Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उद्योगी–व्यवसायीको दसैँ : परिवार, परम्परा र मानवीय संवेदनाको संगम

उद्योगी–व्यवसायीको दसैँ : परिवार, परम्परा र मानवीय संवेदनाको संगम

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्योगी–व्यवसायीको दसैँ : परिवार, परम्परा र मानवीय संवेदनाको संगम

काठमाडौं । दसैं नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । वर्षभरि काम र व्यावसायिक जिम्मेवारीमा व्यस्त रहने उद्योगी–व्यवसायीका लागि पनि दसैँ परिवारसँग समय बिताउने, आफन्तसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने विशेष अवसर हो । दसैँको आगमनसँगै कसैलाई जन्मथलो फर्किने हतारो हुन्छ, कसैलाई परिवारका सबै सदस्य एकै ठाउँमा भेला पार्ने चाहना त कसैलाई केही दिनको फुर्सदमा घुमफिर गर्ने रहर । तर, यस वर्ष बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा पुर्‍याएको क्षति र त्यसले निम्त्याएको मानवीय पीडाका कारण चाडपर्वको उल्लास केही खुम्चिएको छ । यस्तो अवस्थामा उद्योगी–व्यवसायीले कसरी मनाउँदै छन् दसैँ ? उनीहरूका दसैँ योजना र अनुभवमा परिवार, परम्परा र मानवीय संवेदनाका कस्ता रङ देखिन्छन ? विधुषी राणा : परिवारसँग दसैँ, मनमा विपत्तिको पीडाराष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा उद्योगी विधुषी राणाले यस वर्षको दसैँ नेपालमै परिवारसँग मनाउँदै छिन् । परिवारका अग्रजबाट टीका र आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग समय बिताउने र चाडपर्वको वातावरणमा रमाउने उनको योजना छ । तर, बाढीपहिरोबाट प्रभावित परिवारको पीडाले यसपटक दसैँमा विगतको जस्तो उल्लास भने नरहेको उनी बताउँछिन् । “यस वर्षको दसैँ म नेपालमै आफ्नो परिवारसँग मनाउँदै छु । परिवारका ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने र आफन्तसँग समय बिताउने कार्यक्रम छ,” उनी भन्छिन् । नेपालको खुला नीलो आकाश, सुन्दर मौसम र चाडपर्वको वातावरण उनलाई विशेष मन पर्छ । तर, प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र पीडामा रहेकाले यस वर्ष खुसी मनाउन सहज नभएको उनको भनाइ छ । “हालैको बाढीपहिरोमा धेरैले ज्यान गुमाउनुभएको छ, धेरै परिवार शोक र पीडामा हुनुहुन्छ । त्यसैले यसपालि मन खुलेर खुसी हुन सकेको छैन । उहाँहरूको दु:खलाई मनमा राख्दै परिवारसँग सादगीपूर्वक दसैँ मनाउँदै छु,” राणा भन्छिन् । उनले माता दुर्गासँग सबैलाई विपत्तिको पीडा सहने शक्ति प्रदान गर्न र देशमा थप प्राकृतिक विपत्ति नआओस् भन्ने कामना गरेकी छन् । चन्द्रप्रसाद ढकाल : दसैँमा गाउँको आँगन सम्झनानेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालका लागि दसैँ परिवारलाई एकै ठाउँमा जोड्ने र पुख्र्यौली थलोको सम्झना ताजा बनाउने पर्व हो । मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, परिवारका सदस्यसँग भेटघाट गर्ने र बाल्यकालका स्मृतिमा रमाउने अवसरका रूपमा उनी दसैँलाई लिन्छन् । “दसैँ हाम्रो आफ्नै मौलिक संस्कृति र सबैभन्दा ठूलो चाड हो । यसले छरिएर रहेका परिवारलाई एकै ठाउँमा जोड्छ । दसैँमा हामी हाम्रा अग्रज तथा मान्यजनबाट आशीर्वाद लिन्छौँ,” ढकाल भन्छन् । परिवारका सदस्य एकै ठाउँमा भेला भएर टीका र जमरा लगाउने परम्पराले दसैँको आत्मीयता थप बलियो बनाउने उनको अनुभव छ । तर, यस वर्षको दसैँमा विगतको जस्तो उत्साह नरहेको उनी बताउँछन् । भोटेकोशी, गण्डकीलगायत