Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

के दाजुभाइ र दिदीबहिनीबीच यौन सम्बन्ध रोक्न भाइटीका सुरु भएको हो ? डा. जगमानको व्याख्या कति सही ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
के दाजुभाइ र दिदीबहिनीबीच यौन सम्बन्ध रोक्न भाइटीका सुरु भएको हो ? डा. जगमानको व्याख्या कति सही ?
Photo / Coverage: जनताटाइम्स

गणेश बस्नेत तिहारलाई उज्यालोको प्रतिकका रुपमा लिइन्छ । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, देउसी–भैलो, लक्ष्मीपूजा र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको सम्झना आउँछ । नेपाली समाजमा तिहार केवल धार्मिक पर्व होइन, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीक पनि हो। तर यही पर्वको उत्पत्ति र भाइटीकाको ऐतिहासिक पृष्ठभूमिबारे संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले प्रस्तुत गर्नुभएको एउटा व्याख्या भने निकै फरक बिचारले निकै बहशयोग्य बनाएको छ । प्राडा जगमानले भन्नुभएको छ, ‘भाइटीका सुरु हुनुअघि दाजुभाइ र दिदीबहिनीबीच यौन सम्पर्क स्थापित हुन्थ्यो, त्यसैलाई रोक्न भाइटीका सुरु भयो ।’ चक्रपथ अनलाइनमा पत्रकार बिनु पोखरेलसँगको कुराकानीमा प्राडा जगमानले यो बिचार पहिलो पटक राख्नुभएको थियो । त्यसपछि यो बिषयमा चर्चा सुरु भयो । उहाँका अनुसार मानव सभ्यताको प्रारम्भिक चरणमा नातागोताभित्रै यौन सम्बन्ध स्थापित हुने सामाजिक अभ्यास थियो । पछि मानिसमा नैतिक चेतना र सामाजिक नियमको विकास हुँदै जाँदा नजिकका नातेदारबीच यौन सम्बन्ध निषेध गर्ने मान्यता स्थापित भयो । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई पवित्र र मर्यादित बनाउने साँस्कृतिक प्रतीकका रूपमा भाइटीकाको विकाश भएको उहाँको व्याख्या छ । डा. गुरुङले यस तर्कको आधार ऋग्वेदमा उल्लेखित यम र यमीको संवादलाई हतियार बनाउनुभएको छ । उहाँले तिहारलाई सभ्य समाज निर्माण, नातासम्बन्धको मर्यादा र यौन जीवनको सामाजिक नियमनसँग जोडेर व्याख्या गर्नुभएको छ । कान्तिपुर दैनिकमा सन् २०१७ मा प्रकाशित उहाँकै लेख तथा राटोपाटी अनलाइनमा सन् २०२२ मा प्रकाशित आलेख र अन्तर्वार्तामा पनि यो दृष्टिकोण प्रस्तुत गरिएको छ । तर के साँच्चै दाजुभाइ र दिदीबहिनीबीच यौन सम्बन्ध हुने प्रचलन थियो ? के भाइटीका त्यस्तो सम्बन्ध रोक्नकै लागि सुरु भएको हो ? ऋग्वेदको यम-यमी संवादले के भन्न खोजेको छ ? यमराज र यमुनाको पौराणिक कथासँग यसको सम्बन्ध के हो ? अनि तिहारको वास्तविक ऐतिहासिक विकाश कसरी भयो ? यी प्रश्नको जवाफ खोज्न तिहारको धार्मिक, वैदिक, सामाजिक र ऐतिहासिक पाटो केलाउन आवश्यक छ । ऋग्वेदको यम-यमी संवाद : दाजुसँग बहिनीले गरिन विवाह प्रस्ताव डा. जगमान गुरुङको व्याख्याको मुख्य आधार ऋग्वेदको दशम मण्डलमा रहेको दशौं अध्याय अर्थात् ऋग्वेद १०.