प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्। उनले कांग्रेसका सभापति गगन थापालगायत अन्य ब्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने विषय सार्वजनिक भएको र यो सामान्य विषय नभएको बताएका छन्। सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएको आङ्देम्बेले बताएका छन्। अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको उनले स्पष्ट पारेका छन्। प्रधानमन्त्रीबाट यसको स्पष्ट जवाफ आउने अपेक्षा कमै रहेको उल्लेख गर्दै आङ्देम्बेले सरकारमाथि प्रश्नसमेत उठाएका छन्। ‘प्रधानमन्त्रीज्यूबाट यसको स्पष्ट जवाफ आउँछ भन्ने अपेक्षा कमै छ। तैपनि प्रश्न गर्न चाहन्छु – सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ? यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो। सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ’, आङ्देम्बेले भनेका छन्। लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको उनको भनाइ छ। ‘सरकार क्षणिक सनकमा होइन, संविधान र विधिको शासनमा चल्नुपर्छ भन्ने विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु’ उनले भनेका छन्। सापकोटाको जीवन रक्षाको माग गर्दै शुक्रबार उनकी पत्नी कविता पाण्डेले मानव अधिकार आयोगमा निवेदन दिएकी थिइन्। निवदेनमा प्रहरीले असोज १४ देखि १५ गते साँझसम्म नियन्त्रणमा राखेर पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङ र हिमालय होटलका नवीन तुलाधर सहित केही व्यक्तिविरूद्ध बयान दिन दबाब दिएको उल्लेख छ। ती व्यक्तिहरूविरूद्ध प्रमाण र बयान दिए छाडिदिने भन्दै प्रहरीले आफू र आफ्नो परिवारलाई समेत ज्यानको खतरा हुने धम्की दिएको निवेदनमा उल्लेख छ।
कांग्रेसले माग्यो इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति

Read Complete Original Article
Published originally on पर्दाफास