देशका विभिन्न भागमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको घटनाले उनलाई पनि भावुक बनाएको छ । त्यसैले यसपटक दसैँलाई उत्सवभन्दा बढी मानवीय संवेदना र सहकार्यसँग जोडेर मनाउने उनको सोच छ । “यस्तो संवेदनशील घडीमा एकदमै सामान्य र सादगीपूर्ण रूपमा परिवारसँगै दसैँ मनाउने विचारमा छौँ,” ढकाल भन्छन् । ढकालका लागि दसैँमा विदेश घुम्न जानेभन्दा स्वदेश र परिवारसँग जोडिने महत्त्व बढी छ । उनका अनुसार दसैँमा विदेशमा रहेका लाखौँ नेपाली स्वदेश फर्किएर आफ्नो माटो र परिवारसँग जोडिन्छन्। त्यसैले यस वर्ष विदेश घुम्ने योजना छैन । परिवारका सदस्यसँग काठमाडौंमा टीका लगाएपछि सबै अनुकूल रहे आफ्नो पुख्र्यौली थलो बागलुङको अमलाचौर जाने उनको योजना छ । त्यहाँ आफन्त, गाउँले साथीभाइ र कुलकुटुम्बसँग भेटघाट गर्ने तथा बाल्यकालका दौंतरीसँग पुराना सम्झना साट्ने इच्छा छ । “म जहाँ पुगे पनि आफ्नो जरा र धरातल बिर्सन्नँ, गाउँको आँगनमा नपुगेसम्म दसैँ पूर्ण भएजस्तो पनि लाग्दैन,” ढकाल भन्छन् । बाल्यकालमा गाउँघरमा खेलेको लिङ्गे पिङ, नयाँ कपडा पाउँदाको खुसी र मान्यजनबाट पाइने आशीर्वाद उनका लागि दसैँका अविस्मरणीय सम्झना हुन् । यस वर्ष भने बाढीपहिरो प्रभावितप्रतिको ऐक्यबद्धता र सहकार्यलाई दसैँको मुख्य भाव बनाउने उनको भनाइ छ । कमलेश अग्रवाल : शक्तिपीठको दर्शनदेखि पारिवारिक भेटघाटसम्म नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल दसैँलाई धार्मिक आस्था र पारिवारिक भेटघाटको अवसरका रूपमा मनाउँछन् । परम्परागत रूपमा शक्तिपीठमा पुगेर देवीको दर्शन गर्ने उनको चलन छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको दर्शन गर्न पाउँदा विशेष आनन्द आउने उनी बताउँछन् ।“मैले हरेक वर्ष परम्परागत रूपमा दसैँ मनाउँदै आएको छु । परम्परा अनुसार शक्तिपीठहरूमा गएर देवीको दर्शन गर्ने चलन छ । अहिले पनि म शक्तिपीठहरूमा गएर आएको हुँ । वर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानीमा दर्शन गर्न जान्छु । त्यहाँ जाँदा मलाई अर्कै आनन्द आउँछ,” अग्रवाल भन्छन् । दसैँमा परिवारका सदस्य, नातागोता, इष्टमित्र तथा साथीभाइसँग भेटघाट गर्ने र अग्रजबाट टीका ग्रहण गर्ने उनको परम्परा छ । टीका लगाएपछि पैसा लेनदेन नगर्ने चलन आफूहरूले अपनाउँदै आएको उनी बताउँछन् । दसैँको मुख्य पारिवारिक कार्यक्रम सकिएपछि भने उनी केही दिन विदेश घुम्न जाने गर्छन् ।बाल्यकालमा दसैँसँग जोडिएको अर्को सम्झना पनि उनीसँग छ । पहिले दसैँमा कौरा लेख्ने चलन रहेको र आफूले पनि लेख्ने गरेको उनी सम्झन्छन् । अहिले भने त्यो परम्परा हराउँदै गएको उनको अनुभव छ । दुर्गा प्रसाईं :चाडसँगै बिरामीको सेवामा पनिमेडिकल व्यवसायी दुर्गा प्रसाईं फूलपाती अघि नै दसैँ मनाउन आफ्नो गृहजिल्ला झापा पुगिसकेका छन् । दसैँको समयमा परिवारसँग बस्ने, पुराना साथीभाइसँग भेटघाट गर्ने र रमाइलो गर्ने उनको योजना छ । आमाको हातबाट टीका ग्रहण गरेपछि क्रमश: अग्रजबाट टीका लगाउने र आफूले पनि अरूलाई टीका लगाइदिने उनी बताउँछन् ।दुर्गा देवीका भक्तसमेत रहेका प्रसाईं दसैँमा विशेष पूजाआजा गर्छन् । यससँगै आर्थिक अवस्था कमजोर भएका, दु:खी, गरिब तथा असहायलाई सहयोग गर्ने र उपचार गर्न नसक्ने बिरामीलाई आफ्नै अस्पतालमा उपचार गराउने काममा पनि संलग्न हुने गरेको बताउँछन् । उनका लागि दसैँको खुसी पारिवारिक जमघटमा मात्र सीमित छैन । बिरामीको उपचार र उनीहरूको अनुहारमा आशा फर्काउनुलाई पनि उनी सेवाको महत्त्वपूर्ण पक्ष मान्छन् ।