काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन् । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि ट्रम्पले नयाँ आक्रमण केही समयका लागि रोक्ने बताएका हुन् । तर इरानसँगको तनाव कम गर्ने संकेत दिए पनि हर्मुज जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारेका छन् । कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत खाडी मुलुकले थप आक्रमण नगर्न आग्रह गरेपछि आफूले यस्तो निर्णय लिएको ट्रम्पको भनाइ छ । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई इरानका माग र सर्तअनुसार अघि बढ्न आग्रह गरेका छन् । उनले दुई दिनको योजनामा समेटिएका इरानका सर्त अझै कायम रहेको बताएका छन् । इरानका वरिष्ठ सुरक्षा अधिकारी मोहसेन रेजाईले भने युद्ध अन्त्य गर्न अमेरिकाले तेहरानका सात सर्त स्वीकार गरी आत्मसमर्पण गर्नुपर्ने बताएका छन् । उनले इरानसँग वार्ता भइरहेको भन्ने अमेरिकी दाबीलाई ‘काल्पनिक वार्ताबारे फैलाइएको झुटो समाचार’ भन्दै अस्वीकार गरेका छन् । यता, खाडी सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रहरूले कुवेतमा संयुक्त सैन्य कमान्डको अत्याधुनिक मुख्यालय स्थापना गर्ने र त्यहाँ आवश्यक सैन्य बल परिचालन गर्ने निर्णय गरेका छन् । परिषद्का महासचिव जासेम मोहम्मद अलबुदाइवीका अनुसार यो निर्णय खाडी मुलुकहरूको सुरक्षा र सार्वभौमिकता संरक्षण गर्ने उद्देश्यले गरिएको हो । युद्ध अन्त्य हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३.१ प्रतिशतले घटेर प्रतिब्यारेल ८९.६६ डलरमा झरेको छ । यो अगस्टयताकै पहिलो पटक ९० डलरभन्दा तल आएको हो ।
इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको घोषणा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






