सिड्नी। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग सांस्कृतिक उत्सव मनाएका छन्। प्रधानमन्त्री एन्थोनी अल्बानिजको सहभागितालाई अस्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थिति र योगदानको पहिचानका रूपमा हेरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले प्रधानमन्त्रीको सहभागितालाई अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि महत्त्वपूर्ण क्षणका रूपमा टिप्पणी गरेका छन्। सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा आयोजित महोत्सवमा प्रधानमन्त्री अल्बानिज नेपाली ढाका टोपी लगाएर सहभागी भएका थिए। महोत्सवमा स्वागत मन्तव्यमा कुँवरले भने, “हामी आफ्नै भविष्य मात्र निर्माण गरिरहेका छैनौँ, अस्ट्रेलियाको भविष्य निर्माणमा पनि योगदान दिइरहेका छौँ।”स्वास्थ्य सेवा, वृद्धवृद्धाको हेरचाह, शिक्षा, आतिथ्य सेवा, निर्माण, प्रविधि र साना व्यवसायलगायतका क्षेत्रमा नेपाली अस्ट्रेलियालीले योगदान पुर्याइरहेको उनले बताए। कुँवरले नेपाली संस्कृति प्रवर्द्धन र नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढ गर्न महोत्सवले लामो समयदेखि भूमिका खेल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको सहभागिताले यसको महत्त्व थप बढाएको बताए। नेपाली समुदायलाई थप सहयोग गर्न आग्रह महोत्सवमा सम्बोधनका क्रममा कुँवरले अस्ट्रेलियाली सरकारलाई नेपाली समुदायका लागि सहयोग विस्तार गर्न आग्रह गरेका छन्। उनले विशेषगरी युवा विकास, सामुदायिक पूर्वाधार, सांस्कृतिक कार्यक्रम र नयाँ पुस्ताका नेपाली अस्ट्रेलियालीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। सरकारी निकाय र सामुदायिक संस्थाबीच सहकार्य विस्तार गर्न सके नेपाली समुदायले अस्ट्रेलियाको सामाजिक तथा आर्थिक विकासमा अझ बढी योगदान दिन सक्ने उनको भनाइ छ। हिमाली जलवायु परिवर्तनमा सहकार्यको प्रस्ताव कुँवरले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिम न्यूनीकरण गर्न नेपाल र अस्ट्रेलियाबीच वैज्ञानिक अनुसन्धान तथा प्रविधिगत सहकार्य विस्तार गर्न पनि आग्रह गरे। नेपालमा बाढीपहिरोले निम्त्याएको जनधनको क्षति उल्लेख गर्दै उनले विपद्का कारण प्रभावित परिवार र ज्यान गुमाएका वा बेपत्ता भएका व्यक्तिका आफन्तप्रति संवेदना व्यक्त गरेका छन्। ती घटनाबाट अस्ट्रेलियाली परिवारसमेत प्रभावित भएको बताए। नेपाललाई मानवीय सहायता तथा निरन्तर सहयोग उपलब्ध गराएकोमा अस्ट्रेलियाली सरकारलाई धन्यवाद दिँदै कुँवरले हिमाली क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान, बाढीको निगरानी, पूर्वसूचना प्रणाली र विपद् तयारीमा थप सहयोग गर्न आग्रह गरे। “समयमै जोखिम पहिचान गर्न सके जीवन जोगाउन सकिन्छ। आजको वैज्ञानिक सहकार्यले भोलिका विपद् रोक्न सक्छ,” उनले भने। उनले जोखिमयुक्त हिमाली क्षेत्रमा बाढीको पूर्वानुमान र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन प्रविधि हस्तान्तरण, वैज्ञानिक अनुसन्धान लगायत क्षेत्रमा नेपाल र अस्ट्रेलियाबीच सहकार्य हुने अपेक्षा गरे। प्रवासी नेपालीलाई आफ्नै देशमा पनि पहिचानको अपेक्षा अस्ट्रेलियामा नेपाली समुदायको योगदानको पहिचान भएको प्रसंग उल्लेख गर्दै कुँवरले नेपाल सरकारले विदेशमा बसोबास गर्ने नेपालीलाई पनि राष्ट्रिय विकासको साझेदारका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्। “अस्ट्रेलियाले नेपालीलाई आफ्नो देशका लागि महत्त्वपूर्ण योगदानकर्ता भनेर सम्मान गर्न सक्छ भने नेपालले विदेशमा बस्ने आफ्नै नागरिकलाई किन पराया ठान्ने?” उनले प्रश्न गरेका छन्। विदेशमा बस्दैमा नेपालीको राष्ट्रिय पहिचान, संस्कृति र मातृभूमिसँगको सम्बन्ध कमजोर नहुने उनको भनाइ छ। प्रवासी नेपालीसँग रहेको ज्ञान, सीप, अन्तर्राष्ट्रिय अनुभव, सञ्जाल, प्रविधि र लगानी क्षमताले नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने उनले बताए। कुँवरले विदेशमा बस्ने नेपालीको पहिचान, अधिकार र देशसँगको सम्बन्धलाई संस्थागत रूपमा सम्मान गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्। “विदेशमा बस्दैमा हामी कम नेपाली हुँदैनौँ,” उनले भने।
अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको नेपाल फेस्टिभल भ्रमणले प्रवासी नेपाली समुदायमा उत्साह

Read Complete Original Article
Published originally on नेपालन्युज






