अछाम।अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बूढा रहेका छन् । सोही ठाउँका ३१ वर्षीय गणेश बुढा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरीका अनुसार स्थानीय सालटोक्टा बजारबाट घर फर्किने क्रममा बिहीबार राति बासल्ला नजिकैको भिरबाट दुवै जना खसेका थिए। उनीहरू करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिए। घटनाको खबर पाएलगत्तै प्रहरीचौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरिदत्त भट्टको कमान्डमा तीन जनाको टोली उद्धारका लागि खटिएको थियो। उद्धारपछि दुवै जनालाई स्थानीय ढकारी स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाइएका बिर्खेको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बम्मले बताए। भीरबाट लड्दा बिर्खेको अनुहार, छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाइते गणेशको अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। मृतक बिर्खेको शव जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ।
अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






