राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा अहिले विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ।

जितका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो।

जसमा सैफ हुसेनले ७१ र विशाल सुस्लिङले ४३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

विराटनगरका आन्द्रे रसेलले ४ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनायो ।

जसमा लोकेश बम,इमरान शेख र आन्द्रे रसेलले अर्धशतक हिर्काए। इमरानले ५६,रसेलले ५२ र बमले ५० रन जोडे। शेख र बमबीच १०७ रनको प्रतियोगिताकै उच्च साझेदारी समेत भयो।

विराटनगरका अभिषेश तिवारीले २ र मोइन अलीले १ विकेट लिए।

चार खेलबाट दुई जित निकालेको विराटनगर शिर्ष स्थानमा उक्लिएको छ।

जनकपुर भने तेस्रो स्थानमा छ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।

दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ। लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ।

अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ।

प्रतियोगितामा ८ टोली सहभागी छन् ।

एनपीएल : रसेल चम्किँदा विराटनगरको दोस्रो जित, उक्लियो पहिलो स्थानमा

Read Complete Original Article
Published originally on पर्दाफास