१० हो । यस अध्यायमा यम र यमी नामका जुम्ल्याहा दाजुबहिनीबीच संवाद भएको छ । वैदिक आख्यानअनुसार यमीले दाजु यमसँग वैवाहिक सम्बन्ध स्थापित गर्न प्रस्ताव गर्छिन् । यमीको तर्क छ-उनीहरू मानव जातिका प्रारम्भिक सन्तान भएकाले सन्तान उत्पादन र मानव वंशको निरन्तरताका लागि उनीहरूबीच सम्बन्ध स्थापित हुनु आवश्यक छ । तर दाजु यमले बहिनीको प्रस्ताव अस्वीकार गर्छन् । दाजुबहिनीबीच यस्तो सम्बन्ध उचित नहुने भन्दै उनले यमीलाई अर्को पुरुषसँग वैवाहिक सम्बन्ध स्थापित गर्न सुझाउँछन् । यस संवादमा यमले सामाजिक मर्यादा, नाताको सीमा र नैतिक आचरणको पक्ष लिएका छन् । यही प्रसंगलाई व्याख्या गर्दै डा. गुरुङले भन्नुभएको छ कि प्राचीन समाजमा यौन सम्बन्धका विषयमा अहिलेको जस्तो स्पष्ट सामाजिक सीमा र निषेध विकसित भइसकेको थिएन । समयक्रममा मानिसले नातासम्बन्धको मर्यादा र यौन आचरणका नियम स्थापित गर्दै गएको उहाँको तर्क छ । उहाँको व्याख्यामा भाइटीका त्यही सामाजिक चेतना र मर्यादाको सांस्कृतिक अभिव्यक्ति हो । तर यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्नुपर्छ । ऋग्वेदको यम-यमी संवाद धार्मिक तथा साहित्यिक आख्यान हो । यसमा यमीले गरेको प्रस्तावलाई सम्पूर्ण प्राचीन समाजमा दाजुभाइ र दिदीबहिनीबीच यौन सम्बन्ध सामान्य रूपमा प्रचलित थियो भन्ने प्रत्यक्ष ऐतिहासिक प्रमाण मान्न मिल्दैन । तथ्यले पनि यसलाई नै आधिकारिक हो भन्ने कहीँ कतै देखाएको मान्न सकिने आधार भेटिएको छैन । यद्यपि यस संवादले प्राचीन वैदिक साहित्यमा नाताभित्रको यौन सम्बन्ध र त्यसको नैतिक सीमाबारे बहश रहेको भने देखाउँछ । के प्राचीन समाजमा हाडनाता विवाहको चलन थियो ? मानव समाजको इतिहासमा विवाह, परिवार र नातासम्बन्धका नियम एउटै स्वरूपमा विकास भएका छैनन् । विभिन्न समाज, समुदाय र ऐतिहासिक कालखण्डमा नाताभित्र विवाह गर्ने सम्बन्धमा फरक–फरक मान्यता र अभ्यास रहेका पाइन्छन् । कतिपय समाजमा काका–फुपूका सन्तानबीच विवाहलाई स्वीकार गरिएको छ । दक्षिण भारतका केही समुदायमा मामा र भाञ्जीबीच विवाह गर्ने परम्परासमेत पाइन्छ । नेपालमै पनि कतिपय समदायमा यस्तो परम्परा रहेको पाइन्छ । तर दाजुभाइ र दिदीबहिनीबीचको विवाह वा यौन सम्बन्धलाई भने धेरै समाजमा निषेध गरिएको छ । डा. गुरुङले आफ्नो तर्कमा नेपालकै ऐतिहासिक अभ्यासलाई पनि यस विषयसँग जोड्नुभएको छ । उहाँका अनुसार वि.सं. १८९६ मा मुख्तियार रंगलालले पश्चिम नेपालको भ्रमण गर्दा जैसी ब्राह्मण समुदायमा भाञ्जी तथा फुपूकी छोरीसँग मामाका छोराहरूको विवाह गर्ने प्रचलनविरुद्ध आदेश जारी गरेको प्रसंग भेटिन्छ । यसले नेपालको सामाजिक इतिहासमा विवाह र नातासम्बन्धका नियम समयक्रममा परिवर्तन हुँदै गएको संकेत गर्छ । तर मामा–भाञ्जी वा मामाका छोराछोरीबीचको विवाह र सहोदर दाजुभाइ-दिदीबहिनीबीचको सम्बन्ध फरक सामाजिक तथा जैविक श्रेणी हुन् । यी सबैलाई एउटै अर्थमा हाडनाता सम्बन्ध भनेर व्याख्या गर्नु उचित हुँदैन भन्ने तर्कमा पनि आधार देखिन्छ । इतिहासकार र मानवशास्त्रीहरूले यस्ता प्रचलनको अध्ययन गर्दा समुदाय, समय, वंश परम्परा र विवाहको सामाजिक नियमलाई अलग–अलग विश्लेषण गर्ने गर्छन् । एउटै होइनन् यम र यमीको कथा अनि यमराज र यमुनाको कथा भाइटीकाको इतिहास बुझ्न अर्को महत्वपूर्ण पक्ष यम र यमी तथा यमराज र यमुनाको कथाबीचको भिन्नता हो । ऋग्वेदमा आउने यम र यमी जुम्ल्याहा दाजुबहिनी हुन् । उनीहरूको संवाद यौन सम्बन्ध र नैतिक मर्यादाको विषयसँग जोडिएको छ । तर भाइटीकाको धार्मिक तथा पौराणिक परम्परामा यमराज र उनकी बहिनी यमुनाको प्रसंग आउँछ । पौराणिक कथाअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई पटक-पटक घरमा आउन निमन्त्रणा गरेकी हुन्छिन् । मृत्युका देवता यमराज आफ्नो काममा व्यस्त भएकाले बहिनीको निमन्त्रणा स्वीकार गर्न सकेका हुँदैनन् । कति प्रयाश गर्दा पनि नआएका यमराज अन्ततः कात्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको घर पुग्छन् । यमुनाले दाजुलाई तेल लगाइदिएर पूजा गर्छिन्, माला र टीका लगाइदिन्छिन् तथा विभिन्न परिकार खुवाएर आतिथ्य सत्कार गर्छिन् । बहिनीको प्रेम र सत्कारबाट प्रसन्न भएका यमराजले वरदान माग्न आग्रह गर्छन् । यमुनाले प्रत्येक वर्ष यही दिन आफ्नो घरमा आउनुपर्ने र यस दिन दिदीबहिनीको हातबाट टीका लगाएर पूजा गराउने दाजुभाइको आयु, आरोग्य र समृद्धिको कामना गर्छिन् । यमराजले पनि बहिनी यमुनाको यो इच्छा स्वीकार गर्छन् । यही पौराणिक मान्यतासँग जोडेर कार्तिक शुक्ल द्वितीयामा भाइटीका लगाउने परम्परा स्थापित भएको धार्मिक विश्वास छ । यसरी ऋग्वेदको यम–यमी संवादले नातासम्बन्धको मर्यादा र यमराज–यमुनाको कथाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, संरक्षण र दीर्घायुको कामनालाई प्रतिनिधित्व गर्छन् । यी दुई कथाको विषयवस्तु फरक भए पनि यम नामको पात्रमार्फत नाताको मर्यादा र सामाजिक सम्बन्धको चर्चा हुने भएकाले डा. गुरुङले तिनलाई सांस्कृतिक व्याख्यामा जोड्नुभएको देखिन्छ । उहाँको तर्कलाई पुरै नकार्न नसकिएपनि समग्र पाटोमा थप अध्ययन जरुरी देखिन्छ । भाइटीकाको सुरुवात कहिले भयो ? भाइटीका कहिलेदेखि मनाउन थालियो भन्ने विषयमा अहिलेसम्म सर्वमान्य र निश्चित ऐतिहासिक मिति उपलब्ध छैन । नेपालको धार्मिक परम्परा, लोकविश्वास र सांस्कृतिक अभ्यासमा यसको लामो इतिहास रहेको मानिन्छ । तर कुनै एक व्यक्ति, राजा वा निश्चित ऐतिहासिक घटनाबाट भाइटीका सुरु