काठमाडौं, कात्तिक १८। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने सरकारको निर्णयबारे टिप्पणी गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा. केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले नयाँ आईजीपीलाई सरकारले आफूले अह्राएको काम पूरा गर्ने अपेक्षासहित नियुक्त गरेको हुन सक्ने टिप्पणी गर्नुभयो । ‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला,’ ओलीले भन्नुभयो । यसैबीच, अध्यक्ष ओलीले मंगलबार नेपाली कांग्रेसका सभापति गगन थापासँग भएको भेटवार्तालाई पनि सकारात्मक रूपमा लिनुभएको छ । कांग्रेस सभापति थापासँगको भेटबारे सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उहाँले राजनीतिक विषयमा राम्रो कुराकानी भएको जानकारी दिनुभयो । ‘राम्रो कुरा भयो, राजनीतिक कुराहरू भए,’ ओलीले भन्नुभयो ।
आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया : सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला

Read Complete Original Article
Published originally on जनताटाइम्स