“दसैँको बिदा सबैका लागि परिवारसँग खुसी साट्ने समय हो । तर, मेरा लागि बिरामीको सेवा र उनीहरूको मुहारमा आशा जगाउनु पनि उत्तिकै ठूलो खुसी हो,” प्रसाईं भन्छन् ।चाडपर्वका समयमा पनि अस्पतालमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको योगदानलाई उनले सम्मान गरेका छन् । परिवारसँगको भेटघाट र धार्मिक आस्थासँगै बिरामीको सेवामा समय दिनुलाई उनी दसैँको अर्को अर्थका रूपमा प्रस्तुत गर्छन् । ऋतुसिंह वैद्य : मेघौलीको शान्त वातावरणमा दसैँनाइमा अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्ष परिवार र नजिकका साथीहरूसँग चितवनको मेघौलीमा दसैँ मनाउने योजना बनाएकी छन् । उनको परिवारसँग विदेश घुम्न जाने योजना छैन । बरु, मेघौलीमा सञ्चालनमा आएको ‘शाश्वत राप्ती’ होटलमा केही दिन बिताउने तयारी छ । “यो पटक परिवारसँगै बसेर दसैँ मनाउने योजना छ । नेपालबाहिर कतै घुम्न जाने योजना बनाएका छैनौँ । भोटेकोशी बाढीका कारण उत्साहित भएर दसैँ मनाउने रहर छैन,” वैद्य भन्छिन् ।गत असोज १५ देखि सेवा सुरु गरेको होटलमा परिवार र नजिकका साथीहरूसँग समय बिताउने उनको सोच छ । मेघौलीको शान्त वातावरणमा चाड मनाउनुका पछाडि यस वर्षको बाढीपहिरोले पारेको मानवीय क्षतिको पीडा पनि जोडिएको छ । वैद्यका अनुसार बाढीबाट प्रभावित परिवारसँग कार्यालयमा काम गर्ने कर्मचारीका आफन्त समेत परेका छन् । उनीहरू अझै सम्पर्कमा नआएकाले परिवारमा चाडपर्वको उल्लासभन्दा चिन्ता बढी छ । “यस पटक हामीले भोटेकोशी बाढीका कारण कार्यालयमा तीज पर्व मनाएनौँ । हाम्रो कार्यालयमा काम गर्ने कर्मचारी साथीका आफन्त पनि भोटेकोशी बाढीमा पर्नुभयो । अझै सम्पर्कमा आउनुभएको छैन । यसैले दसैँका लागि विशेष योजना नबनाएका हौँ,” उनी भन्छिन् । यसपटकको दसैँमा सामान्य पारिवारिक भेटघाट र शान्त वातावरणमा समय बिताउने बाहेक ठूलो उत्सव गर्ने उनको योजना छैन ।ज्योत्सना श्रेष्ठ : ९२ वर्षीया सासूआमाको हातबाट टीकानेपाल रत्न तथा आभूषण संघकी पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वउपाध्यक्ष ज्योत्सना श्रेष्ठका लागि दसैँ परिवारसँग नजिक हुने र अग्रजबाट आशीर्वाद लिने अवसर हो । मन्दिर दर्शन, पूजाआजा र आफन्तसँगको भेटघाट उनको दसैँको नियमित परम्पराभित्र पर्छ । यस वर्ष उनका लागि दसैँ अझ विशेष छ । ९२ वर्षीया सासूआमाको हातबाट टीका ग्रहण गर्ने र परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर चाड मनाउने उनको चाहना छ ।“विगतका वर्षहरूमा देशभित्र र बाहिर घुम्न जाने गर्थें । तर, यसपालि मेरो सासूआमा ९२ वर्षको हुनु भएको छ । सबै जना एकै ठाउँमा भइदियोस्, मसँगै बसिदियोस् भन्ने चाहनुहुन्छ,” श्रेष्ठ भन्छिन् । उनका परिवारका अन्य सदस्यहरू पनि दसैँ मनाउन नेपाल फर्किंदै छन् । त्यसैले यसपटक बाहिर घुम्न जाने योजना स्थगित गरेर घरमै परिवारसँग दसैँ मनाउने तयारी छ । अग्रजबाट टीका ग्रहण गर्ने मात्र होइन, आफूले पनि परिवारका अन्य सदस्य र आफन्तलाई टीका लगाइदिने तथा आफन्तको घरमा पुगेर आशीर्वाद लिने उनको परम्परा छ । परिवारका ज्येष्ठ सदस्यसँग बिताएको समय र उनीहरूको आशीर्वादलाई उनी दसैँको सबैभन्दा महत्त्वपूर्ण पक्ष मान्छिन् । गणेश कार्की : आमाको हातको टीका र पूर्वी नेपालको घुमफिरस्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका पूर्वअध्यक्ष