असोजमा भारततर्फ पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु. पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए । उनका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुईतिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आईएक्समार्फत बिक्री गरिएको थियो । यसैबीच भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट रु. पाँच अर्ब ९२ करोड ५० लाख बराबरको कारोबार भएको हो । असोज महिनामा भारततर्फ विद्युत् निर्यात दुई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा तथा विहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत एवम् बङ्गलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा तथा विहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ । गत वर्ष २०८२ को असोज महिनामा भारततर्फ विद्युत् निर्यातबाट रु. चार अर्ब ९६ करोड ३० लाख बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम रु. पाँच अर्ब नौ करोड २५ लाख रहेको थियो । यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम रु. ९६ करोड २० लाखले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल रु. १६ अर्ब १५ करोड १३ लाख बराबरको कारोबार भएको छ । बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताबमोजिम स्वीकृति प्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यात आंशिक रूपमा प्रभावित भएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताए । नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँच वर्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुँदै आएको छ । यसैबीच भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

एनपीएल सिजन–३ यी चार कारणले बन्नेछ पहिलेभन्दा विशेष
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सोमबारदेखि सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)’ को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा... ...

टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म
नेसभिलबाट सुरु भएको स्विफ्टको दुई दशक लामो सांगीतिक यात्राका दौरान आएका १२ वटा स्टुडियो एल्बम र कीर्तिमानी ‘द इराज टुर’ सम्म समेटेर ‘द टेनेसियन’ ले यतिबेला एउटा विशेष डकुमेन्ट्री नै ल्याएको छ, ‘टेलर स्विफ्ट फाइन्डिंग हर प्लेस इन दिस वर्ल्ड : सेलिब्रेटिंग ट्वान्टी इयर्स अफ हर डेब्यू एल्बम ।’ ...

राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाअर्चना तथा प्रसाद ग्रहण
हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले नवदुर्गा देवीको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका हुन् । ...

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ […] ...


