काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारले बहुमत गुमाइसकेको निष्कर्षमा पुग्नु हतार हुने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेस प्रदेश सरकारको भविष्य र आगामी रणनीतिबारे प्रदेश संसदीय दल तथा प्रदेश कार्यसमितिको निर्णय नै निर्णायक हुने स्पष्ट पार्नुभयो । मधेस प्रदेश सरकारमा देखिएको अस्थिरता र केही दल सरकारबाट बाहिरिने क्रम चलिरहेका बेला शर्माले कांग्रेस संघीयताको मर्मअनुसार अघि बढ्ने बताउनुभयो । प्रदेशको नेतृत्व र संसदीय दलको भूमिकालाई सम्मान गर्दै केन्द्रले हस्तक्षेप नगर्ने उहाँको भनाइ थियो । उहाँले मधेस प्रदेशका सभापति श्रीकृष्ण यादव र मुख्यमन्त्रीसँगको समन्वयपछि मात्रै पार्टीले औपचारिक धारणा बनाउने संकेत गर्नुभयो । शर्माले भन्नुभयो, ‘मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्थाबारे अहिले नै निष्कर्ष निकाल्नु हतार हुनेछ । मुख्यमन्त्री श्रीकृष्ण यादवले बहुमत गुमाइसक्नुभएको छ भन्ने निष्कर्षमा हामी पुगेका छैनौँ । राजनीतिक समर्थन फेरिन सक्ने भएकाले परिस्थितिको थप मूल्याङ्कन आवश्यक छ । संघीयताको मर्मअनुसार यस विषयमा केन्द्रले हस्तक्षेप गर्नुभन्दा प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलले आवश्यक निर्णय लिनुपर्छ । प्रदेशले गर्ने उपयुक्त निर्णय नै नेपाली कांग्रेस केन्द्रको निर्णय हुनेछ ।’ विपक्षी बेन्चमा बस्नुपर्ने अवस्था आए पनि कांग्रेस त्यसका लागि तयार रहेको उहाँले बताउनुभयो । तर सरकारको निरन्तरता वा विकल्पका विषयमा तत्काल हतारमा कुनै ठोस निर्णय नलिने उहाँको स्पष्टोक्ति थियो । शर्माको भनाइले मधेस प्रदेशमा कांग्रेसले तत्काल कठोर निर्णय लिनुभन्दा पछिल्लो राजनीतिक घटनाक्रमलाई सूक्ष्म रूपमा नियालिरहेको संकेत गरेको छ । यसैबीच, मंगलबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।
मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





