काठमाडौं।पत्रकार पक्राउ, सञ्चार गृहमा प्रहरी प्रवेश र न्यायालयसँग जोडिएका विवादित घटनाको छानबिन गर्न नेपाली कांग्रेसले संसदीय विशेष समिति गठनको माग गरेको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले समाचार संकलन तथा प्रकाशन गरेकै आधारमा पत्रकार पक्राउ गर्नु र सञ्चार गृहभित्र प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता तथा विधिको शासन विपरीत भएको निष्कर्ष निकालेको हो। कांग्रेसले यस्ता घटनाको कानुनी आधार स्पष्ट पार्दै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। साथै, संविधान र कानुनको सीमाभित्र रहेर शासन सञ्चालन गर्न सरकारलाई सचेत गराएको छ। निर्वाचनबाट प्राप्त जनमतले संविधान, नागरिक अधिकार र संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गर्ने अधिकार नदिने कांग्रेसको भनाइ छ। न्यायपालिकाको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणका सिद्धान्तमा सम्झौता गर्न नसकिने पार्टीले जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विवादित घटनाबारे विपक्षी दलहरूसँग छलफल गरेर साझा धारणा बनाउने बताए। उनले घटनाको उच्चस्तरीय छानबिनका लागि संसदीय समिति आवश्यक रहेको उल्लेख गर्दै आचरणविपरीत काम गर्ने न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा सत्तारूढ दलको निर्णयपछि मात्रै धारणा स्पष्ट हुने बताए। कांग्रेसले सुशासन र जनसरोकारका विषयमा सरकारलाई सहयोग गर्ने तर लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि हस्तक्षेप भए विरोध गर्ने स्पष्ट पारेको छ।
पत्रकार पक्राउ र न्यायालय विवादमा कांग्रेसले माग्यो संसदीय छानबिन

Read Complete Original Article
Published originally on नेपालन्युज




.jpg)

