काठमाडौं । गुलाबी पहिरन र हातमा वाइनको ग्लास । कतै सेतो कोटमा मुस्कान । अहिले एलिस हुआङका यस्ता धेरै तस्बिरहरु इन्टरनेटमा भाइरल छन् । एआई कम्पनीहरुका लागि चिप्स निर्माण गर्दै आएको विश्वचर्चित कम्पनी एनभिडियाका कम्पनीका सीईओ जेन्सेन हुआङसँगको उनको विवाहेत्तर प्रेम सम्बन्ध सार्वजनिक भएसँगै एलिस विवाद र चर्चामा तानिएकी हुन् । जेन्सेनले सम्बन्धमा रहेको स्विकार्दै यसले परिवारमा गहिरो चोट पुर्याएको बताएका छन् र परिवारसँग माफी मागेका छन् । तर, एलिससँगको सम्बन्धले अमेरिकी राष्ट्रिय सुरक्षामा खलल पुर्याएको आरोपबारे आफ्नो विज्ञप्तिमा केही पनि उल्लेख गरेका छैनन् । तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ । वैवाहिक धोकाधडी, रहस्य र जासुसीको गम्भीर आरोपले भरिएको यो कथाले प्रविधि र राजनीतिक दुवै क्षेत्रलाई हल्लाइदिएको छ । तर, ती महिलाको जीवनयात्रा र विश्वको एक शक्तिशाली प्रविधि कम्पनीका प्रमुखसँग उनको सामीप्य कसरी बढ्यो भन्ने विषय अझै पनि अनुत्तरित नै छ । कसरी जोडिए यी दुई ? गत महिना ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक रिपोर्टपछि ‘एलिस हुआङ’ (जसलाई हुआङ लि पनि भनिन्छ) रातारात चर्चामा आएकी हुन् । रिपोर्टमा उनले एनभिडियाका प्रमुखसँग घनिष्ठ सम्बन्ध बनाएको र बेइजिङलाई संवेदनशील सूचनाहरू चुहाएको दाबी गरिएको थियो । एलिस हुआङ चीनले जासुसी गर्न खटाएकी एजेन्ट रहेको निष्कर्ष अमेरिकी गुप्तचर अधिकारीहरुले गरेको दाबी उक्त समाचारमा थियो । तथापि, बेइजिङले भने यी सबै आरोपहरूलाई ‘निराधार’ र ‘चीनविरुद्धको बदनाम गर्ने षड्यन्त्र’ भन्दै खारेज गरिसकेको छ । चीनमा टेलिभिजन रिपोर्टरको रूपमा काम गरिसकेकी एलिस हुआङ सन् २०२३ मा सिंगापुरस्थित ‘मेगास्पिड’ कम्पनीमा निर्देशक बनेकी थिइन् । आफूलाई ‘एनभिडियाको क्लाउड पार्टनर’ बताउने यो कम्पनीमाथि चीनमा ठूलो मात्रामा उन्नत चिप्स तस्करी गरेको आरोप लगाइएको छ । अमेरिकाले चीनमाथि संवेदनशील चिप्सको निर्यात प्रतिबन्ध लगाएकाले उन्नत चिप्सको निर्यात अमेरिकी कानुनअनुसार अवैधानिक मानिन्छ । मेगास्पिड कम्पनीको यात्रा पनि आफैंमा रहस्यपूर्ण छ । कम्पनी दर्ता कागजातहरू अनुसार, यो संस्था सन् २०१५ मा ‘ सेभेन रोड इन्टरनेसनल’ को रूपमा सिंगापुरमा स्थापना भएको थियो । पछि सन् २०२३ को मार्चमा यसको नाम परिवर्तन गरेर ‘मेगास्पिड इन्टरनेसनल’ राखियो । यसपछि सबै सेयर ब्रिटिश भर्जिन टापुमा दर्ता भएको एउटा कम्पनीलाई दिइयो । वासिङ्टनस्थित सुरक्षा सम्बन्धी गैरनाफामुखी संस्था सी फोर एड्सको अनुसन्धानअनुसार, नाम परिवर्तनपछि एलिस हुआङ यस कम्पनीको निर्देशक बनिन् । सबै कार्यकारी अधिकार उनैलाई थियो । तर, त्यसको आठ महिनापछि उनी मेगास्पिडको निर्देशक पदमा नरहेको र उनका सेयरहरू सिंगापुरका व्यवसायी टान योङ पङ (जेम्स टान) लाई हस्तान्तरण गरिएको कागजातहरुमा देखिन्छ । यता, ‘कल्पर रिसर्च’ नामक सर्ट सेलर कम्पनीले तयार गरेको रिपोर्टमा एलिस हुआङको संलग्नता अझै पनि मेगास्पिडमा रहेको उल्लेख छ । मेगास्पिडका एक कर्मचारीले मे महिनाको रिपोर्टमा भनेका छन्, ‘हुआङ अझै पनि हाम्री मालिक हुन् । उनी दैनिक कार्यमा सक्रिय रहन्छिन् ।’ मेगास्पिडभन्दा अगाडि, एलिस हुआङले सन् २०१५ देखि २०१७ सम्म चिनियाँ निजी इक्विटी फर्म ‘सांघाई हेक्सी इन्भेस्टमेन्ट’ मा वरिष्ठ पदहरू सम्हालेकी थिइन् । त्यसअघि उनी एचएसबीसीको हङकङस्थित प्राइभेट बैंकिङ शाखामा कार्यरत थिइन् । उनीसँग चिनियाँ लगानी बैंक ‘सिटिक सेक्युरिटिज’ मा समेत काम गरेको अनुभव छ । अनुत्तरित प्रश्नहरू मेगास्पिड कम्पनीमाथि चीनमा अवैध रूप चिप्स पठाएको आरोप छ । यस आरोप कम्पनीले अस्वीकार गर्दै आएको छ । यस कम्पनीले आफ्नो वेबसाइटमा आफूलाई एनभिडियाको एसियाली बजारको मुख्य साझेदार दाबी गरेको छ । सिंगापुर सरकारले भने एलिस हुआङको सम्बन्धमा हालसम्म कुनै पनि औपचारिक अनुसन्धान नगरिएको जनाएको छ । एलिस हुआङको जीवनसँग जोडिएका हरेक नयाँ जानकारी बाहिरिएसँगै जनमानसमा कौतूहल झन् बढ्दै गएको छ । तर, सामाजिक सञ्जालमा उनका तस्बिरहरू जति नै भाइरल भए पनि प्रविधि जगत्को यो ठूलो प्रकरणको पर्दापछाडिको कथा भने अझै अनुसन्धानकै घेरामा छ । अमेरिकामा विभिन्न निकायहरुले जेन्सन हुआङको अनुसन्धान गरिरहेका छन् । एनभिडियाले पनि आफ्नो प्रमुख कार्यकारीमाथिको यस अभियोगको अनुसन्धान गरिरहेको छ । एपी
एलिस हुआङ, जो एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धले चर्चा छिन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