भएको प्रमाणित अभिलेख पनि अहिलेसम्म भेटिएका छैनन । भाइटीकाको मूल धार्मिक आधार यमराज र यमुनाको पौराणिक कथा नै हो । नेपालमा तिहारलाई यमपञ्चकका रूपमा पाँच दिन मनाइन्छ । यस अवधिमा मृत्युका देवता यमराज र उनका दूत मानिने जीवजन्तुको पूजा गर्ने परम्परा छ । नेपाल सरकारको आधिकारिक प्रकाशन ’नेपाल परिचय’ मा समेत तिहारलाई दाजुभाइ र दिदीबहिनीबीचको स्नेह तथा शुभकामनाको पर्वका रूपमा उल्लेख गरिएको छ । जसमा यमराज पाँच दिन बहिनी यमुनाको घरमा बसेको पौराणिक प्रसंगलाई तिहारको धार्मिक आधारका रूपमा प्रस्तुत गरिएको छ । त्यसैले भाइटीकाको उत्पत्तिलाई एउटा मात्र ऐतिहासिक घटनासँग जोडेर निश्चित गर्नुको सट्टा धार्मिक आख्यान, वैदिक साहित्य र नेपाली समाजको सांस्कृतिक विकाससँग जोडेर बुझ्नु उपयुक्त हुन्छ भन्ने तर्क पनि अगाडि आएको छ । तिहारका पाँच दिनको अर्थ : किन मनाइन्छ यमपञ्चक ? तिहार पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको अर्थ यमराजसँग सम्बन्धित पाँच दिन भन्ने हुन्छ । हरेक दिनको आफ्नै धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । पहिलो दिन : काग तिहार तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । हिन्दु धार्मिक मान्यतामा कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ । कागले मानिसलाई सूचना दिने, वातावरण सफा राख्न सहयोग गर्ने तथा प्रकृतिको पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि यसको सम्मान गरिएको मानिन्छ । कागलाई खाना चढाएर पूजा गर्ने परम्परा प्रकृति र जीवजन्तुप्रतिको सम्मानको प्रतीक हो । दोस्रो दिन : कुकुर तिहार तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई यमराजको द्वारपाल तथा रक्षकका रूपमा धार्मिक मान्यता दिइएको छ । कुकुरलाई फूलमाला लगाउने, टीका लगाइदिने र मीठो खानेकुरा खुवाउने गरिन्छ । यसले मानिस र जनावरबीचको सम्बन्ध तथा घरपरिवार र समाजको सुरक्षामा कुकुरको योगदानलाई सम्मान गर्छ । तेस्रो दिन : गाई तिहार तथा लक्ष्मीपूजा तिहारको तेस्रो दिन गाईको पूजा तथा साँझ लक्ष्मीपूजा गरिन्छ । हिन्दु धर्ममा गाईलाई लक्ष्मीको प्रतीक तथा मातृत्व र समृद्धिको स्रोत मानिन्छ । साँझ घर, पसल र कार्यालयमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरको आँगनदेखि पूजा कोठासम्म बत्ती बाल्ने, फूलमाला लगाउने र लक्ष्मीको स्वागतका लागि विशेष सजावट गर्ने परम्परा छ । यस दिनको विशेषता दीपावली अर्थात् उज्यालोको पर्व पनि हो । चौथो दिन : गोवर्धन पूजा, गोरु पूजा तथा म्हःपूजातिहारको चौथो दिन समुदायअनुसार विभिन्न पर्व मनाइन्छन् । कृषिमा गोरुको महत्वपूर्ण योगदान रहेकाले गोरुको पूजा गर्ने परम्परा छ । गोवर्धन पूजामा गोबरबाट गोवर्धन पर्वतको प्रतीक