काठमाडौं । प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन र फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तन प्रदर्शन गर्ने उद्देश्यका साथ ‘एनआरबी फिनटेक इन्नोभेसन सोकेश इभेन्ट २०२६’ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्वारा बालुवाटारस्थित बैंक परिसरमा आयोजित कार्यक्रममा गभर्नर प्राडा विश्वनाथ पौडेलले उक्त कार्यक्रम उद्घाटन गर्दै प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो । नवप्रवर्तनमा आधारित नियामकीय र सुपरीवेक्षकीय प्रणाली विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको उहाँको भनाइ थियो । फिनटेक विस्तारसँगै सोबाट सिर्जित चुनौतीको व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको गभर्नर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कोतर्फ वित्तीय प्रविधि र नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौतीको व्यवस्थापन पनि गर्नुपर्नेछ ।’ गभर्नर पौडेलले फिनटेक नवप्रवर्तन प्रवर्द्धन र विकासका लागित नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील संस्थाहरूबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याउनुभयो । डेपुटी गभर्नर किरण पण्डितले फिनटेक प्रवर्द्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत र संरचनागत प्रयासबारे चर्चा गर्नुभयो भने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सन्दर्भमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्थाबारे जानकारी दिनुभयो । उद्घाटन सत्रमा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिनटेक कम्पनीलगायत सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो । राष्ट्र बैंकका अनुसार कार्यक्रमअन्तर्गत वित्तीय संस्था र फिनटेक कम्पनीका २७ स्टलहरू प्रदर्शनीमा राखिएको थियो । डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी र जोखिम व्यवस्थापन, प्रविधिमा आधारित नियमन (रेग्टेक) सेवामा ती संस्था/कम्पनीबाट भएका नवप्रवर्तन प्रदर्शनीमा समेटिएको थियो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनीलगायतका संस्थाका एक हजारभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए । उक्त कार्यक्रमकै सिलसिलामा ‘डिजिटल लेण्डिङ एण्ड क्रेडिट फर अन्डसभ्ड’ विषयक प्यानल छलफलसमेत सञ्चालन गरिएको थियो । फिनटेक अलायन्स नेपालतर्फबाट मनोज घिमिरेले छलफलको सहजीकरण गर्नुभयो भने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र अलायन्सका अध्यक्ष अमित अग्रवाल प्यानलिस्ट हुनुहुन्थ्यो ।
‘एनआरबी फिनटेक इन्नोभेसन सोकेश इभेन्ट २०२६’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






