किन सुटुक्क चीन पुगे कोरियाली नेता किम जोङ उन ?

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ उन एक वर्षपछि चीन पुगेका छन्। दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार शनिबार किम चीनको सीमावर्ती सहर दान्दोङ पुगेका हुन् । चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुल पार गरेर उनी चीन प्रवेश गरेको बताइएको छ । यद्यपि, भ्रमणबारे चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले तत्काल औपचारिक पुष्टि गरेका थिएनन्। करिब तीन किलोमिटर लामो यो पुल अक्टोबर २०२६ मा सञ्चालनमा आएको हो। सन् २०१४ मै निर्माण सम्पन्न भए पनि जोड्ने सडक र भन्सार सुविधालगायतका कारण यसको सञ्चालन लामो समय रोकिएको थियो। यो पुललाई दुई देशबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। यसबाट कन्टेनर, भारी मालवाहक ट्रक तथा अन्य सामानको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। चीन उत्तर कोरियाको परम्परागत प्रमुख सहयोगी तथा आर्थिक साझेदार हो। उत्तर कोरियाको व्यापारमा चीनको ठूलो हिस्सा छ भने कूटनीतिक र आर्थिक सहयोगका हिसाबले पनि बेइजिङ प्योङयाङका लागि महत्त्वपूर्ण छ। पछिल्ला वर्षहरूमा किमले रुससँगको सम्बन्धलाई प्राथमिकता दिएका थिए। सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि उत्तर कोरियाले मस्कोलाई सैनिक तथा परम्परागत हतियारमार्फत सहयोग गरेको विवरण सार्वजनिक भएका छन्। त्यसको बदलामा उत्तर कोरियाले आर्थिक तथा सैन्य सहयोग पाएको हुन सक्ने विश्लेषण गरिएको छ। रुससँगको निकटता बढाए पनि किमले पछिल्लो समय चीनसँगको सम्बन्धलाई पुनः सुदृढ बनाउने प्रयास गरिरहेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२६ को जुनमा उत्तर कोरियाको राजधानी प्योङयाङ भ्रमण गरी किमसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा व्यापार, कृषि, निर्माण र प्रविधिसहितका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। किमले चीनसँगको सम्बन्धलाई आफ्नो देशको प्रमुख रणनीतिक प्राथमिकतामध्ये एक बताएका थिए। किमले सन् २०११ को अन्त्यमा आफ्ना पिता किम जोङ इलको निधनपछि सत्ता सम्हालेयता चीनको यो छैटौँ भ्रमण हो। यसअघि उनी सन् २०२५ को सेप्टेम्बरमा बेइजिङ पुगेका थिए। त्यतिबेला उनले सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै सैन्य परेड अवलोकन गरेका थिए। कोरियाली युद्धको वार्षिकोत्सवसँग जोडिएको भ्रमण किमको चीन भ्रमण अक्टोबर २५ मा मनाइने कोरियाली युद्धमा चीनको प्रवेशसम्बन्धी वार्षिकोत्सवको पूर्वसन्ध्यामा भएको छ। सन् १९५० मा चिनियाँ सेना यालु नदी पार गर्दै उत्तर कोरियाको समर्थनमा युद्धमा प्रवेश गरेको थियो। कोरियाली युद्ध सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेपछि सुरु भएको थियो। त्यसपछि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा अमेरिकासहितको गठबन्धन दक्षिण कोरियाको समर्थनमा युद्धमा सहभागी भएको थियो। उत्तर कोरियालाई चीनले मुख्य रूपमा सहयोग गरेको थियो भने तत्कालीन सोभियत सङ्घको वायुसेनाले पनि साथ दिएको थियो। सन् १९५३ मा युद्धविराम भएपछि प्रत्यक्ष युद्ध रोकिए पनि दुवै कोरियाबीच औपचारिक शान्ति सम्झौता भएको छैन। त्यसैले प्राविधिक रूपमा कोरियाली प्रायद्वीप अझै युद्धकै अवस्थामा रहेको मानिन्छ। अमेरिका–उत्तर कोरिया वार्ताको सम्भावना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग पुनः कूटनीतिक वार्ता सुरु गर्ने इच्छा देखाउँदै आएका छन्। तर सन् २०१९ मा वार्ता अवरुद्ध भएपछि किमले अहिलेसम्म अमेरिकी प्रस्ताव स्वीकार गरेका छैनन्। प्योङयाङले अमेरिकाले आफूविरुद्धको शत्रुतापूर्ण नीति त्याग्नुपर्ने र वार्ताका लागि आणविक निशस्त्रीकरणलाई पूर्वसर्त बनाउन नहुने माग गर्दै आएको छ। दक्षिण कोरियाको गुप्तचर निकायले गत महिना सांसदहरूलाई जानकारी दिँदै नोभेम्बरमा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा ट्रम्प र किमबीच भेटवार्ता हुने सम्भावना रहेको जनाएको थियो। तर पछिल्ला विवरणअनुसार यसै वर्ष त्यस्तो भेट हुने सम्भावना कमजोर देखिएको अधिकारीहरूको आंकलन छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
काठमाडौँ, कात्तिक ७ गते । दसैँको अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्... ...
![उपत्यकामा दशैँ मनाएर फर्किने बढ्दै, प्रमुख नाकाहरूमा सवारी चाप [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/back-to-kathmandu-83-7-7%20(8).jpg)
उपत्यकामा दशैँ मनाएर फर्किने बढ्दै, प्रमुख नाकाहरूमा सवारी चाप [फोटोफिचर]
दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । ...

फिफा अध्यक्ष इन्फान्टिनोले भने– विश्व फुटबलको बहुमतको समर्थन मलाई छ
काठमाडौँ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको ठुलो बहुमतको समर्थन आफूलाई रहेको दाबी गरेका छन् । बीबीसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा इन्फान्टिनोले फिफामा फरक विचार हुनु स्वाभाविक भएको भन्दै सबैको मत र विचारको... ...

बेनी–जोमसोम सडक खुलेसँगै मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
• दशैंदेखि मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै गएको छ, विशेष गरी बेनी-जोमसोम सडकमार्ग खुल्न थालेपछि। • दशैंको १० दिनको अवधिमा पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका छन्, जसमा ७७.८५ प्रतिशत विदेशी पर्यटक रहेका छन्। • धार्मिक र ऐतिहासिक स्थलहरूको आकर्षणले मुस्ताङमा आगामी दशैं-तिहार र छठ पर्वमा पर्यटकको उपस्थिति वृद्धि हुने अपेक्षा गरिएको छ। ...


