काठमाडौं।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै हटाइएको निर्णयमाथि सरकारसँग जवाफ मागेका छन्। सामाजिक सञ्जालमार्फत उनले आईजीपीको कार्यकाल अझै १७ महिना बाँकी रहँदा हटाउनु पर्ने कारण सार्वजनिक गर्न चुनौती दिएका हुन्। भोटेकोशी र बूढीगण्डकी बाढीपीडितको पीडा, सुकुम्बासीको समस्या र बढ्दो महँगी समाधान गर्नुपर्ने बेला सरकार प्रहरी प्रमुख हटाउन केन्द्रित भएको भन्दै उनले आलोचना गरेका छन्। आङ्देम्बेले आईजीपी हटाउनुको आधार र प्रमाण सार्वजनिक गर्न माग गर्दै सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न समेत गरेका छन्। उनले प्रहरी अनुसन्धानका क्रममा बरामद गरिएको बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुग्नु गम्भीर विषय भएको बताएका छन्। अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मोबाइल त्यहाँ किन पुर्याइयो र त्यसमा के मेटाउनु पर्ने थियो भन्दै उनले प्रश्न गरेका छन्। सरकारले सुशासन र भ्रष्टाचार अन्त्यको जनमत पाएको स्मरण गराउँदै उनले प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्ने र सत्ता शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। आङ्देम्बेले आईजीपी हटाउने निर्णयलाई सुशासन नभई शक्ति प्रदर्शनको संज्ञा दिएका छन्।
आङ्देम्बेको प्रश्न : बिचौलियाको मोबाइल सल्लाहकारको घरमा किन ?

Read Complete Original Article
Published originally on नेपालन्युज


_CtEpYGPjdK.webp)



