क्यालिफोर्नियाको व्यवसाय तथा उपभोक्ता सेवा निकायका सचिव रोहित चोपडाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमता विस्तार गरिरहेका प्रविधि कम्पनीलाई थप जवाफदेही बनाउनुपर्ने बताएका छन्। राज्यका नियम पालना नगर्ने कम्पनीलाई अदालत पुर्याउने सम्भावनाबारे आफ्नो निकायले अध्ययन गरिरहेको पनि उनले बताएका छन्। अमेरिकी उपभोक्ता वित्तीय संरक्षण ब्युरोका पूर्वप्रमुख चोपडाले सोमबार रोयटर्स मोमेन्टम एआई फाइनान्स सम्मेलनमा भने, “राज्यका कानुनमा एआईका लागि कुनै छुट छैन।” ती कानुनले चिकित्सकदेखि बैंकर्ससम्म सबैलाई नियमन गर्ने राज्यको इजाजतपत्रसम्बन्धी नियम लागू गर्छन्। रोयटर्सका अनुसार कृत्रिम बुद्धिमतासम्बन्धी कम्पनीहरूले उपभोक्ताका तथ्यांक संकलन गरेर तिनको दुरुपयोग गर्न सक्ने सम्भावनाबारे आफू चिन्तित रहेको चोपडाले बताए। संघीय नियामक निकायले हस्तक्षेप गरेर कारबाहीमार्फत समस्या समाधान गर्न चाहने वा त्यसो गर्न सक्नेमा आफूलाई कम विश्वास रहेको पनि उनले बताए। विशेषगरी, फेडरल रिजर्भले एआईसँग सम्बन्धित जोखिमको मूल्यांकन गरिरहेको छ कि छैन भन्नेमा उनले चिन्ता व्यक्त गरे। “वा उनीहरू केवल समर्थक बनेर यी सबै गतिविधिलाई प्रोत्साहन गरिरहेका छन्? किनभने अर्थतन्त्रले यस क्षेत्रमा अत्यधिक लगानी गरेको छ,” चोपडाले भने। यस क्षेत्रमा लगानी घट्ने वा सुधारात्मक परिवर्तन हुने हो भने त्यसले समग्र अर्थतन्त्रको स्थिरतामा असर पार्न सक्ने आफूलाई गम्भीर चिन्ता रहेको उनले बताए। नयाँ प्रविधि, जस्तै एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न प्रविधि कम्पनीहरूले अपनाएको स्वनियमन पर्याप्त छ कि छैन भन्ने कुरा कारबाहीको व्यवस्था नभएसम्म निर्धारण गर्न कठिन हुने उनले बताए। कृत्रिम बुद्धिमता दिनप्रतिदिन व्यापक हुँदै गएपछि यसको प्रयोगलाई नियमन गर्ने नयाँ नियम तथा कानुन बनाउन राज्यका नियामक निकायहरूले आपसी सहकार्यका उपाय खोजिरहेको चोपडाले बताए। “हामी चुपचाप बसेर हेर्न मात्रै सक्दैनौँ,” उनले भने। यस विषयमा राज्यहरूले संघीय नियामक निकायको भर पर्न नसक्ने र कम्पनीहरूलाई आफैँले आफ्ना गतिविधि नियमन गर्न छाड्न पनि नमिल्ने उनले बताए। “हामी अमेरिकी नागरिकसँगको सामाजिक सम्झौता तोडिने अवस्थाबारे कुरा गरिरहेका छौँ,” चोपडाले भने। The post क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्याइने appeared first on Technology Khabar.
क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्याइने

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






