काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समितिमा नयाँ एटिएम टर्मिनल सञ्चालनमा ल्याएको छ। साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाल पुस्तकालय स्थापनाका लागि आवश्यक सामग्री सहयोग गरेको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले नयाँ एटिएम टर्मिनलको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख सुशील राज श्रेष्ठलगायत बैंक तथा गुरुद्वाराका पदाधिकारीहरूको उपस्थिति थियो। श्रद्धालु, स्थानीय बासिन्दा तथा बैंकका ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एटिएम टर्मिनल सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। नयाँ टर्मिनलबाट सेवाग्राहीलाई थप सुविधा पुग्ने अपेक्षा बैंकको छ। यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले गुरुद्वारा परिसरमा बाल पुस्तकालय स्थापना गर्न आवश्यक सामग्री सहयोग गरेको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत तिवारीले एक कार्यक्रमबीच समितिका अध्यक्ष सिंहलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो। बैंकले शिक्षा प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा समुदायस्तरमा सामाजिक गतिविधिलाई सहयोग गर्दै आएको जनाएको छ। नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
कुपण्डोल गुरुद्वारामा एसबिआई बैंककाे एटिएम सञ्चालन र बाल पुस्तकालय स्थापनामा सहयोग

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






