काठमाडौं।नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो। मन्त्रिपरिषद बैठकले आईजीपी दानबहादुर कार्कीलाई हटाएर केसीलाई प्रहरी नेतृत्वमा नियुक्त गरेको थियो। केसीलाई बुधबार नै गृहमन्त्री सुधन गुरूङले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। २८ वर्ष प्रहरी सेवामा बिताएका केसी अपराध अनुसन्धानमा अनुभवी र अनुसन्धानमुखी प्रहरी अधिकारीका रूपमा परिचित छन्। उनले २०५४ चैत २८ गते प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए। आईजीपीमा नियुक्त हुनुअघि उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारीमा थिए। २०८२ वैशाख ११ गते एआईजीमा बढुवा भएका केसीले प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको नेतृत्व समेत सम्हालेका थिए। केसीले आफ्नो प्रहरी सेवाको अवधिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा मोरङ र रूपन्देही जिल्ला प्रहरी प्रमुखका रूपमा काम गरिसकेका छन्। अपराध अनुसन्धानमा उनको विशेष पहिचान नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडिएको छ। उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा उक्त प्रकरणको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यस्तै, बैंकिङ ठगी, एनसेलको गैरकानुनी लिलामी प्रकरण, धितोपत्र तथा बिमा ठगीलगायत आर्थिक अपराधको अनुसन्धानमा समेत उनले अनुभव हासिल गरेका छन्। उनी सीआईबीको नेतृत्वमा रहँदा जटिल तथा संगठित अपराधका अनुसन्धानमा संलग्न भएका थिए। प्रहरी सेवासँगै शैक्षिक क्षेत्रमा पनि उनको योगदान रहेको छ। उनले द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। नेपाल प्रहरी कर्मचारी कलेजका संस्थापक निर्देशकका रूपमा काम गरेका केसीले प्रहरी शिक्षाको विकास तथा पाठ्यक्रम निर्माणमा समेत योगदान पुर्याएका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा काम गरेको अनुभव समेत उनीसँग छ। नेपाली, अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषाको ज्ञान भएका केसीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। नेपाल प्रहरीको नेतृत्व सम्हालेसँगै केसी समक्ष अपराध नियन्त्रण, अनुसन्धानलाई थप प्रभावकारी बनाउने, प्रहरी संगठनको व्यावसायिकता अभिवृद्धि गर्ने र नागरिकमैत्री सेवा विस्तार गर्ने चुनौती छन्।
को हुन् नवनियुक्त आईजीपी मनोज केसी?

Read Complete Original Article
Published originally on नेपालन्युज






