काठमाडौं, कात्तिक १६ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो । चितवनले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । यस्तै, ईशान पाण्डेले २५, आरिफ शेखले २० तथा शेर्फन रुदरफोर्डले अविजित २१ रनको योगदान दिए । बलिङतर्फ चितवनका रञ्जित कुमारले तीन विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन जोडे । विवेक यादवले १७, डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर रजाले समान १५–१५ रन बनाए । सुदूरपश्चिमका बलर स्कट कुगलेइनले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट हात पारे । यस जितसँगै चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारको नतिजा निकालेको छ । यता, चितवनले तीन खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । लुम्बिनी लायन्ससँगको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
एनपिएल : सुदूरपश्चिम रोयल्सको दोस्रो जित, चितवन राइनोज ५ विकेटले पराजित

Read Complete Original Article
Published originally on जनताटाइम्स






