असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि सुरु

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि पुनः सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ । उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । असोज महिनामा भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत बिक्री सम्झौता (Bilateral Agreement) अनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत बिक्री गरिएको थियो भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (Energy Exchange Market-आईएक्स) को डे—अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत प्रत्येक वर्ष भारत एवम् बंगलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ । गत वर्ष २०८२ को असोज महिनामा भारततर्फ विद्युत निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो । यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए । उनका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो । बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सुरु नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौता बमोजिम स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यात आंशिक रूपमा प्रभावित भएको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताए । कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको उनले बताए । नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड ९बीपीडीबी० बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात हुँदै आएको छ । विद्युत निर्यात क्षमता करिब १,१७९ मेगावाट यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब १,१७९ मेगावाट पुगेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिटिजन्स बैंकका ग्राहकले ‘लुप नेटवर्क’ बाट अब किस्ताबन्दीमा सामान किन्न पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन् । सम्झौताअनुसार सिटिजन्स बैंकका योग्य कार्डधारकले […] ...

बाढीपछिको नेपाल : जनस्वास्थ्य सुरक्षा र दिगो पुनर्स्थापनाका लागि भौगोलिक दृष्टिकोण
विपद्को वास्तविक प्रभाव राहत वितरणपछि पनि लामो समयसम्म रहन्छ। स्वास्थ्य सेवामा अवरोध, खानेपानीको सङ्कट र विस्थापनले निम्त्याउने जनस्वास्थ्य समस्यालाई समाधान गर्न अब विपद् आएपछि मात्र प्रतिक्रिया दिने प्रणालीमा सीमित हुनुहुँदैन; बरु भौगोलिक तथा स्थानिक दृष्टिकोण अपनाएर जोखिम पहिचान र दिगो पुनर्स्थापनाको बाटो रोज्नुपर्छ। ...




