कलाकारकाे दसैँ: पर्दामा खुसी बाँड्नेहरू आफ्नाे जीवनमा कसरी मनाउँछन् चाड ?
काठमाडौं । नेपालीहरुको महान चाड बडादसैँ सुरु भएसँगै नेपाली कलाकारहरु पनि आ–आफ्नै शैलीमा चाडपर्व मनाउने तयारीमा जुटेका छन्। कोही जन्मघर फर्किएर परिवारसँग टीका र आशीर्वाद थाप्ने योजनामा छन् भने कोही व्यस्त कार्यतालिकाका कारण आफ्नै टिमसँग दसैँ मनाउँदै छन्। देशमा देखिएका विपद् र विभिन्न परिवारको दुःखलाई मध्यनजर गर्दै केही कलाकारले भने यस वर्षको दसैँ सामान्य रुपमा मनाउने वा नमनाउने सोच बनाएका छन्। केन्द्रबिन्दुसँगको कुराकानीमा कलाकारहरुले दसैँको महत्व,पारिवारक भेटघाट,चाडपर्वमा हुने खर्च र यस वर्षका आफ्ना योजनाबारे धारणा व्यक्त गरेका छन्। दिपाश्री निरौलाः जन्मघर विराटनगर जाँदै नेपाली चलचित्र क्षेत्रकी चर्चित निर्माता एवं कलाकार दीपाश्री निरौलाले यस वर्षको बडादशैं आफ्नै जन्मघर विराटनगर पुगेर मनाउने योजना बनाएकी छन्। उनले बुबाको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने तयारी गरेकी छन् । समय र पुस्तासँगै दसैँ मनाउने शैलीमा परिवर्तन आए पनि चाडपर्वको वास्तविक महत्व भने ठूलाबडाबाट आशीर्वाद लिनु र परिवारसँग खुसी साट्नु नै रहेको उनको भनाइ छ। दसैँको टीका र आशिर्वादले आफूमा सकारात्मक ऊर्जा थप्ने तथा आगामी दिनमा अझ उत्साहका साथ काम गर्न प्रेरणा दिने उनले बताएकी छन्। चलचित्रको प्रसङ्गमा उनले फूलपातीको अवसरमा आफ्नो चलचित्र ‘छ माया छपक्कै–२’ प्रदर्शन हुन लागेको र आगामी कात्तिक २० गते ‘पाँच पाण्डव’ पनि दर्शकमाझ आउने जानकारी दिएकी छन्। उनले सम्पूर्ण दर्शक तथा शुभचिन्तकलाई विजया दशमीको शुभकामना दिँदै नेपाली चलचित्रलाई माया गरेर हलसम्म पुग्न आग्रह गरेकी छन्। जितु नेपालः परिवारसँग सामान्य रुपमा दसैँ मनाउँदै हास्य कलाकार तथा अभिनेता जितु नेपालले यस वर्षको बडादसैँ विगतको भन्दा सामान्य रुपमा मनाउने बताएका छन् । हाल चलचित्र ‘पाँच पाण्डव’ को प्रचारप्रसार तथा ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा सक्रिय उनी देशको परिस्थितिलाई मध्यनजर गर्दै तडकभडक नगरी परिवारसँग समय बिताउने योजनामा छन्। उनका अनुसार यस वर्ष घरमै बसेर खाने, पिउने र आफन्तसँग भेटघाट गर्दै दसैँ मनाउने सोच छ। विगतमा दसैँ आउँदा हुने रौनक र उत्साह अहिले केही परिवर्तन भएको महसुस गरे पनि टीका लगाउने तथा ठूलाबडाबाट आशीर्वाद लिने परम्पराको महत्व भने सधैं विशेष रहने उनको भनाइ छ। चलचित्र ‘पाँच पाण्डव’ मा आफूले भीमको फरक चरित्रमा अभिनय गरेको जानकारी दिँदै उनले सुरुवातमा भूमिका सुन्दा अचम्म लागेको भए पनि निर्देशक तथा टिमसँग काम गर्दा राम्रो अनुभव भएको बताएका