सामाजिक सञ्जाल प्लेटफर्म स्न्यापच्याटको सशुल्क सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३ करोड नाघेको छ। कम्पनीले बुधबार सार्वजनिक गरेको सन् २०२६ को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनमार्फत यस्तो जानकारी दिएको हो। कम्पनीका अनुसार यस वर्षको फेब्रुअरीमा सशुल्क ग्राहक संख्या २ करोड ५० लाख पुगेको थियो। त्यसयता थप ५० लाख ग्राहक जोडिएका छन्। सन् २०२२ मा सुरु भएको स्न्यापच्याट प्लस सेवामार्फत ग्राहकले विशेष तथा सार्वजनिक हुनुअघि नै उपलब्ध गराइने सुविधाहरू प्रयोग गर्न पाउँछन्। यसका लागि प्रतिमहिना ३.९९ अमेरिकी डलर शुल्क लाग्छ। टेकक्रञ्चका अनुसार आम्दानीका स्रोत विस्तार गर्ने उद्देश्यले कम्पनीले मूल सदस्यता सेवाबाहेक थप सशुल्क योजना पनि ल्याएको छ। यसअन्तर्गत लेन्स प्लस सेवा प्रतिमहिना ८.९९ डलरमा उपलब्ध छ। यसबाट प्रयोगकर्ताले विशेष लेन्स तथा अगुमेन्टेड रियालिटी (एआर) सुविधाहरू प्रयोग गर्न सक्छन्। त्यस्तै स्न्यापच्याट प्लस प्लेटिनम नामक योजनाको शुल्क प्रतिमहिना १५.९९ डलर छ। यस योजनामा विज्ञापनरहित स्न्यापच्याट प्रयोग गर्न सकिन्छ। कम्पनीले आफ्नो मेमोरिज सुविधामा निःशुल्क भण्डारणको सीमा तोकेको एक वर्षपछि सशुल्क ग्राहकको संख्या ३ करोड पुगेको हो। गत वर्ष स्न्यापले प्रयोगकर्तालाई मेमोरिजमा थप सामग्री भण्डारण गर्न प्रतिमहिना १.९९ डलर तिर्नुपर्ने वा स्न्यापच्याट प्लस सदस्यता लिनुपर्ने व्यवस्था सार्वजनिक गरेको थियो। स्न्यापका प्रमुख कार्यकारी अधिकृत इभान स्पिगलले लगानीकर्तालाई पठाएको पत्रमा स्न्यापच्याट प्लस, मेमोरिज स्टोरेज र लेन्स प्लसका गरी ३ करोडभन्दा बढी सशुल्क ग्राहक पुगेको बताएका छन्। उनका अनुसार एआईमा आधारित नयाँ सुविधाका कारण लेन्स प्लस सेवाले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। उनले सशुल्क ग्राहक अझै पनि स्न्यापच्याटका कुल मासिक प्रयोगकर्ताको तुलनामा सानो हिस्सा रहेकाले नयाँ प्रिमियम सुविधा र सेवाको विस्तारबाट ग्राहक संख्या बढाउने सम्भावना रहेको बताएका छन्। यद्यपि, कम्पनीको समग्र वित्तीय प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेन। विज्ञापन आम्दानी र प्रयोगकर्ता वृद्धिको लक्ष्य पूरा गर्न नसकेपछि स्न्यापको सेयर मूल्य १२ प्रतिशतले घटेको छ। स्न्यापका अनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या ४९ करोड ५० लाख पुगेको छ। अघिल्लो त्रैमासिकमा यस्तो संख्या ४९ करोड ३० लाख थियो। तर, विश्लेषकहरूले गरेको ४९ करोड ९० लाख प्रयोगकर्ताको अनुमानभन्दा यो कम हो। कम्पनीले दैनिक प्रयोगकर्ताको संख्या बढाउनेभन्दा पनि दीर्घकालीन रूपमा प्रयोगकर्तालाई उपयोगी हुने सेवा र सुरक्षामा ध्यान दिने जनाएको छ। स्पिगलका अनुसार विज्ञापनबाट हुने आम्दानीको वृद्धि कम्पनीको लक्ष्यभन्दा कम रहे पनि विज्ञापनदाताको प्रदर्शन सुधार गर्ने र व्यवसायहरूलाई आफ्ना प्रयोगकर्तासम्म पुग्ने थप माध्यम उपलब्ध गराउने योजनालाई प्राथमिकता दिइनेछ। The post स्न्यापच्याटका सशुल्क ग्राहक ३ करोड नाघे appeared first on Technology Khabar.
स्न्यापच्याटका सशुल्क ग्राहक ३ करोड नाघे

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






