काठमाडौं, मंसिर १ । नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा भोलिदेखि काठमाडौंमा सुरु हुने दुईदिने राष्ट्रिय भेलाका एजेण्डा, तयारी तथा भेलामा प्रस्तुत गरिने राजनीतिक र सांगठनिक विषयमा छलफल भइरहेको छ। बैठकमा भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफलभएकाे एमाले सचिव महेश बस्नेतले जनकारी दिनुभयाे । राष्ट्रिय भेलालाई व्यवस्थित बनाउने, पार्टीको आगामी कार्यदिशा तय गर्ने तथा आगामी स्थानीय तह निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने विषय बैठकको प्रमुख एजेण्डा रहेको छ। बैठकमा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारीलगायत स्थायी कमिटीका नेताहरू सहभागी हुनुहुन्छ। एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। पार्टीले सार्वजनिक गरेको विवरणअनुसार भेलामा केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र पालिका तहका पार्टी कमिटीका प्रतिनिधि तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहनेछ। भेलामा एमालेले कुल ३ हजार ४१४ जना प्रतिनिधि सहभागी हुने जनाएको छ। सहभागीमध्ये ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश तथा प्रवासका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि रहनेछन्। त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता रहनेछ। भेलाको उद्घाटन भाेलि बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले गर्नुहुनेछ। भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्ष ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण र भावी कार्यदिशाबारे धारणा राख्नुहुनेछ। उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पनि विभिन्न राजनीतिक तथा सांगठनिक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय भेलापछि एमालेले मंसिर ४ गते पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको छुट्टै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। उक्त भेलामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्। स्थानीय तहको निर्वाचन, जनप्रतिनिधिका कामकारबाही, स्थानीय सरकार सञ्चालन तथा पार्टी र जनप्रतिनिधिबीचको समन्वयलगायत विषयमा छलफल हुने कार्यक्रम छ। त्यसैगरी मंसिर ५ गते पार्टीको केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ। लगातार चार दिनसम्म राष्ट्रिय भेला, स्थानीय तहका जनप्रतिनिधिको भेला र केन्द्रीय कमिटी बैठक आयोजना गर्न लागेको एमालेले यी कार्यक्रममार्फत पार्टीको संगठनात्मक अवस्था समीक्षा गर्दै आगामी राजनीतिक तथा निर्वाचनसम्बन्धी कार्यदिशा तय गर्ने तयारी गरेको छ। यसरी राष्ट्रिय भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय तहसम्मका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर आगामी निर्वाचनको तयारी तथा पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे साझा धारणा निर्माण गर्ने एमालेको तयारी छ।
एमाले स्थायी कमिटी बैठक : राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफल

Read Complete Original Article
Published originally on जनताटाइम्स