छन्। हरिवंश आचार्यको आग्रहः तडकभडक होइन, परम्परा जोगाऔँ वरिष्ठ हास्य कलाकार तथा अभिनेता हरिवंश आचार्यले यस वर्षको दसैँ सामान्य र मर्यादित रूपमा मनाउन आग्रह गरेका छन्। देशमा प्राकृतिक विपत्ति र दुःखद परिस्थितिहरू रहेकाले चाडपर्व मनाउँदा अरूको पीडालाई पनि सम्झनुपर्ने उनको भनाइ छ। आचार्यका अनुसार अहिले कतै उत्सव र रमाइलो भइरहँदा कतै मानिसहरू दुःखमा छन्। यस्तो अवस्थामा अनावश्यक भोजभतेर र फजुल खर्च गर्नुभन्दा आफ्नो धर्म, संस्कृति र परम्परालाई जोगाउँदै टीका तथा जमरा लगाएर दशैं मनाउनु उपयुक्त हुन्छ। उनले सबैलाई आफ्नो आर्थिक अवस्था र क्षमताअनुसार चाडपर्व मनाउन आग्रह गरेका छन्। देखासिकी र तडकभडकभन्दा मौलिक परम्पराको संरक्षण अहिलेको आवश्यकता रहेको उनको धारणा छ। भरतमणी पौडेलले यसपटक दसैँ नमनाउने ‘कमेडी नाइट्स विथ च्याम्पियन’ का कलाकार तथा प्रस्तुतकर्ता भरतमनी पौडेलले यस वर्षको बडादसैँ नमनाउने सोच बनाएका छन्। देशमा गएको बाढीपहिरो तथा अन्य विपद्का कारण धेरै परिवार दुःखमा रहेकाले आफूले पनि यसपटक दशैं नमनाउने निर्णय गरेको उनले बताएका छन्। कार्यव्यस्तताका कारण उनी अहिले ‘कमेडी नाइट्स विथ च्याम्पियन’ मार्फत दर्शकलाई मनोरञ्जन दिन सक्रिय छन्। दसैँ सामान्यतया मान्यजनबाट टीका तथा आशीर्वाद लिने र परिवारसँग खुसी साट्ने पर्व भए पनि यस वर्षको परिस्थितिले आफूलाई फरक निर्णय लिन प्रेरित गरेको उनको भनाइ छ। उनले दर्शक तथा शुभचिन्तकलाई आफ्नो आर्थिक अवस्थाअनुसार सामान्य रूपमा चाडपर्व मनाउन र अनावश्यक खर्च नगर्न आग्रह गरेका छन्। कैलाश कार्कीको दसैँ, सादगी र आपसी खुसी हास्य कलाकार कैलाश कार्कीले यस वर्ष पनि सधैंझैँ सरल र सादगीपूर्ण तरिकाले दसैँ मनाउने बताएका छन्। पछिल्लो समय युट्युब तथा विभिन्न सांगीतिक र हास्यव्यङ्ग्य प्रस्तुतिमा व्यस्त रहँदै आएका कार्कीका अनुसार चाडपर्व तडकभडक गर्ने अवसरभन्दा पनि आपसी खुसी साटासाट गर्ने समय हो। दशैंको अवसरमा आफ्ना कार्यक्रममार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन दिन आफूले निरन्तर प्रयास गरिरहेको उनले बताएका छन्। उनले बडादशैं, दीपावली तथा छठ पर्वको शुभकामना दिँदै आफन्त टाढा भए पनि भावनात्मक रूपमा नजिक रहन र खुसीसाथ चाडपर्व मनाउन आग्रह गरेका छन्। कर्मा लामाः परिवार र साथीभाइसँग दसैँ मनाउँदै ‘कमेडी नाइट्स विथ च्याम्पियन’ का कलाकार कर्मा लामाले यस वर्षको दसैँ उत्साहका साथ मनाउने बताएका छन्। दशैंअघि अन्तिम एपिसोडको छायाङ्कनमा व्यस्त रहेका उनले काम सकिएपछि चाडपर्वको तयारीमा लाग्ने जानकारी दिएका छन्। