गुल्मी। हरियाली जंगल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। रेसुङ्गाको गर्जुरा क्षेत्रमा पार्क निर्माण भएपछि गुल्मीमा पर्यटकको चहलपहल बढेको हो। सदरमुकाम तम्घासदेखि करिब तीन किलोमिटर दूरीमा रहेको पार्कसम्म पुग्ने सडक कालोपत्र भएपछि आवागमन सहज भएको छ। सार्वजनिक बिदाका दिन परिवारसहित घुम्न र वनभोज खान आउने पर्यटकको यहाँ भीड लाग्ने गरेको छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि उपयुक्त गन्तव्य बनेको पार्क युवापुस्ताका लागि तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सामग्री राख्ने आकर्षक स्थलसमेत बनेको छ। गुल्मी घर भई रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका नेपाली पनि बिदामा घर फर्किएका बेला पार्क पुग्ने गरेका छन्। रेसुङ्गा नगरपालिका-१, तम्घास घर भई हाल फिनल्यान्डमा बस्दै आएका मिलन खराल पार्क निर्माणपछि पहिलो पटक घुम्न आएको बताउँछन्। सामाजिक सञ्जालमा पार्कका तस्बिर र भिडियो देखेर आकर्षित भएको उल्लेख गर्दै उनले प्रत्यक्ष अवलोकन गर्दा यहाँको संरचना र प्राकृतिक वातावरण निकै राम्रो लागेको बताए। त्यसैगरी, मुसिकोट नगरपालिका-५ घर भई हाल लन्डनमा रहेका फणीन्द्र भट्टराईले पनि घर बिदामा आएका बेला पार्क घुम्न पाउँदा खुसी लागेको बताए। पार्कका संरचना र हरियाली वातावरणले आफूलाई आकर्षित गरेको उनको भनाइ छ। मुसिकोट नगरपालिका-३ घर भई हाल हङकङमा रहेकी शान्ति केसीले पनि गाउँ फर्किएका बेला पहिलो पटक पार्क घुमेको बताइन्। जन्मथलोमा सुन्दर पर्यटकीय पूर्वाधार निर्माण भएको देख्दा खुसी लागेको उल्लेख गर्दै उनले पार्कमा प्रकृतिसँग रमाउँदै तस्बिर तथा भिडियो खिचेको अनुभव सुनाइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा ६ करोडभन्दा बढी लगानीमा पार्क निर्माण गरिएको हो। निर्माण सम्पन्न भएको छोटो समयमै पार्कले पर्यटक आकर्षित गर्न थालेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार हालसम्म ४० हजारभन्दा बढीले पार्कको अवलोकन गरिसकेका छन्। प्रवेश शुल्कबाट करिब १५ लाख राजस्व संकलन भएको छ। नगरपालिकाले पार्क प्रवेशका लागि टिकट प्रणाली लागू गरेको छ। सर्वसाधारणका लागि ५०, ज्येष्ठ नागरिक, विद्यार्थी तथा बालबालिकाका लागि २५ र विदेशी नागरिकका लागि १०० शुल्क निर्धारण गरिएको छ। पार्कमा भ्यूटावर, पिङ, वनभोजस्थल, फोटो खिच्ने स्थान, बालबालिकाका लागि खेल क्षेत्र, पोखरी र पुललगायत संरचना निर्माण गरिएका छन्। रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पार्क निर्माणले जिल्लाको पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको बताए। रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गरी पर्यटक आकर्षित गर्ने उद्देश्यले पार्क निर्माण गरिएको उनको भनाइ छ। पार्कले पर्यटकीय गतिविधि बढाउनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याएको प्रमुख पन्थीले बताए। नगरपालिकाले रेसुङ्गा क्षेत्रमा थप पर्यटन पूर्वाधार निर्माणलाई पनि निरन्तरता दिएको छ। पर्यटन प्रवर्धनका लागि एक करोडभन्दा बढी लगानीमा रेसुङ्गाको नुनामारेदेखि पार्कसम्म जिपलाइन र स्काई साइकलिङजस्ता साहसिक तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरिएको छ। धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको रेसुङ्गा क्षेत्रमा थपिँदै गएका पूर्वाधारले गुल्मीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
आन्तरिक पर्यटकको रोजाइमा रेसुंगा पार्क

Read Complete Original Article
Published originally on नेपालन्युज






