कांग्रेसमा टिकट वितरण आन्तरिक प्रतिस्पर्धामार्फत

काठमाडौं । राजनीतिक दलहरू आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । निर्वाचन आयोगको स्थानीय तह चुनावको मिति तोकेको छैन । संविधानतः आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन गरिसक्नु पर्नेछ । आयोगले चुनावको मिति तोक्न बाँकी भए पनि राजनीतिक दलहरू भने निर्वाचनको तयारीमा जुटिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा पहिले स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । रास्वपाले ७५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उम्मेदवारी मनोनयनका लागि क्याण्डिडेट क्लबमार्फत आवेदन मागेको छ । दशैँलगत्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दुईमहिने राजनीतिक अभियान सुरु गरेको छ । गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा कमजोर जनमत पाएको नेकपाले आगामी स्थानीय र प्रदेश सभाको निर्वाचनमा विगतको जनमत जोगाउने उद्देश्यले ‘जागरण अभियान’ सुरु गरेको जनाएको छ । आन्तरिक विवादका बीच दशैँ अगाडि मात्रै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस पनि अब आसन्न स्थानीय तह चुनावको तयारीमा जुटेको छ । कांग्रेसले यसपटक डिजिटल मतदानबाट स्थानीय तहका उम्मेदवार चयन गर्ने तयारी गरेको छ । पार्टीका सदस्यहरूले डिजिटल मतदान गरी उम्मेदवार तय गर्ने विधानमा गरिएको व्यवस्थालाई आसन्न स्थानीय तह चुनावबाटै व्यवहारमा लागू गर्ने कांग्रेसको तयारी छ । सुरुमा उम्मेदवारको प्रारम्भिक सूची तयार पारिने र त्यसपछि विभिन्न तहमा छलफल गरेर अन्तिम उम्मेदवार तय गर्ने कांग्रेसले जनाएको छ । निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने प्रवृत्ति अन्त्य गर्छौं : सभापति थापाकांग्रेस सभापति गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताउनुभएको छ । स्याङ्जामा सोमबार आयोजित एक कार्यक्रममा उहाँले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति अन्त्य गरेर तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने जानकारी दिँदै भन्नुभयो, ‘यो पटक हामी पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिन अगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने, यी केही पनि कुराहरू हुँदैन । उम्मेदवारहरूको प्रारम्भिक काम पुस-माघमा टुंग्याउँछौँ ।’ डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गर्ने जानकारी दिँदै थापाले भन्नुभयो, ‘सूची तयार गरेपछि पनि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउँछौँ । उम्मेदवार बनाउने कुरा हामीले दुई–तीन महिना अगाडि टुंग्याउनुपर्छ । मंसिरको महिना एउटा जागरणको समय बनाऔँ । केन्द्रीय कार्यसमितिको बैठकबाट एउटा कार्यक्रम बनाउँदै छौँ । त्यसपछि पुस र माघको समय हामी चुनाव केन्द्रित कामहरू गर्छौं ।’ गुमाएको विश्वास फर्काउने काममा लाग्न निर्देशनसभापति थापाले आगामी मंसिर महिनालाई जागरणको महिना बनाउन नेता/कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अहिले संगठनलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्ध सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । कांग्रेसले गुमाएको मतभन्दा पनि विश्वास पुनःस्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, ‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो । विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ । जनताको विश्वास पुनःस्थापित गर्न संगठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन् ।’ कांग्रेसले आफ्नो छवि र जनतामा बनेको धारणाको समीक्षा गर्दै विश्वास गुम्नुका आन्तरिक तथा बाह्य कारण पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । आन्तरिक प्रतिस्पर्धामा हार्नेलाई क्षमता अनुसारको जिम्मेवारी दिने घोषणासभापति थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई पनि समेटेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने दाबी गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्ने उहाँको भनाइ छ । कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्नुभएका थापाले केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा र क्षेत्रदेखि विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका साथीहरूलाई पनि अन्य जिम्मेवारी दिएर सक्रिय बनाउने स्पष्ट पार्दै भन्नुभयो, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन । हामी सबै समान हैसियत राख्छौँ । मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन । क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रमा जिम्मेवारी प्राप्त गर्न नसकेका कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन राख्ने परिपाटीको अन्त्य हुन्छ । पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ ।’ कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले काम गर्नुपर्ने उहाँको भनाइ छ । कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेलनेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको जिकिर गर्नुभएको छ । तनहुँमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री पौडेलले अझै पनि जनतामा कांग्रेसप्रति अपार माया र विश्वास रहेको दाबी गर्दै राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीको मात्रै विषयमा अल्झिन नहुने बताउनुभएको हो । महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको दाबी गर्नुभएका पौडेलले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको जिकिर गर्नुभयो । आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको दाबीसमेत गर्नुभएको छ । सरकारलाई नेता केसीको चेतावनी : ‘निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ’नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार गठन भएको सात महिना पार हुँदा पनि नेतृत्वको फेरबदलले आम नागरिकको दैनिक जीवनमा कुनै परिणाममुखी र सार्थक परिवर्तन ल्याउन नसकेको टिप्पणी गर्नुभएको छ । आम नागरिकले चाडपर्वको उत्सवको उल्लासभन्दा पनि महँगी, बेथिति र राजनीतिक उदासीनताको कालो छाया अनुभव गरिरहेको टिप्पणी गर्दै नेता केसीले भन्नुभयो, ‘वर्तमान सरकारका गतिविधिप्रति जनतामा आक्रोश त होइन, व्यापक निराशा बढेको छ । निराशा आक्रोशमा कुनै पनि बेला बदलिन सक्छ भन्ने हेक्का सत्तारूढहरूमा हुनु जरुरी छ । दशैँ–तिहार र छठजस्ता महान् चाडपर्वका बेला आम उपभोक्ताले महसुस गर्नेगरी बजार नियन्त्रण गर्न सरकार पूर्णरूपमा असफल भएको छ ।’ अचाक्ली मूल्यवृद्धिका कारण मध्यमवर्गीय तथा विपन्न परिवारको चाडपर्व खल्लो बन्न पुगेको उल्लेख गर्दै नेता केसीले भन्नुभयो, ‘जेन–जी आन्दोलनको भावना र मर्म तथा निर्वाचनबाट प्राप्त अत्यधिक बहुमतलाई आत्मसात् गर्दै राज्य सञ्चालनको शैली बदल्नुपर्नेमा पुरानै प्रवृत्ति, राजनीतिक पूर्वाग्रह र संस्कारलाई निरन्तरता दिइएको देखिन्छ । राजनीतिक नेतृत्व फेरिए पनि कार्यशैलीमा देखिएको यथास्थितिवादले जनआकांक्षामा गहिरो ठेस पुर्याएको छ ।’ नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबारनेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचित सभापति बाहेकका पदाधिकारी र सदस्यहरूको शपथग्रहण समारोह बिहीबार गर्ने भएको हो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा शपथग्रहण समारोह आयोजना गरिने जानकारी दिनुभएको छ । निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरेर महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथग्रहण समारोह उपस्थितिका लागि निमन्त्रणा गरेको छ । १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातिका दिन शपथग्रहण र पदबहाली गर्नुभएको थियो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् । ‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को ...

आज पनि केही सडक अवरुद्ध
काठमाडौं । वर्षासँगैको बाढी-पहिरो र सडक कटानको कारण आज (मंगलबार)पनि देशका केही सडक अवरुद्ध छन्। केही राजमार्गमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। बाढीको कारण गोरखाको आरुघाटमा राजमार्ग पूर्ण रूपमा अरुद्ध छ। सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट दादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। त्यसैगरी आरुघाट( ९ नयाँ पुलमा पनि बाढीको कारण गोरखा आरुघाटबाट दादिङ ...

ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड
• इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन्, जसले उनलाई २००१ पछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनाएको छ। • स्पेनकी एलेक्सिया पुटेलासले महिलातर्फ तेस्रो पटक बालोन डी’ओर जितेकी छन्, जसले उनलाई तीन पटक यो अवार्ड जित्ने स्पेनी खेलाडी आइताना बोनमतीको बराबरीमा पुर्याएको छ। • बालोन डी’ओर समारोह लन्डनस्थित प्यालाडियममा आयोजना गरिएको थियो, ...

सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ
जनकपुरधाम । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् । पक्राउ... ...


