फौजदारी अपराधको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहावट भइरहेको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस्ता गतिविधिले अनुसन्धानको दायरामा रहेका शंकित व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पार्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता र संवेदनशीलतामा समेत प्रभाव पार्ने प्रहरीको भनाइ छ । यसबाट नेपाल प्रहरीको सांगठनिक गरिमामा समेत आँच पुगेको प्रधान कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखित प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्यलाई प्रचलित कानुन र प्रहरी आचरणविपरीतको गम्भीर कसुर मानेको छ । प्रहरी नियमावली, २०७१ को नियम ७९, १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ का उपदफा (३), (४) र (५) मा गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहन गर्नेलाई कारबाही गर्ने व्यवस्था रहेको प्रधान कार्यालयले स्मरण गराएको छ । बहालवाला तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन र सार्वजनिक नगर्न निर्देशन दिइएको छ । त्यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन तथा अरूलाई पनि संलग्न नगराउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले गोप्य सूचना चुहावट गर्ने, त्यसलाई प्रोत्साहन गर्ने, सहयोग गर्ने वा सहजीकरण गरेको पाइएमा छानबिन गरी संलग्न व्यक्तिमाथि विभागीय तथा कानुनी कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ ।
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीलाई प्रधान कार्यालयको चेतावनी, संलग्नलाई कारबाही गरिने

Read Complete Original Article
Published originally on पर्दाफास