तथा ऊर्जा उद्यमी गणेश कार्की पनि दसैँ मनाउन गृहजिल्ला झापा पुगिसकेका छन् । परिवार, इष्टमित्र, आफन्त र साथीभाइसँग भेटघाटमा व्यस्त कार्की यसपटक ८० वर्षीया आमाको हातबाट टीका ग्रहण गर्ने तयारीमा छन् । “दसैँ परम्परागत रूपमा मनाउँछु । म दसैँ मनाउन झापा आइसकेको छु । उमेरले ८० वर्ष पुग्नुभएको आमाको हातबाट टीका ग्रहण गर्छु । दसैँको समयमा परिवार, आफन्त, साथीभाइसँग भेटघाट गर्ने र रमाउने गर्छु,” कार्की भन्छन् । पारिवारिक भेटघाटसँगै पूर्वी नेपालका विभिन्न रमणीय ठाउँमा घुमफिर गर्ने योजना पनि उनले बनाएका छन् । व्यावसायिक व्यस्तताबाट केही समय टाढा रहेर परिवारसँग समय बिताउने र आफ्नै क्षेत्रका प्राकृतिक सुन्दरतामा रमाउने अवसरका रूपमा उनले दसैँलाई लिएका छन् ।दसैँको मूल भाव : परिवार, परम्परा र संवेदनाउद्योगी–व्यवसायीका दसैँ मनाउने शैली फरक–फरक भए पनि उनीहरूको प्राथमिकतामा परिवार, मान्यजनको आशीर्वाद र आफन्तसँगको भेटघाट समान रूपमा देखिन्छ । कसैका लागि पुख्र्यौली गाउँ फर्किने अवसर, कसैका लागि ज्येष्ठ सदस्यसँग समय बिताउने मौका, कसैका लागि धार्मिक आस्थाको निरन्तरता त कसैका लागि बिरामीको सेवा र असहायलाई सहयोग गर्ने समय बनेको छ । व्यावसायिक जीवनमा वर्षभरि व्यस्त रहने उनीहरूका लागि दसैँ आफन्तसँगको सम्बन्धलाई नवीकरण गर्ने, पुराना सम्झना ताजा बनाउने र परिवारसँग आत्मीय समय बिताउने अवसर हो । लिङ्गे पिङ, नयाँ कपडा, गाउँघरको आँगन र मान्यजनको आशीर्वादजस्ता सम्झनाले दसैँलाई उनीहरूका लागि अझ अर्थपूर्ण बनाउँछन् ।यस वर्षको दसैँमा भने बाढीपहिरोको पीडाले खुसीको रङ केही फिक्का बनाएको छ । त्यसैले धेरैले तडकभडकभन्दा सादगी रोजेका छन् । परिवारसँग बसेर चाड मनाउने, प्रभावित परिवारको पीडा सम्झिने र सकेको सहयोग गर्ने सोच उनीहरूमा देखिन्छ । दसैँको अर्थ महँगो यात्रा, ठूलो भोज वा भव्य उत्सव मात्र होइन । परिवारका सदस्यसँग बिताएको समय, अग्रजबाट पाएको आशीर्वाद, आफ्नो माटोप्रतिको लगाव र दु:खमा परेकाप्रतिको संवेदनाले पनि यस पर्वलाई विशेष बनाउँछ । यस वर्ष उद्योगी–व्यवसायीका दसैँका योजनाले यही सन्देश दिएका छन । खुसी बाँड्ने पर्वमा अरूको पीडा पनि सम्झनु नै दसैँको वास्तविक आत्मीयता हो । The post उद्योगी–व्यवसायीको दसैँ : परिवार, परम्परा र मानवीय संवेदनाको संगम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
ताजा खबरJust now

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार... ...

रातोपाटी
लागूऔषधसहित नौ जना पक्राउ
ताजा खबरJust now

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई शनिबार साँझ मोटरसाइकलमा सवार रहेका बेला ...

नेपालन्युज
यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी
ताजा खबरJust now

यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी

साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीसँग लडाइँका बिच आफ्नो विमान दुर्घटना भएको र दुई पाइलटको मृत्यु भएको बताएको छ।  बीबीसी न्युज अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण सीमानजिकै एक जासुसी हेलिकप्टर दुर्घटना भएको बताएको हो। हुथीसँग द्वन्द्व बढेपछि साउदीले आफ्नो सैन्य कर्मच... ...

नेपालखबर
बेपत्ता बालबालिकाको खोजीमा एआई
ताजा खबरJust now

बेपत्ता बालबालिकाको खोजीमा एआई

काठमाडाैँ। मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play