बनाएर पूजा गरिन्छ । यस्तै नेवार समुदायले यसै दिन म्हःपूजा अर्थात् आत्मपूजा मनाउँछन् । म्हःपूजाले मानिसको आफ्नै अस्तित्व, शरीर, मन र आत्माको सम्मान तथा आत्मशुद्धिको सन्देश दिन्छ । पाँचौँ दिन : भाइटीका तिहारको अन्तिम दिन भाइटीका हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली तथा सयपत्री फूलको माला लगाइदिन्छन् । दाजुभाइको दीर्घायु, स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार, दक्षिणा र मायाको प्रतीकस्वरूप विभिन्न सामग्री प्रदान गर्छन् । यो दिन केवल दाजुभाइको पूजा गर्ने धार्मिक विधि मात्र नभई पारिवारिक सम्बन्ध नवीकरण गर्ने अवसर पनि हो । भाइटीकामा लगाइने सप्तरङ्गी टीका अहिले नेपाली समाजको विशेष पहिचान बनेको छ । रातो, सेतो, पहेँलो, हरियो, नीलो लगायतका विभिन्न रङ प्रयोग गरी टीका बनाउने चलन छ । तर सप्तरङ्गी टीका नै प्राचीनकालदेखि अपरिवर्तित रूपमा चल्दै आएको हो भन्ने निश्चित ऐतिहासिक प्रमाण भने भेटिएको छैन । संस्कृतिविद्हरूका अनुसार विभिन्न समुदायमा भाइटीकाको विधि र स्वरूप फरक पाइन्छ । कतिपय समुदायमा सेतो चामलको टीकामा बेसार मिसाएर टीका लगाउने चलन थियो । तमु समुदायको परम्परागत भाइटीकाबारे डा. जगमान गुरुङले पनि चामलको सेतो टीका र बेसार मिसाइएको पहेँलो टीकाको अभ्यास उल्लेख गर्नुभएको छ । समयक्रममा सप्तरङ्गी टीकाले व्यापकता पाएको देखिन्छ । टीकाका रङलाई जीवनका विविध पक्ष, शुभकामना, समृद्धि र मंगलकामनाको प्रतीकका रूपमा व्याख्या गरिन्छ । मखमली र सयपत्री मालाको महत्वभाइटीकामा मखमली फूलको विशेष महत्व छ । मखमली फूल लामो समयसम्म नओइलाउने भएकाले यसलाई दाजुभाइको दीर्घायु र दिदीबहिनीको प्रेमको प्रतीक मानिन्छ । दाजुभाइलाई मखमलीको माला लगाइदिँदा सम्बन्ध पनि मखमली फूलझैँ कहिल्यै नओइलाओस् भन्ने कामना गरिएको गरिन्छ । त्यस्तै सयपत्री फूलको पहेँलो रङलाई शुभता, समृद्धि र उत्सवको प्रतीकका रूपमा लिइन्छ । फूलमाला, टीका, ओखर र विभिन्न परिकारले भाइटीकालाई विशिष्ट बनाएका छन् । ओखर फुटाउने परम्पराको अर्थ के हो ? भाइटीकामा दिदीबहिनीले दाजुभाइको पूजा गरेपछि ओखर फुटाउने चलन पनि छ । विशेषगरी बाहुन–क्षेत्री समुदायमा दाजुभाइको शत्रु नाश होस्, जीवनका बाधा र संकट हटून् भन्ने कामनासहित ओखर फुटाउने परम्परा रहेको पाइन्छ ।ओखरको कडा बोक्रालाई बाधा र अवरोधको प्रतीक तथा त्यसलाई फुटाउनुलाई संकटमाथिको विजयका रूपमा व्याख्या गरिन्छ । तर यस परम्पराको विधि र अर्थ समुदायअनुसार फरक रहेको छ । देउसी-भैलोको इतिहास : बलिराजाको सन्देश तिहारको अर्को महत्वपूर्ण सांस्कृतिक पक्ष देउसी–भैलो हो । देउसी र भैलो केवल मनोरञ्जनका कार्यक्रम होइनन् । यसमा लोकसंस्कृति, सामूहिकता, कृषि जीवन, दान र सामाजिक