काठमाडौँ । नेपाल प्रहरीले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, प्रमाण तथा अभिलेख अनधिकृत रूपमा सार्वजनिक गर्ने बहालवाला र पूर्वप्रहरी कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा संकलन गरिएका सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना कसैलाई उपलब्ध नगराउन प्रहरी कर्मचारीलाई निर्देशन दिएको हो। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानसँग सम्बन्धित गोप्य विवरण सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रधान कार्यालयले यस्तो कार्यले व्यक्तिको गोपनीयता, अनुसन्धानको निष्पक्षता र संवेदनशीलतामा प्रतिकूल असर पार्ने जनाएको छ। यसबाट प्रहरी संगठनको प्रतिष्ठामा समेत आँच पुग्ने विज्ञप्तिमा उल्लेख छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा अनुसन्धानका गोप्य सामग्री अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउनु प्रचलित कानुन र प्रहरी आचरणविपरीतको गम्भीर कार्य भएको स्पष्ट पारिएको छ। प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ७१ मा व्यवस्था गरिएको आचरणसम्बन्धी प्रावधान उल्लंघन गर्ने कर्मचारीलाई नियम १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ को उपदफा (३), (४) र (५) बमोजिम विभागीय तथा कानुनी कारबाही हुन सक्ने जनाएको छ। प्रहरी प्रधान कार्यालयले सेवामा बहाल रहेका तथा सेवाबाट अवकाश लिइसकेका कर्मचारीलाई अनुसन्धानका गोप्य सूचना चुहावट गर्ने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन सचेत गराएको छ। साथै पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन र संगठनप्रतिको जिम्मेवारी पालना गर्न आग्रह गरेको छ। गोप्य सूचना चुहावट गर्ने कार्यमा बहालवाला वा पूर्वप्रहरी कर्मचारीको संलग्नता रहेको वा त्यस्तो गतिविधिमा प्रोत्साहन, सहयोग तथा सहजीकरण गरेको पुष्टि भए आवश्यक छानबिन गरी प्रचलित कानुन र संगठनको नीतिअनुसार कारबाही गरिने प्रधान कार्यालयले जनाएको छ।
अनुसन्धानका गोप्य सूचना चुहाउने बहालवाला र पूर्वप्रहरीमाथि कारबाही हुने

Read Complete Original Article
Published originally on नेपालन्युज






