काराबाओ कप : लिभरपुल र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

लण्डन । इंग्लिस लिग (काराबाओ कप)अन्तर्गत चौथो चरणका रोमाञ्चक खेलहरूमा चेल्सी र ब्राइटनलाई पराजित गर्दै लिभरपुल र म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको ४०औँ मिनेटमा मोर्गन रोजर्सले पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई अग्रता दिलाउनुभएको थियो । तर, पहिलो हाफको इन्जुरी समयअघि कोडी गाक्पोले पनि पेनाल्टीमार्फत् नै गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काउनुभयो । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । त्यसपछि भएको पेनाल्टी सुटआउटमा लिभरपुलका कोस्टास सिमिकास र रायन ग्राभेनबर्च गोल गर्न चुके पनि गोलरक्षक जिओर्गी मामार्दासभिलीले इमानुएल एमेघाको प्रहार बचाउनुभयो । त्यसपश्चात् जो गोमेजले निर्णायक गोल गर्नुभयो भने चेल्सीका वेस्ली फोफानाको प्रहार बारमाथिबाट बाहिरियो । चेल्सीमाथि लिभरपुलको पेनाल्टी सुटआउटमा यो लगातार पाँचौँ जित हो । १० पटकको लिग कप विजेता लिभरपुलले अब क्वाटरफाइनलमा बर्नमाउथको सामना गर्नेछ र यो खेल पनि घरेलु मैदानमै हुनेछ । अर्को खेलमा गोलरक्षक जेरोनिमो रुल्लीले पेनाल्टी सुटआउटमा दुई उत्कृष्ट बचाउ गरेपछि म्यानचेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा ब्राइटनसँगको निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । खेलको ३०औँ मिनेटमा जर्जिनियो रुटरको क्रसमा मालिक याल्कुएलले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा माटेओ कोभाचिचले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै रुटरले जाउएन हाजामको पासमा गोल गर्दै ब्राइटनलाई फेरि २-१ ले अगाडि बढाउनुभयो । खेलको ६२औँ मिनेटमा रयान चेर्कीको फ्रिकिकमा भिटर रेसले हेडमार्फत् गोल गर्दै सिटीलाई पुनः २-२ को बराबरीमा पुर्याउनुभयो । निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा सिटीका गोलरक्षक रुल्लीले यासिन आयारी र लुइस डंकको प्रहार उत्कृष्ट ढंगले बचाउँदै टिमलाई जित दिलाउनुभयो । अब सिटीले अन्तिम आठमा लिग वान क्लब ब्राडफोर्ड सिटीसँग खेल्नेछ । काराबाओ कपको चौथो चरणका अन्य खेलहरूमा बर्नमाउथ, क्रिस्टल प्यालेस र सण्डरल्याण्डले पनि आ-आफ्नो खेलमा जित निकाल्दै प्रतियोगिताको अन्तिम आठ (क्वाटरफाइनल) मा आफ्नो स्थान सुरक्षित गरेका छन् । एजेन्सी
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पौष्टिक पेयको विकल्प होइन ‘इनर्जी ड्रिङ्क्स’
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १३ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘इनर्जी ड्रिङ्क्स’ लाई पानी, जुस, दुध, वा मोही जस्ता पौष्टिक पेय पदार्थको विकल्पमा पिउन नहुने... ...

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल
कास्की। पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय लगानी वृद्धि तथा पर्यटन, सूचना प्रविधि र व्यापारका क्षेत्रमा सहकार्यका बारेमा छलफल भएको छ। थाइल्यान्डको उद्योग मन्त्रालयका सल्लाहकार दीपेन्द्र देसार नेतृत्वको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफल तथा अन्तरक्रियामा द्विपक्षीय सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो। थाइल्यान्डमा लामो समयदेखि बस्दै आउनुभएका नेपालीमूलका देसार सूचना प्रविधि, पर्यटन तथा ...

क्षतिको पूर्ण प्रतिवेदन तिहारअघि नै सार्वजनिक हुने, पुनर्निर्माणमा ७ खर्ब लाग्ने अनुमान
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण तिहारअघि नै सार्वजनिक गर्ने सरकारको तयारी छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले... ...

चाडपर्व खर्च नदिनेविरुद्ध उजुरी कारबाहीको चेतावनीपछि भुक्तानी
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक १३ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वर्षमा एक पटक चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएसँग... ...