सम्बन्धका परम्परा जोडिएका छन् । देउसी खेल्दा ’हामी त्यसै आएका होइनौँ, बलिराजाले पठाएका’ भन्ने पंक्ति गाइन्छ । सामान्य धार्मिक व्याख्यामा बलिराजालाई पुराणमा उल्लेखित राजा बलिसँग जोड्ने गरिन्छ । तर इतिहासकार तथा संस्कृतिविद् डा. जगमान गुरुङले देउसीमा उल्लेख हुने बलिराजालाई नेपालको ऐतिहासिक पृष्ठभूमिसँग जोडेर व्याख्या गर्नुभएको छ । उहाँका अनुसार देउसीमा गाइने बलिराजा पुराणका राजा बलि नभई पश्चिम नेपालको ऐतिहासिक राज्य परम्परासँग सम्बन्धित पात्र हुन । उहाँले जुम्लाको सिंजा क्षेत्रका राजा बलिराजासँग देउसीको परम्परालाई जोड्नुभएको छ । त्यस्तै कतिपय इतिहास अध्येताले पाल्पाको बल्ढ्याङगढी क्षेत्रका मगर राजा बलि राना मगर अर्थात् बलिहाङसँग पनि देउसी–भैलोको उत्पत्तिलाई जोड्ने गरेका छन् । यस विषयमा इतिहासकारहरूबीच एकमत छैन । त्यसैले देउसी–भैलोको उत्पत्तिलाई एउटै राजासँग जोडेर अन्तिम निष्कर्ष निकाल्न सकिँदैन । तर यसले तिहारको इतिहास केवल पौराणिक कथामा सीमित नभई नेपालको स्थानीय इतिहास, लोकपरम्परा र सामुदायिक संस्कृतिसँग पनि जोडिएको देखाउँछ । तिहार र कृषि सभ्यता : पशुपूजादेखि प्रकृतिको सम्मानसम्म नेपाल परम्परागत रूपमा कृषि र पशुपालनमा आधारित समाज हो । खेतीपातीका लागि गोरु, दूधका लागि गाई, सुरक्षाका लागि कुकुर र वातावरणीय सन्तुलनका लागि चराचुरुङ्गीको योगदान महत्वपूर्ण रहँदै आएको छ । त्यसैले तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्परालाई कृषि तथा पशुपालन सभ्यताको सांस्कृतिक अभिव्यक्तिका रूपमा पनि बुझ्न सकिन्छ । इतिहासका प्राध्यापक मुकुन्दराज अर्यालले तिहारलाई कृषि चक्रसँग जोडेर व्याख्या गर्नुभएको छ । बाली भित्र्याइसकेपछि किसानसँग केही फुर्सद हुने र मौसम पनि अनुकूल हुने भएकाले यस समय पर्व मनाउने सामाजिक आधार बनेको उहाँको व्याख्या छ । यस दृष्टिकोणले तिहारलाई धार्मिक आस्थाका अतिरिक्त कृषि उत्पादन, प्रकृति र जीवजन्तुप्रतिको कृतज्ञताको पर्वका रूपमा पनि बुझ्न सकिन्छ । के भाइटीका नेपालकै मौलिक पर्व हो ? भारतमा दीपावली व्यापक रूपमा मनाइन्छ । त्यहाँ पनि कात्तिक शुक्ल द्वितीयाका दिन भाइदूज, भाऊबीज, भाइफोटा र यमद्वितीया मनाउने परम्परा छ । नेपालमा भने यस दिनलाई भाइटीका भनिन्छ । भारतका विभिन्न क्षेत्रमा भाइदूज तथा भाइफोटाका रूपमा मनाइने पर्व र नेपालको भाइटीकाबीच धार्मिक तथा सांस्कृतिक समानता छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने, भोजन गराउने र दीर्घायुको कामना गर्ने परम्परा दुवैतर्फ पाइन्छ । तर नेपालमा भाइटीका पाँचदिने तिहारको अन्तिम दिनका रूपमा विशेष सांस्कृतिक महत्वका साथ स्थापित भएको छ । नेपालका विभिन्न समुदायले यसलाई आ–आफ्नै परम्परा र विधिअनुसार