चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँगको सम्बन्धसहित विवाहबाहिरका सम्बन्ध सार्वजनिक भएपछि प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका जेन्सेन हुआङ दुई साताभन्दा कम समयमै सोमबार एनभिडियाको क्यालिफोर्नियास्थित सान्ता क्लाराको मुख्यालयमा पुनः फर्किएका छन्। आफ्नो पहिचान बनेको कालो छालाको ज्याकेट लगाएका ६३ वर्षीय हुआङले मुख्यालयको एट्रियममा भेला भएका र माथिल्ला तलाका बाल्कोनीमा उभिएका कर्मचारीको स्वागतमा मुस्कुराउँदै छातीमा हात राखेर अभिवादन गरे। रोयटर्सका अनुसार हुआङको पुनरागमनमा महत्त्वपूर्ण भूमिका खेलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको प्रशंसा गरे भने प्रविधि क्षेत्रका अर्का चर्चित व्यक्ति एलन मस्कले पनि उनको पुनरागमनको स्वागत गरे। यसैबीच, एनभिडियाको सेयर मूल्य ३१.५ प्रतिशतले बढ्यो, जसले समग्र वालस्ट्रिट बजारमा समेत उछाल ल्यायो। तीन दशकभन्दा अघि आफूले सहस्थापना गरेको चिप निर्माता कम्पनीको नेतृत्वमा हुआङको यति छिटो पुनरागमनले आश्चर्यजनक पुनरागमनको कथा प्रस्तुत गरेको छ। यसले अमेरिकी सरकार, वित्तीय बजार, कृत्रिम बुद्धिमता उद्योग र भूराजनीतिमा उनको प्रभाव कति व्यापक छ भन्ने पनि देखाएको छ। लस एन्जलसस्थित निजी इक्विटी कम्पनी प्याट्रियार्क अर्गनाइजेसनका अध्यक्ष एरिक सिफरले भने, ‘प्रविधि क्षेत्रमा लगानी गर्नेहरूका लागि जेन्सेन एल्भिसभन्दा पनि ठूलो व्यक्ति हुन्।’ कृत्रिम बुद्धिमताको तीव्र विस्तारमा प्रमुख भूमिका खेलेका हुआङको जिम्मेवारी एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा मात्र सीमित छैन। विश्वभरका सांसद, साझेदार, ग्राहक र आपूर्तिकर्तासँग सम्बन्ध विस्तार गर्दै उनले यस उद्योगको विशाल पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। सन् २०२४ मा ओरेकलका अध्यक्ष ल्यारी एलिसनले आफू र मस्कजस्ता अर्बपतिहरूले ‘जेन्सेनसँग जीपीयू माग्न बिन्ती गर्नुपर्ने अवस्था’ रहेको बताएका थिए। एसियामा हुआङलाई रकस्टारजस्तै व्यवहार गरिन्छ। ताइपेई र सियोलका सडकमा प्रशंसकहरूले उनलाई घेरेर पुस्तक, पोस्टर र आफ्नै शरीरमा समेत हस्ताक्षर माग्ने गरेका छन्। तर नाटकीय पुनरागमनपछि पनि हुआङले कृत्रिम बुद्धिमता क्षेत्रमा लगानी गरेका स्टार्टअप कम्पनीहरूलाई उपलब्ध गराएको ठूलो रकमबारे प्रश्नहरू कायमै छन्। ती कम्पनीहरूले त्यही रकमबाट एनभिडियाका चिप खरिद गरेका थिए। राजीनामा दिनुअघि नै हुआङले एनभिडियाकै नगद प्रवाह प्रयोग गरेर कम्पनीको व्यवसाय विस्तारमा सहयोग गर्ने अभ्यास घटाउनुपर्ने दबाब सामना गरिरहेका थिए। वालस्ट्रिटका धेरै विश्लेषकले यसले जोखिमपूर्ण वित्तीय चक्र सिर्जना गरेको चेतावनी दिएका थिए। तर हुआङले उक्त आलोचनाको प्रतिवाद गर्दै एनभिडियाले वास्तविक मागका आधारमा लगानी गरिरहेको बताएका थिए। उनको बहिर्गमनपछि हुआङबिना कृत्रिम बुद्धिमता क्षेत्रको पारिस्थितिक प्रणाली र कोरवीभ तथा नेबियसजस्ता कम्पनीले आफ्नो विकास जारी राख्न सक्ने हुन् वा होइनन् भन्ने प्रश्न उठेको थियो। सोमबार ती कम्पनीका सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि भयो। जीसीजी एडभाइजरी पार्टनर्सका साझेदार बिल गन्डरसनले भने, ‘यो उद्योगको अनुहारका रूपमा एक जना व्यक्ति कति महत्त्वपूर्ण रहेछन् भन्ने देखियो। उनी बाहिरिँदा सबै कुरा अस्तव्यस्त भयो र उनी फर्किएलगत्तै सबै कुरा फेरि सुधार हुन थाल्यो।’ ‘हटाउनै नसकिने गरी ठूलो’ हुआङ एनभिडियाका पाँचौँ ठूला सेयरधनी हुन्। कम्पनीमा उनको करिब ३.६ प्रतिशत स्वामित्व छ। तर मेटा प्लेटफर्म्सका मार्क जुकरबर्ग र स्पेसएक्सका एलन मस्कले आफ्नो कम्पनीमा प्रभावकारी नियन्त्रण कायम गर्न प्रयोग गर्ने विशेष मतदान अधिकार भएका सेयर भने हुआङसँग छैनन्। हुआङ आफ्नो प्रत्यक्ष व्यवस्थापन शैलीका लागि परिचित छन्। उनी एनभिडियाका समस्यामा व्यक्तिगत रूपमा संलग्न हुन्छन् र करिब ६० जना प्रत्यक्ष मातहतका कर्मचारीको कामको निगरानी गर्छन्। तीमध्ये अधिकांश इन्जिनियरिङ क्षेत्रका छन्। उनीहरूमा मेमोरी चिप, नेटवर्किङ, ग्राफिक्स र सेन्ट्रल प्रोसेसरका विज्ञहरू पनि छन्। हुआङले मार्चमा एउटा पोडकास्टमा भनेका थिए, ‘धेरै कम्पनीको संगठनात्मक संरचना उस्तै देखिन्छ। तर मलाई त्यसको कुनै अर्थ लाग्दैन। कम्पनीको संरचना आफू रहेको वातावरणअनुसार हुनुपर्छ।’ स्टार्टअप कम्पनीका संस्थापक, उद्यम पुँजी लगानीकर्ता र एनभिडियाका एक पूर्वकर्मचारीका अनुसार हुआङले एनभिडियाले लगानी गरेका स्टार्टअपको काममा पनि गहिरो चासो राख्ने गरेका छन्। उनले ती कम्पनीलाई ग्राहक खोज्न सहयोग गर्नुका साथै लगानीकर्ता आकर्षित गर्न रकम सङ्कलनसम्बन्धी छलफलमा समेत सहभागी हुने गरेका छन्। सोमबार ट्रम्पले हुआङलाई पुनः नेतृत्वमा फर्काउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको बताएपछि उनको प्रभाव थप स्पष्ट भयो। विवादमा परेका प्रमुख कार्यकारी अधिकृतको पक्षमा उभिँदै ट्रम्पले भने, ‘उनले केही गलत गरेका छैनन्।’ उनले हुआङलाई ‘प्रतिभाशाली व्यक्ति’ समेत भने। हुआङको पुनरागमनले धेरैलाई आश्चर्यमा पारेको थियो। अमेरिकी संसद्का दुवै प्रमुख राजनीतिक दलका सांसदहरूले उनलाई पुनः नेतृत्वमा ल्याउने निर्णयको कडा विरोध गरेका छन्। तर यस घटनाले केही प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई प्रतिस्थापन गर्नै नसकिने व्यक्तिका रूपमा हेरिने गरेको धारणा पनि बलियो बनाएको छ। कृत्रिम बुद्धिमता उद्योगका लागि महत्त्वपूर्ण कम्पनीमा यस्तो अवस्था ठूलो जोखिम हुन सक्छ। बेलायतको हेन्ली बिजनेस स्कुलकी कर्पोरेट सुशासन तथा नैतिकतासम्बन्धी प्राध्यापक नाडा काकाबाड्सेले भनिन्, ‘जब प्रमुख कार्यकारी अधिकृतलाई हटाउनै नसकिने गरी ठूलो मानिन्छ, तब सञ्चालक समितिको काम उनलाई हटाउनु होइन, उनको अधिकार र गतिविधिलाई निश्चित सीमाभित्र राख्नु हो।’ 0 The post एनभिडियामा जेन्सेन हुआङको पुनरागमनले एआई क्षेत्रमा के प्रमाणित गर्यो? appeared first on Technology Khabar.
एनभिडियामा जेन्सेन हुआङको पुनरागमनले एआई क्षेत्रमा के प्रमाणित गर्यो?

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर





