काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वप्रति बढ्दो असन्तुष्टि र आर्थिक नीतिविरुद्धको जनमतको रुपमा हेरिएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गर्ने सीएनएन डिसिजन डेस्कले जनाएको छ। सीएनएनको अनुसार डेमोक्र्याटले अमेरिकी संसद्का दुवै सदन प्रतिनिधिसभा र सिनेटमा बहुमत हासिल गर्दै नियन्त्रण आफ्नो हातमा लिने जनाएको छ। यो जितसँगै ट्रम्पको बाँकी दुईवर्षे राष्ट्रपतीय कार्यकालमा उनको प्रशासनका निर्णय र कार्यशैलीमाथि संसदीय निगरानी तथा नियन्त्रण बढ्ने भएको छ। यसअघि संसद्का दुवै सदनमा बहुमत रहेको रिपब्लिकन पार्टीले ट्रम्प प्रशासनलाई पर्याप्त चुनौती नदिएको भन्दै आलोचना हुँदै आएको थियो। डेमोक्र्याटले परम्परागत रूपमा रिपब्लिकनको बलियो प्रभाव रहेका राज्यमा समेत अप्रत्याशित जित निकाल्दै निर्वाचनमा आफ्नो पकड विस्तार गरेका छन्। सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले १८ प्रतिशत अङ्कको अन्तरले जितेको साउथ क्यारोलाइनामा समेत डेमोक्र्याटले सिनेटको एक सिट जितेका छन्। टेक्सासमा सन् १९९४ यता कुनै पनि राज्यव्यापी निर्वाचनमा डेमोक्र्याटले जित हासिल गर्न सकेका थिएनन्। त्यहाँ पनि उनीहरूले सिनेटको सिट जितेका छन्। त्यस्तै, सन् १९३२ यता डेमोक्र्याटिक सिनेटर निर्वाचित नगरेको क्यान्ससमा समेत उनीहरूले सफलता पाएका छन्। ओहायो र आयोवामा पनि डेमोक्र्याटले सिनेटका सिट जितेका छन्। कंग्रेसको नियन्त्रण परिवर्तन हुनु पछिल्लो २२ महिनाको अमेरिकी राजनीतिक घटनाक्रमको नाटकीय उलटफेरका रूपमा देखिएको छ। राष्ट्रपतिको पदभार सम्हालेपछि ट्रम्पले कार्यकारी अधिकार विस्तार गर्दै प्रशासनिक निर्णयमा आफ्नो प्रभाव तीव्र बनाएका थिए। त्यसक्रममा रिपब्लिकनको नियन्त्रणमा रहेको कंग्रेस र विभिन्न संस्थाले उनको कदमलाई पर्याप्त चुनौती दिन नसकेको आरोप लाग्दै आएको थियो। तर मध्यावधि निर्वाचनको परिणामले रिपब्लिकनलाई ठूलो धक्का दिएको छ। पछिल्लो ५० वर्षमा एउटै निर्वाचन चक्रमा कंग्रेसका दुवै सदनको नियन्त्रण परिवर्तन भएको दुई पटक मात्रै थियो। यसपटकको परिणामले अमेरिकी राजनीतिक इतिहासमा अर्को महत्त्वपूर्ण मोड थपेको छ। निर्वाचनमा रिपब्लिकनको पराजयका प्रमुख कारणमा बढ्दो महँगी, ट्रम्प प्रशासनले लागू गरेका भन्सार शुल्क, इरानसँगको युद्ध तथा राष्ट्रपतिको कार्यशैली र व्यक्तिगत आर्थिक स्वार्थसँग जोडिएका विषयप्रति मतदाताको असन्तुष्टि देखिएका छन्। सीएनएनको मतदाता सर्वेक्षणअनुसार ६० प्रतिशतभन्दा बढी मतदाताले ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। त्यसमध्ये आधाभन्दा बढीले कडा असन्तुष्टि व्यक्त गरेका छन्। त्यस्तै, करिब दुईतिहाइ मतदाताले ट्रम्पका आर्थिक नीतिले अमेरिकी अर्थतन्त्रलाई थप कमजोर बनाएको धारणा राखेका छन्। प्रतिनिधिसभामा डेमोक्र्याटको बहुमत आउने अनुमान निर्वाचनअघि नै गरिएको थियो। बहुमत हासिल गर्न उनीहरूलाई थप तीन सिट मात्रै आवश्यक थियो। अमेरिकी मध्यावधि निर्वाचनमा सत्तारूढ राष्ट्रपतिको दलले प्रायः प्रतिनिधिसभामा सिट गुमाउने परम्परा पनि यसपटक दोहोरिएको छ। साउथ क्यारोलाइना, टेक्सास, ओहायो, क्यान्सस र आयोवामा प्राप्त सफलताले डेमोक्र्याटको जितलाई ऐतिहासिक बनाउँने सीएनएनको सर्वेक्षणले देखाएको छ। मतगणना अन्तिम चरणमा रहेकाले दुवै सदनमा डेमोक्र्याटको बहुमत कति फराकिलो हुनेछ भन्ने स्पष्ट भइसकेको छैन। प्रारम्भिक परिणामले भने उनीहरूलाई केही सहज बहुमत प्राप्त हुने संकेत गरेको सीएनएनले जनाएको छ। दुवै सदनमा बहुमत हासिल गरे पनि डेमोक्र्याटले आफ्नो इच्छाअनुसारका सबै नीति तथा कार्यक्रम कार्यान्वयन गर्न भने सहज हुने छैन। राष्ट्रपतिसँग संसद्बाट पारित विधेयक अस्वीकार गर्ने भिटो अधिकार छ। त्यस्तै, सिनेटमा अधिकांश विधेयक पारित गर्न ६० मत आवश्यक पर्ने व्यवस्थाले पनि डेमोक्र्याटको योजनामा अवरोध सिर्जना गर्न सक्छ। संसद्का दुवै सदनको नियन्त्रणले डेमोक्र्याटलाई ट्रम्प प्रशासनमाथि निगरानी र अनुसन्धान गर्ने उल्लेखनीय अधिकार प्रदान गर्नेछ। उनीहरूले प्रशासनका निर्णय, सरकारी गतिविधि तथा राष्ट्रपतिसँग सम्बन्धित विषयमा संसदीय अनुसन्धान अघि बढाउन र आवश्यक व्यक्तिलाई बयानका लागि उपस्थित गराउन सक्नेछन्। सिनेटको नियन्त्रण प्राप्त भएपछि ट्रम्पले प्रस्ताव गर्ने न्यायाधीशहरूको नियुक्ति रोक्ने शक्ति पनि डेमोक्र्याटसँग हुनेछ। सर्वोच्च अदालतमा कुनै न्यायाधीशको पद रिक्त भएमा नयाँ नियुक्ति प्रक्रियासमेत उनीहरूले अवरुद्ध गर्न सक्नेछन्। मध्यावधि निर्वाचनको परिणामले ट्रम्पको राष्ट्रपतीय कार्यकालको अन्तिम दुई वर्षलाई राजनीतिक रूपमा थप चुनौतीपूर्ण बनाउने देखिएको छ। संसद्का दुवै सदनमा विपक्षी दलको नियन्त्रण कायम भएसँगै अब अमेरिकी राजनीतिमा कार्यकारी शक्ति र संसदीय निगरानीबीचको टकराव थप चर्किने सम्भावना छ।
अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको जित हुने सर्वेक्षण

Read Complete Original Article
Published originally on नेपालन्युज