मनाउँदै आएका छन् । त्यसैले भाइटीकालाई नेपालको सांस्कृतिक पहिचानको महत्वपूर्ण अंग मान्न सकिन्छ । तर यसलाई संसारका अन्य कुनै समाजमा नभएको पूर्णतः एक्लो परम्परा भन्नु ऐतिहासिक रूपमा सही नहुन सक्छ । तथ्यका आधारमा तिहार केवल बत्ती बाल्ने, फूलमाला लगाउने र टीका थाप्ने पर्व होइन । यो मानव सभ्यताको विकास, पारिवारिक सम्बन्धको मर्यादा, कृषि जीवन, प्रकृतिप्रतिको सम्मान र सामाजिक आत्मीयताको लामो सांस्कृतिक यात्राको अभिव्यक्ति हो भन्ने निश्कर्ष निकाल्न सकिन्छ । डा. जगमान गुरुङको व्याख्याले तिहारको एउटा गहिरो वैचारिक पाटो उजागर गरेको छ डा. जगमानको व्याख्याले उठाएको मूल प्रश्न डा. जगमान गुरुङको व्याख्याको मूल सन्देश दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई यौन आकर्षणभन्दा माथि राखेर पवित्र, मर्यादित र पारिवारिक प्रेमको सम्बन्धका रूपमा स्थापित गर्नु हो । ऋग्वेदको यम–यमी संवादमा बहिनीले दाजुसँग वैवाहिक सम्बन्धको प्रस्ताव राख्नु र दाजुले त्यसलाई अस्वीकार गर्नु उहाँका लागि मानव सभ्यताको नैतिक विकासको महत्वपूर्ण उदाहरण हो । उहाँले भाइटीकालाई यही नैतिक चेतनाको सांस्कृतिक प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ । यद्यपि इतिहास र मानवशास्त्रको दृष्टिले भाइटीका यही उद्देश्यले सुरु भएको हो भन्ने निष्कर्षमा पुग्न पर्याप्त प्रमाण छैन । ऋग्वेदको यम-यमी संवादले प्राचीन वैदिक साहित्यमा नातासम्बन्धको मर्यादाबारे बहश रहेको देखाए पनि भाइटीकाको उत्पत्तिसँग त्यसको प्रत्यक्ष ऐतिहासिक सम्बन्ध प्रमाणित गर्दैन । त्यसैगरी यमराज र यमुनाको पौराणिक कथा भाइटीकाको धार्मिक आधार हो । यसको विकास कुन कालखण्डमा भयो भन्ने विषयमा थप शास्त्रीय, अभिलेखीय र सांस्कृतिक अनुसन्धान आवश्यक छ । माथि उल्लेखिम तथ्यका आधारमा तिहार केवल बत्ती बाल्ने, फूलमाला लगाउने र टीका थाप्ने पर्व होइन । यो मानव सभ्यताको विकास, पारिवारिक सम्बन्धको मर्यादा, कृषि जीवन, प्रकृतिप्रतिको सम्मान र सामाजिक आत्मीयताको लामो सांस्कृतिक यात्राको अभिव्यक्ति हो भन्ने निश्कर्ष निकाल्न सकिन्छ । डा. जगमान गुरुङको व्याख्याले तिहारको एउटा गहिरो वैचारिक पाटो उजागर गरेको छ । उहाँको तर्कसँग सबै इतिहासकार सहमत हुन आवश्यक छैन, तर ऋग्वेदको यम-यमी संवाद र भाइटीकाको सांस्कृतिक अर्थमाथि थप अध्ययन र बहशका लागि यसले महत्वपूर्ण आधार प्रस्तुत गरेको छ। आज दिदीबहिनीले दाजुभाइलाई लगाइदिने टीका केवल एउटा धार्मिक चिह्न होइन, सम्बन्धको मर्यादा, विश्वास, माया र जिम्मेवारीको प्रतीक हो । यही मानवीय मूल्य नै भाइटीकाको सबैभन्दा महत्वपूर्ण सन्देश हो । डा. जगमानको बिचार यही अर्थमा भने प्रमाणिक तथ्य बनेर इतिहासमा सदा छाइरहने छ । सन्दर्भ सामग्री कान्तिपुर : तिहार विशेष युगको प्रतीक, डा. जगमान गुरुङ -यम–यमी र भाइटीकासम्बन्धी मूल व्याख्या। रातोपाटी : यमपञ्चक अर्थात् तिहारका पाँच दिन -तिहारको सामाजिक, ऐतिहासिक र वैदिक पक्षबारे गुरुङको विस्तृत लेख।