उदयपुर।त्रियुगा नगरपालिकामा २७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। नगरपालिकाको वडा नम्बर ३ र ५ का २७ परिवारलाई बिहीबार लालपुर्जा वितरण गरिएको हो। त्रियुगा नगरपालिकाको कार्यालयमा आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले भूमिहीन दलित परिवारलाई पुर्जा हस्तान्तरण गरे। पहिलो चरणमा त्रियुगा नगरपालिका–३ का १३ र वडा नम्बर ५ का १४ भूमिहीन दलित परिवारलाई पुर्जा वितरण गरिएको छ। जिल्ला भूमि आयोग उदयपुरले कानुनी प्रक्रिया पूरा गरेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले जानकारी दिए। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयले लालपुर्जा पाएसँगै जग्गामा कानुनी अधिकार प्राप्त गरेका छन्। सरकारी लक्ष्यअनुसार पुर्जा वितरणलाई तीव्रता दिइएको जिल्ला भूमि आयोग उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए। स्थानीय तहले जग्गाको नापजाँच गरी आवश्यक कागजात तयार पार्छन्। त्यसपछि आयोगले कागजातको अध्ययन तथा कानुनी प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति दिएपछि जग्गाधनी पुर्जा वितरण गरिन्छ। प्रजिअ शाहीका अनुसार शुक्रबार कटारी नगरपालिकामा ११ घरपरिवारलाई र रौतामाई गाउँपालिका–७ मा ६५ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको बताए। चौदण्डीगढी नगरपालिकामा ३२ र बेलका नगरपालिकामा ४५ घरपरिवारको लालपुर्जा वितरणका लागि तयार गरिएको उनले जानकारी दिए। “लालपुर्जा तयार भएका पालिकालाई वितरण प्रक्रिया अघि बढाउन भनेका छौं। अन्य पालिकाबाट आएका कानुनी प्रक्रिया पूरा भएका कागजातको पनि अध्ययन भइरहेको छ,” शाहीले भने। भूमि आयोगका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढिरहेको छ। कानुनी प्रक्रिया पूरा भएका परिवारलाई क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने आयोगले जनाएको छ।
उदयुपरका २७ परिवारलाई जग्गाधनी पुर्जा

Read Complete Original Article
Published originally on नेपालन्युज






