वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा स्थानमा आक्रमण गर्न बाँकी रहेको बताएका छन् । तीमध्ये ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थल पनि रहेको उनले बताए । ट्रम्पले शनिबार फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए । यद्यपि, उनले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गरे । अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहोर्याउँदै उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्याइसकेको दाबी गरे । फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौँ । अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ ।’ ‘पिकएक्स माउन्टेन’को प्रसङ्ग उल्लेख गर्दै उनले उक्त स्थललाई पनि निशाना बनाउनुपर्ने बताए। सो स्थान भूमिगत आणविक परिसर भएको आशङ्का गरिएको छ । तर, इरान सरकारले त्यहाँ कुनै पनि प्रकारको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताए । अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न चाहेको उनले स्पष्ट पारे। यसअघि ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सरेका थिए । उनले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्नेबारे विचार भइरहेको बताए । एएफपी
इरानमा अझै आक्रमण गर्न बाँकी छ : ट्रम्प

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