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि परिवार र साथीभाइसँग मिलेर दसैँमनाउने उनको योजना छ। उनले दर्शक तथा शुभचिन्तकलाई बडादसैँ, तिहार र छठ पर्वको शुभकामना दिँदै ठट्टात्मक शैलीमा खसीको मासु कम खान र युरिक एसिडबाट जोगिन आग्रह गरेका छन्। मेक्सम गौडेलः घरमा टीका छैन, परिवारसँग जमघट गर्ने हास्य कलाकार तथा प्रस्तोता मेक्सम गौडेलले यस वर्ष आफ्नो घरमा टीका नहुने भए पनि परिवारका सदस्यहरू एक ठाउँमा भेला भएर दसैँ मनाउने योजना बनाएका छन्। परिवारसँग बसेर वर्षभरिका दुःख–सुख साटासाट गर्नु नै यसपटकको दसैँको मुख्य योजना रहेको उनले बताएका छन्। देशमा विभिन्न चुनौती र दुःख आइपरेकाले ती परिस्थितिको सामना गर्ने शक्ति नवदुर्गा भवानीले सबैलाई प्रदान गरून् भन्ने कामना पनि उनले गरेका छन्। टेलिभिजन तथा युट्युबमार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएका गौडेलले चाडपर्वले सबैको जीवनमा थप हाँसो, खुसी र सकारात्मकता ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। प्रभात लामाः गाउँ फर्किएर दसैँमनाउँदै ‘कमेडी नाइट्स विथ च्याम्पियन’ का कलाकार तथा प्रस्तोता प्रभात लामाले यस वर्षको दसैँ आफ्नो जन्मघर बर्दिघाट पुगेर मनाउने भएका छन्। व्यस्त कार्यतालिकाका बाबजुद दसैँमा गाउँ पुगेर आमा, दाइ, दिदी र बहिनीसँग समय बिताउने योजना रहेको उनले बताएका छन्। दसैँ केवल चाडपर्व मात्र नभई पारिवारिक मिलन र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउने अवसर भएको उनको भनाइ छ। उनले आफ्नो क्षमता र गच्छेअनुसार खर्च गर्न तथा दसैँपछि आर्थिक बोझ र ऋणको चिन्ता नहुने गरी चाडपर्व मनाउन आग्रह गरेका छन्। गाउँघर पुगेर मोबाइलमै व्यस्त हुनुभन्दा परिवारसँग खुलेर कुराकानी गर्दै अर्थपूर्ण समय बिताउन पनि उनले सुझाव दिएका छन्। सजन श्रेष्ठको सुझावः देखासिकीका लागि ऋण नलिऔँ हास्य कलाकार सजन श्रेष्ठले यस वर्षको दसैँ पनि नियमित र सामान्य शैलीमा मनाउने बताएका छन्। दसैँका बेला घरमै बसेर आफन्त तथा कजनहरूसँग भेटघाट गर्ने, तास खेल्ने, मासुका परिकार खाने र टीका–जमरा लगाउने उनको योजना छ। आफ्नो कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन’ का साथै युट्युब च्यानल र पडकास्टमार्फत दर्शकका लागि नयाँ सामग्री ल्याउने काममा पनि उनी सक्रिय छन्। उनले सम्पूर्ण नेपालीलाई बडादसैँको शुभकामना दिँदै अरूलाई देखाउन वा प्रतिस्पर्धा गर्नका लागि ऋण लिएर तडकभडकका साथ दशैं नमनाउन आग्रह गरेका छन्। आफ्नो हैसियतअनुसार खर्च गरेर परिवारसँग खुसीसाथ चाडपर्व मनाउनुपर्ने उनको सुझाव छ। सुमन कार्कीको जोड, पारिवारिक आत्मीयतामा ‘कमेडी नाइट्स विथ च्याम्पियन’ का कलाकार सुमन कार्कीले यस वर्ष पनि सामान्य र सभ्य तरिकाले दसैँ मनाउने बताएका छन्। हाल दसैँ लक्षित एपिसोडहरूको छायाङ्कनमा व्यस्त रहेका उनले चाडपर्वलाई तडकभडकभन्दा पनि पारिवारिक भेटघाट र मान्यजनको आशीर्वाद ग्रहण गर्ने अवसरका रूपमा लिएका छन्। कामका कारण विभिन्न ठाउँमा रहेका परिवार तथा आफन्तजनलाई एकै ठाउँमा भेट्ने अवसर दसैँले प्रदान गर्ने उनको भनाइ छ। उनले सम्पूर्ण नेपाली दर्शक तथा शुभचिन्तकलाई बडादसैँ, तिहार र छठ पर्वको शुभकामना दिँदै आफ्नो क्षमता र आर्थिक अवस्थाअनुसार सुरक्षित, सभ्य तथा मर्यादित ढङ्गले चाडपर्व मनाउन आग्रह गरेका छन्। विशाल भण्डारीको दशैं ‘च्याम्पियन फ्यामिली’ सँग ‘कमेडी नाइट्स विथ च्याम्पियन’ तथा ‘कमेडी च्याम्पियन’ का निर्देशक एवं निर्माता विशाल भण्डारीले यस वर्षको दसैँ आफ्नो टिम र ‘च्याम्पियन फ्यामिली’ सँग मनाउने योजना बनाएका छन्। हाल दुईवटा ठूला कार्यक्रमको छायाङ्कन तथा निर्देशनमा व्यस्त रहेका भण्डारीले समानान्तर रूपमा कार्यक्रम सञ्चालन भइरहेका र भोटिङसमेत जारी रहेकाले यसपटक दसैँ टिमसँगै बित्ने बताएका छन्। उनका बुबाआमा काठमाडौंमै रहेकाले परिवार र च्याम्पियन टिमसँग मिलेर दशैं मनाउने उनको योजना छ। देशमा हालै आएका विपद्का कारण यस वर्षको दसैँमा केही खल्लोपन महसुस भए पनि चाडपर्वले दुःख बिर्सेर नयाँ सुरुवात गर्ने प्रेरणा दिन सकोस् भन्ने उनले कामना गरेका छन्। साथै, जुवातास खेल्ने तथा मदिरा सेवन गरेर दुर्घटना निम्त्याउने प्रवृत्ति अन्त्य गर्दै सुरक्षित र पारिवारिक वातावरणमा चाडपर्व मनाउन उनले आग्रह गरेका छन्। तडकभडकभन्दा आत्मीयता र परिवारलाई प्राथमिकता यस वर्ष कलाकारहरूका दसैँ योजना फरक–फरक देखिए पनि उनीहरूको सन्देशमा समानता छ—चाडपर्वलाई देखावटी प्रतिस्पर्धा र अनावश्यक खर्चको माध्यम बनाउनु हुँदैन। कोही जन्मघर फर्केर परिवारसँग टीका थाप्ने तयारीमा छन् भने कोही काम र परिस्थितिका कारण सामान्य रूपमा दशैं मनाउँदै छन्। केही कलाकारले देशमा देखिएका विपद् र पीडालाई ध्यानमा राख्दै उत्सवलाई सीमित गर्ने निर्णय गरेका छन्। समग्रमा, दसैँको वास्तविक खुसी महँगो भोजभतेर र तडकभडकमा नभई परिवारसँग बिताएको समय, मान्यजनको आशीर्वाद, आपसी सद्भाव र खुसी साटासाटमा रहेको सन्देश कलाकारहरूले दिएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

गाउँदेखि सहरसम्म रौनक
कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि ...

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर
काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । ...

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ... ...

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि ...