वैज्ञानिक अनुसन्धान : ऋग्वेद १०.१० मा यमी र यमको संवाद-यम–यमी आख्यानको शैक्षिक अध्ययन। नेपाल पर्यटन बोर्ड : तिहारको पाँचदिने सांस्कृतिक परिचय-तिहारका दिन र परम्पराको आधिकारिक परिचय। कान्तिपुर : भाइटीकाको सांस्कृतिक सौन्दर्य-भाइटीकाको धार्मिक र सांस्कृतिक विधिबारे थप विवरण। रिपब्लिका: यमपञ्चकको अर्थ र सांस्कृतिक पृष्ठभूमि-कृषि सभ्यता र तिहारको सम्बन्ध। जनताटाइम्स : भाइटीकाअघि दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध कायम हुन्थ्यो-डा. जगमान गुरुङ जनताटाइम्स : त्यसपछि भाइटीकाको प्रचलन सुरु भयो-डा. जगमान गुरुङ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भाइटीकामा प्रधानमन्त्रीको शुभकामना, भने- प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनोस्
PoliticsJust now

भाइटीकामा प्रधानमन्त्रीको शुभकामना, भने- प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनोस्

प्रधानमन्त्री बालेन शाहले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यमपञ्चकको अन्तिम दिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन्। पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको र यमुनाले दाजुलाई विधिपूर्वक टीका तथा पूजा ...

फरकधार
आज भाइटीका, उत्तम साइत बिहान ११.०७ बजे
PoliticsJust now

आज भाइटीका, उत्तम साइत बिहान ११.०७ बजे

काठमाडौं, कात्तिक २५ । नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिएर भाइटीका मनाउने परम्परा छ। धार्मिक मान्यताअनुसार यस ...

जनताटाइम्स
शंकर पोखरेलको प्रश्न : अर्थतन्त्र सुधार्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली व्यक्तिको सूचीमा पर्नु खुसी कि व्यङ्ग्य ?
Politics7h ago

शंकर पोखरेलको प्रश्न : अर्थतन्त्र सुधार्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली व्यक्तिको सूचीमा पर्नु खुसी कि व्यङ्ग्य ?

काठमाडौं, कात्तिक २४ । मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको र आर्थिक सुधारको अपेक्षाअनुरूप परिणाम देखिन नसकेको अवस्थामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ का १०० प्रभावशाली जलवायु व्यक्तित्वको सूचीमा समेटिनुभएको विषयलाई लिएर राजनीतिक वृत्तमा बहस सुरु भएको छ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त अन्तर्राष्ट्रिय पहिचानप्रति टिप्पणी गर्दै यसलाई नेपाली जनताका लागि खुसीको विषय मान्ने ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play