल रिफ’ का लागि भयानक खतरा बनेको एएफपीलाई बताए । समुद्री वैज्ञानिक डेभिड ओबुराका अनुसार उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा बलियो बन्दै गरेको असाधारण एल निनो ढाँचाले कमजोर कोरल ...

पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेसाकर्मी... ...

प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन्। एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज काठमाडाैँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको जानकारी दिए। ‘प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पह... ...

औषधी व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा
औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध भएको छ। बिहीबार औषधि व्यवस्था विभागमा आयोजित एक कार्यक्रमका बिच विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध भएको औपचारिक जानकारी दिइएको हो। भन्सार विभागमा महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई उपस्थित कार्यक्रममा औषधी व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध भए... ...


