काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसले उखु किसानको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार मानेर उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ । साथै, किसानले पाउन बाँकी रहेको उखुको भुक्तानी अविलम्ब उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

उखु किसानले बजारमा उत्पादन पठाउने समय नजिकिँदै गर्दा मूल्य निर्धारण नहुँदा किसानमा चिन्ता बढेको भन्दै कांग्रेसले तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने पार्टीको धारणा रहेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको अर्को बैठक मंसिर १० गते बिहीबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा आज ४९ जना केन्द्रीय सदस्यले विभिन्न विषयमा आफ्नो धारणा राख्नु भएकाे थियो । धारणा राख्नेहरूमा रामकृष्ण यादव, राजीव कोइराला, गोविन्दराज पोखरेल, सिताकुमारी राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, जितनारायण श्रेष्ठ, प्रकाश पन्थ, मुना भुसाल, अञ्जु झा, बालकृष्ण पाण्डेलगायत रहनु भएकाे छ ।

बैठकमा कृष्णप्रसाद कोइराला, बुद्ध लामा, हिमालदत्त श्रेष्ठ, जितेन्द्रनारायण देव, धर्मेन्द्र पासवान, जगदीशचन्द्र पोखरेल, अनुराग खड्का, गीता गुरुङ, बालकृष्ण दाहाल, अताबुल मन्सुरी, किरणकिशोर घिमिरे, अञ्जनीकुमार झा, लक्ष्मण केसी, कमलकिशोर घिमिरे, कृष्ण रिजाल, वेदनारायण गच्छदार, उमेशचन्द्र यादव, दीपकबाबु कँडेल, भोगेन्द्रप्रसाद चौधरी, बलदेव तिमल्सिना, दीपक सोनी, मुकेशराज काफ्ले, सृजना अधिकारी, अमृत ज्ञवाली, कर्मा छेरिङ शेर्पा, अम्मरबहादुर बराईली, मन्जित ताम्राकार, देवकी गौतम, जमिला खातुन, मेघा शाही, सूर्यकान्त घिमिरे, प्रदीप मिश्र, अभिषेक आत्रेय, आयुस बगाले, गौरव पाण्डे, अंशुल केसी, सुवास पौडेल र रिता शाहीले पनि धारणा राख्नु भएकाे थियाे ।

उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारसँग कांग्रेसको माग, किसानको बक्यौता भुक्तानी गर्न आग्रह

Read Complete Original Article
Published originally on जनताटाइम्स