फेसबुक र इन्स्टाग्रामलाई लत लाग्ने गरी डिजाइन गरेको र त्यसका कारण मानसिक स्वास्थ्य समस्या तथा खानपानसम्बन्धी विकार उत्पन्न भएको आरोप लगाउने एक किशोरीसँग मेटा प्लेटफर्म्सले मुद्दा मिलाएको छ। किशोरीका वकिलहरूले शुक्रबार यसबारे जानकारी दिएका हुन्। रोयटर्सका अनुसार मेटा र स्न्यापच्याटको मूल कम्पनी स्न्याप इंकविरुद्ध दुई किशोरीले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबारदेखि निर्णायक मण्डल छनोट प्रक्रिया सुरु भएको थियो। एस.जे. र के.डी.बी. नामले चिनिएका ती किशोरीका आरोपमाथि परीक्षण गर्ने तयारी थियो। सुनुवाइ सुरु हुनुभन्दा केही दिनअघि नै मेटाले एस.जे.सँग मुद्दा मिलाएको थियो। शुक्रबार के.डी.बी.सँग पनि सहमति भएपछि अब मुद्दाको सुनुवाइ स्न्यापविरुद्ध मात्र हुने अपेक्षा गरिएको छ। के.डी.बी.की वकिल एमिली जेफकटले एक विज्ञप्तिमा भनिन्, “हामी सामाजिक सञ्जाल एपमा बालबालिकाको सुरक्षा सुधार गर्न र प्रविधि कम्पनीहरूलाई जवाफदेही बनाउन प्रतिबद्ध छौँ। आफ्ना पक्षको प्रतिनिधित्व गर्दै यो मुद्दालाई न्यायोचित रूपमा टुंग्याउन पाउँदा हामी खुसी छौँ।” मेटाका प्रवक्ताले यस्ता मुद्दाको परीक्षण प्रक्रियामा सहमति, मुद्दा खारेजी र अदालतमा सुनुवाइ सबै पर्ने बताए। प्रवक्ताले भने, “हामी अदालतमा आफ्नो प्रतिरक्षा जारी राख्नेछौँ र अहिलेसम्मको आफ्नो कामप्रति प्रतिबद्ध छौँ।” उनले मेटाले एक दशकभन्दा लामो समयदेखि सुरक्षा उपकरणहरू विकास गर्दै आएको पनि बताए। स्न्यापका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको तत्काल जवाफ दिएनन्। लस एन्जलसको राज्य अदालतमा सामाजिक सञ्जालको लतसम्बन्धी आरोपमा सुनुवाइ हुन लागेको यो दोस्रो मुद्दा हो। मेटा, स्न्याप, टिकटक र अल्फाबेटको यूट्युबले प्रयोगकर्तालाई बाध्यकारी रूपमा एप प्रयोग गर्न प्रोत्साहित गर्ने गरी आफ्ना प्लेटफर्म डिजाइन गरेको र त्यसका कारण आफूहरू सामाजिक सञ्जालको लतमा परेको युवाहरूको आरोप छ। एस.जे. र के.डी.बी.ले यसअघि नै टिकटक र यूट्युबसँग पनि मुद्दा मिलाइसकेका छन्। हजारौँ विचाराधीन मुद्दामध्ये यस मुद्दालाई परीक्षणका रूपमा छनोट गरिएको हो। त्यसैले यसमा निर्णायक मण्डलले दिने निर्णयले यस्तै प्रकृतिका अन्य मुद्दा कम्पनी र वादीहरूले कसरी टुंग्याउँछन् भन्ने कुरालाई प्रभावित गर्न सक्छ। इलिनोइसकी १६ वर्षीया एस.जे. र मिसिसिपीकी १८ वर्षीया के.डी.बी.ले आफूहरूले तीन वर्षको उमेरदेखि नै यूट्युब प्रयोग गर्न थालेको र करिब नौ वर्षको उमेरदेखि अन्य प्लेटफर्म प्रयोग गरेको बताएका छन्। उनीहरूका अनुसार अटो प्ले र अनन्त स्क्रोलजस्ता सुविधाले आफूहरूमा बाध्यकारी रूपमा सामाजिक सञ्जाल प्रयोग गर्ने बानी विकास गराएको हो। कम्पनीहरूले आफ्ना प्लेटफर्म युवाहरूलाई लत लगाउने उद्देश्यले डिजाइन नगरिएको दाबी गर्दै आएका छन्। उनीहरूले युवाहरूले आफ्ना विचार व्यक्त गर्न सक्ने सुरक्षित स्थानका रूपमा एपहरू विकास गर्न कदम चालेको पनि बताएका छन्। सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई आफ्ना प्लेटफर्मको लत लगाउने उद्देश्यले जानाजानी काम गरेको र त्यसले चिन्ता, डिप्रेसन तथा आत्महत्यासम्बन्धी समस्या बढाएर युवाहरूको मानसिक स्वास्थ्य संकट निम्त्याएको आरोपमा व्यक्ति, विद्यालय जिल्ला, स्थानीय सरकार तथा अन्य सरकारी निकायबाट संघीय र राज्य अदालतमा हजारौँ मुद्दा खेपिरहेका छन्। यसअघि मार्चमा टुंगिएको पहिलो मुद्दामा लस एन्जलसको निर्णायक मण्डलले मेटा र यूट्युबलाई लापरबाही गरेको ठहर गर्दै एक युवतीलाई ६० लाख डलर क्षतिपूर्ति दिन आदेश दिएको थियो। सुनुवाइका लागि छनोट गरिएका त्यसपछिका दुई किशोरका मुद्दा पनि कम्पनीहरूसँग सहमति गरेर वा आरोप फिर्ता लिएर टुंग्याइएको थियो। सुनुवाइका लागि छनोट गरिएको पहिलो विद्यालय जिल्लाले पनि सबै कम्पनीसँग मुद्दा मिलाएको थियो। अगस्टमा मेटाले किशोरकिशोरीमा आफ्ना प्लेटफर्मको प्रयोगबाट परेको असरसम्बन्धी महान्यायाधिवक्ताहरूले दायर गरेका मुद्दा टुंग्याउन अमेरिकाका झन्डै सबै राज्य र अमेरिकी क्षेत्रहरूसँग १८ अर्ब डलरसम्मका सहमति गरेको थियो। साथै, किशोरकिशोरीका लागि इन्स्टाग्राम र फेसबुक सञ्चालन हुने तरिकामा परिवर्तन गर्न पनि कम्पनी सहमत भएको थियो। यसै महिनाको सुरुवातमा न्यु मेक्सिकोका एक न्यायाधीशले मेटालाई २५ अर्ब डलर जरिवाना तिर्न आदेश दिएका थिए। निर्णायक मण्डलले कम्पनीले फेसबुक प्रयोगकर्तालाई उनीहरूको तथ्यांकको गोपनीयता र घृणास्पद अभिव्यक्तिलाई सम्बोधन गर्ने आफ्नो तरिकाबारे भ्रममा पारेको ठहर गरेपछि यस्तो आदेश आएको थियो। मेटाले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएको छ। The post मेटा प्लेटफर्म्सले मिलायो लत लाग्ने गरी डिजाइन गरेको भन्दै एक किशोरीले हालेको मुद्दा appeared first on Technology Khabar.
मेटा प्लेटफर्म्सले मिलायो लत लाग्ने गरी डिजाइन गरेको भन्दै एक किशोरीले हालेको मुद्दा

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






